वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैनः निर्वाचन आयोगका आयुक्त जबरा
चितवन/निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मुलुकमा विकसित भइरहेको वर्तमान अवस्थामा राजनीतिक निकासका लागि आसन्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । निर्वाचन आयोगले आज यहाँ सुरु गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा उहाँले प्रतिनिधिसभाका सबै निर्वाचन उत्तिकै महत्वपूर्ण रहेका भन्दै यो निर्वाचनको विकल्प नरहेको धारणा राख्नुभयो ।
आयुक्त जबराले भन्नुभयो, “यस अवस्थामा देशलाई कहिलेसम्म राख्ने तत्कालको विकल्प निर्वाचन हो ।” लोकतन्त्रको खम्बा निर्वाचन भएकाले सबै राजनीतिक दल सहभागी हुँदै भयरहित वातावरणमा मतदान गर्नेगरी सहकार्य र समन्वयमा तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।आयुक्त जबराले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वासनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सरोकार भएका सबैको सहयोगको आवश्यकता औँल्याउनुभयो ।
विगतको निर्वाचनभन्दा सहज बनाउन आफूहरूले कोसिस गरिरहेको भन्दै उहाँले सीमित स्रोतसाधनमा निर्वाचन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार आयोगले हालसम्म सात प्रकारका सामग्री सरकारी निकायमार्फत खरिद गरेको छ ।
अहिलेको परिस्थितिमा दाताको सहयोग प्राप्त नभएको जनाउँदै सरकारको लगानीमा रु छ करोड ५० लाखको सामान मात्र खरिद गरिएको आयुक्त जबराले उल्लेख गर्नुभयो । १७ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरुको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आचारसंहिता उल्लङ्घन हुन नदिन सबै मिलेर लाग्न आग्रह गर्नुभयो ।
सामाजिक सञ्जालको दुरुपयोग र उम्मेदवारको खर्च मुख्य चुनौती भएको उहाँको भनाइ छ । यसअघि निर्वाचनको अनुभव लिनु भएकाको अनुभवलाई साटासाट गरेर कसरी राम्रोसँग निर्वाचन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने आयुक्त जबराले बताउनुभयो ।
निर्वाचन आयोगका सहसचिव राजेन्द्रकुमार केसीले कार्यशाला गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै दुई दिनसम्म हुने छलफलका विषयबारे जानकारी गराउनुभयो । चितवनसहित काठमाडौँ, विराटनगर र नेपालगञ्जमा यस किसिमका कार्यक्रम भइरहेका उहाँले जानकारी दिनुभयो ।
आजको सत्रमा विज्ञ स्रोतव्यक्तिका रूपमा पूर्वसचिव गोकर्णमणि दुवाडीले प्रतिनिधिसभा सदस्य निर्वाचनको संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रमका विषयमा सहजीकरण गर्दै हुनुहुन्छ । विज्ञ स्रोतव्यक्ति शालिग्राम शर्मा पौडेलले निर्वाचनका विभिन्न पक्ष र निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका विषयमा सहजीकरण गर्दै हुनुहुन्छ ।
मङ्गलबार निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीका विषयमा लक्ष्मी यादव, मतदाता नामावलीसम्बन्धी व्यवस्था र मतदानका विषयमा विज्ञ स्रोतव्यक्ति दुवाडीले सहजीकरण गर्ने कार्यक्रम छ । यसैगरी मतगणनासम्बन्धी व्यवस्थापकीय कार्य र मतगणना प्रक्रिया तथा प्रतिवेदनका विषयमा सहसचिव केसीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।रासस


