भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गर्न केही महिनादेखि नै यस्तो थियो अमेरिकी तयारी

काठमाडौँ — महिनौँदेखिको सूक्ष्म निगरानी, सैन्य अभ्यास र आधुनिक प्रविधिको प्रयोग गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई एक ‘नाटकीय’ सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको छ ।

‘अपरेसन एब्सोल्युट रिजोल्भ’ नाम दिइएको उक्त मिसनमार्फत ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिबार बिहान उनीहरूकै सुरक्षित आवास (सेफ हाउस) बाट पक्राउ गरिएको हो ।

अमेरिकी अधिकारीहरूका अनुसार यो कारबाही शीतयुद्धपछिको दक्षिण अमेरिकामा भएको सबैभन्दा ठूलो सैन्य हस्तक्षेप हो । अमेरिकी जासुसी निकायहरूले केही महिनादेखि मदुरोको हरेक गतिविधिमा नियालिरहेका थिए । मदुरो कहाँ सुत्छन्, के खान्छन्, के लगाउँछन् र उनले पालेका घरपालुवा जनावरसम्मको सूचना संकलन गर्न भेनेजुएला सरकारभित्रै एक जना अमेरिकी ‘स्रोत’ परिचालन गरिएको थियो ।

मिसनलाई पूर्णता दिन अमेरिकी एलिट फोर्सले मदुरो बस्ने काराकासस्थित ‘सेफ हाउस’ को दुरुस्तै (फूल-साइज) नमुना बनाएर महिनौँसम्म अभ्यास गरेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले चार दिनअघि नै आक्रमणको अनुमति दिए पनि मौसम खराब भएका कारण अन्तिम समयमा आएर शुक्रबार राति १०:४६ (अमेरिकी समय) मा मात्र ‘गो अहेड’ को आदेश दिएका थिए ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको सिचुएसन रुमबाट नभई फ्लोरिडास्थित आफ्नो ‘मार-ए-लागो’ क्लबबाट यस अपरेशनको प्रत्यक्ष प्रसारण हेरेका थिए । उनले सीआईए निर्देशक जोन र्‍याटक्लिफ र विदेशमन्त्री मार्को रुबियोसँगै बसेर यो मिसन नियालिरहेका थिए । शनिबार बिहान फक्स एन्ड फ्रेन्ड्ससँग कुरा गर्दै ट्रम्पले भने, ‘यो अचम्मको दृश्य थियो । म यसलाई कुनै टेलिभिजन सो हेरेझैँ हेरिरहेको थिएँ । हाम्रा जवानहरूको गति र सामर्थ्य अद्भुत थियो ।’

विस्फोटका आवाज सुनिएका थिए । अमेरिकाले १५० भन्दा बढी विमान, बमवर्षक र लडाकु जेटहरू परिचालन गरेको थियो । आक्रमणअघि नै अमेरिकाले आफ्नो ‘विशेष प्रविधि’ प्रयोग गरेर काराकासको बिजुली काटिदिएको थियो ।

बीबीसीका अनुसार ‘ला कार्लोटा एयरफिल्ड’ र ‘पोर्ट ला गुइरा’सहित पाँच प्रमुख सैन्य स्थानहरूलाई निशाना बनाइएको थियो । प्रत्यक्षदर्शी डेनिएलाले भनिन्, ‘हामी बिस्फोटको आवाजले बिउँझियौँ, जताततै अन्धकार थियो, केवल बम विस्फोटको चमकले आकाश उज्यालो देखिन्थ्यो ।’

ढोका फुटाउन ‘ब्लो-टर्च’ को प्रयोग

अमेरिकी विशेष फौज ‘डेल्टा फोर्स’ का कमान्डोहरू मदुरोको किल्ला मानिने आवासमा छिर्दा कडा प्रतिरोध भएको थियो । मदुरोका अंगरक्षकहरूले गोली चलाए पनि अमेरिकी टोलीले आधुनिक उपकरण र ‘ब्लो-टर्च’को प्रयोग गरी बलियो स्टिलका ढोकाहरू काटेर भित्र छिरेका थिए ।

मदुरो एउटा सुरक्षित कोठा (सेफ रुम) तिर भाग्न खोजेका थिए, तर उनले ढोका लगाउन नपाउँदै अमेरिकी फौजले उनलाई नियन्त्रणमा लियो । ट्रम्पका अनुसार अमेरिकातर्फ केही घाइते भए पनि कसैको ज्यान गएको छैन ।

मदुरोलाई नियन्त्रणमा लिएर न्युयोर्क पुर्‍याइएको छ, जहाँ उनीमाथि लागूपदार्थ ओसारपसार (नार्को-टेरोरिज्म) को अभियोगमा मुद्दा चलाइने अमेरिकी अधिकारीहरूको दाबी छ । अमेरिकाले यसअघि नै मदुरोको गिरफ्तारीका लागि ५ करोड डलरको इनाम घोषणा गरेको थियो ।

यद्यपि, यो सैन्य हस्तक्षेपको विश्वव्यापी आलोचना सुरु भएको छ । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यसलाई ‘अन्तर्राष्ट्रिय समुदायका लागि खतरनाक नजिर’ भन्दै निन्दा गरेका छन् । अमेरिकी कंग्रेसमा पनि विपक्षी दलका नेता चक सुमरले कंग्रेसलाई जानकारी नदिई गरिएको यो कारबाही ‘लापरबाहीपूर्ण’ भएको टिप्पणी गरेका छन् ।