भारतमा भाले हात्तीको आतंकः नौ दिनमा यसरी लियो २० जनाको ज्यान

भारत/भारतको झारखण्ड राज्यको पश्चिम सिंहभूम जिल्लामा एउटा भाले हात्तीले विगत नौ दिनमा २० जनाको ज्यान लिएको छ। यो घटनाले स्थानीय बासिन्दामा ठूलो त्रास र आक्रोश फैलाएको छ।

जिल्ला मजिस्ट्रेट चन्दन कुमारले २० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरेका छन्। वन अधिकारी कुलदीप मीना भन्छन्, ‘भाले हात्तीको कारण यस्तो अवस्था पहिलो पटक सिर्जना भएको हो। थप जनधनको क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको छ।’

वन विभागले प्रत्येक मृतक परिवारलाई तुरुन्तै २० हजार भारतीय रुपैयाँ सहायता उपलब्ध गराएको छ। अन्तिम क्षतिपूर्ति भने चार लाख भारतीय रुपैयाँ र घाइतेका लागि अधिकतम डेढ लाख भारतीय रुपैयाँ दिने घोषणा गरिएको छ। साथै, आवास र अन्य सरकारी योजनाको लाभ पनि दिलाइने बताइएको छ।

हात्ती आक्रामक हुनुको मुख्य कारण प्रजनन चरणमा टेस्टोस्टेरोन हर्मोनको अत्यधिक वृद्धि भएको अधिकारीहरूले बताएका छन्। यो समयमा भाले हात्ती अत्यन्त उग्र र खतरनाक हुन्छ।

उद्धारका लागि १० विशेष टोलीमा १०० भन्दा बढी जनशक्ति खटाइएको छ। पश्चिम बंगाल र ओडिशाका विशेषज्ञ टोलीसँग मिलेर हात्तीलाई समातेर सुरक्षित जंगलमा फर्काउने प्रयास जारी छ। ड्रोनको सहयोगमा राति घरबाहिर ननिस्कन स्थानीयलाई सचेत गराइएको छ।

स्थानीय सामाजिक कार्यकर्ता मानकी तुबिद भन्छिन्, ‘पहिलो मृत्युपछि वन विभाग सक्रिय भए यति ठूलो क्षति नहुन सक्थ्यो।’

यो हात्तीले पहिलो दिन मंगल सिंह हेम्ब्रम (३४ वर्ष), उर्दूब बाहोदा (६२ वर्ष) लगायतलाई आक्रमण गरेको थियो। केही परिवारले एकै रातमा श्रीमान्, छोरा र छोरी गुमाएका छन्। विष्णु सुन्डी (४२ वर्ष) र उनका शाररीक रूपमा अशक्त छोरा कुष्णु सुन्डी (२५ वर्ष) को मृत्युले परिवार शोकको अवस्थामा छ।

झारखण्डमा वन फँडानी, राजमार्ग, रेलवे र नहर निर्माणले हात्तीको मार्ग अवरुद्ध भएको छ। त्यसले मानव–हात्ती द्वन्द्व बढाएको राँची विश्वविद्यालयका प्राध्यापक डीएस श्रीवास्तव बताउँछन्। राज्यभित्र सन् २०१९ देखि २०२४ सम्म हात्ती आक्रमणबाट ४४७ जनाको मृत्यु भइसकेको छ। जानकारीअनुसार उद्धार अभियान जारी छ। स्थानीयहरूको त्रास अझै कायम छ। बीबीसी हिन्दीबाट