मदुरोको गिरफ्तारीबारे इरानी, रुसी र टर्किस मिडियाले के-के लेखे ?

काठमाडौँ — भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले गिरफ्तार गरेपछि विश्व राजनीतिमा तरंग पैदा भएको छ । यस घटनालाई लिएर विश्वका प्रमुख सञ्चारमाध्यमहरूले फरक-फरक दृष्टिकोण पस्किएका छन् । नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरुले पनि मदुरो गिरफ्तारको खबर पहिलो पृष्ठमै प्रकाशन गरका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय समुदायमा पनि चासोको विषय भएका कारण विश्वव्यापी ‘कभरेज’को विषय बनेको छ । एकातिर अमेरिकाले यसलाई ‘न्यायिक कारबाही’ भनेको छ भने अर्कोतिर इरान, चीन, रुस र टर्कीका मिडियाहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन र ‘जंगल राज’ को संज्ञा दिएका छन् ।

What did the Iranian, Russian, and Turkish media write about Maduro’s arrest?राष्ट्रपति मदुरो र उनकी पत्नी सिला फ्लोरेसलाई अमेरिकी सेनाले हिरासतमा लिएर अमेरिकाको न्युयोर्क जेलमा पुर्‍याएपछि विश्वका शक्ति राष्ट्रहरूबीच सञ्चार युद्ध सुरु भएको छ । विशेषगरी इरान, रुस, चीन र टर्कियका सञ्चारमाध्यमहरूले अमेरिकाको यो कदमलाई आधुनिक विश्वको ‘खराब अध्याय’ भन्दै आलोचना गरेका छन् ।

इरानी मिडिया

इरानी सरकारी सञ्चारमाध्यमहरूले यो घटनालाई सार्वभौमसत्तामाथिको नांगो हस्तक्षेप भनेका छन् । ‘तेहरान टाइम्स’ ले ‘जंगली कानुन शीर्षकमा समाचार प्रकाशित गर्दै अमेरिकाले अन्तर्राष्ट्रिय मर्यादालाई पूर्णतः बेवास्ता गरेको उल्लेख गरेको छ ।

त्यस्तै, ‘इरान इन्टरनेसनल’ र ‘मेहर न्युज’ ले इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै यसलाई ‘आतङ्कवादी शैलीको अपहरण’ भन्दै मदुरोको समर्थनमा इरान दृढ रहेको सन्देश प्रवाह गरेका छन् ।

रुसी मिडिया

रुसको ‘आरटी’ र ‘तास’ ले यसलाई शासन परिवर्तनका लागि गरिएको सुनियोजित सैन्य हमला भनेका छन् । रुसी सञ्चारमाध्यमहरूले यसलाई ‘सशस्त्र सैन्य आक्रामकता’ भन्दै मादुरोको तत्काल रिहाइको माग गरेका छन् ।

‘द मस्को टाइम्स’ ले रुसी विदेश मन्त्रालयको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘अमेरिकाले दिएको तर्कहरू आधारहीन छन् र यो विश्व शान्तिका लागि गम्भीर खतरा हो ।’

चिनियाँ मिडिया

चिनियाँ सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ र ‘साउथ चाइना मर्निङ पोस्ट’ ले यसलाई अमेरिकी हेजेमोनी (अधिपत्य) को पराकाष्ठा भनेका छन् । चीनले औपचारिक रूपमै मदुरो र उनकी पत्नीको तत्काल रिहाइको माग गरेको छ ।

चिनियाँ मिडियाहरूको विश्लेषणमा यो कारबाहीले ‘कुनै पनि सार्वभौम देशको राष्ट्राध्यक्ष अब सुरक्षित छैनन्’ भन्ने सन्देश दिएको छ । उनीहरूले यसलाई संयुक्त राष्ट्रसङ्घको वडापत्र विरुद्धको कार्य भन्दै भर्त्सना गरेका छन् ।

टर्किस सञ्चारमाध्यम

टर्कियको ‘हुर्रियत डेली न्युज’ ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई उद्धृत गर्दै अब अमेरिकाले नै भेनेजुएला चलाउने संकेत दिएको उल्लेख गरेको छ ।

यद्यपि, ‘टर्किस मिनेट’ ले टर्कियका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनको मौनतालाई ‘ट्रम्पसँगको डर’का रूपमा व्याख्या गर्दै विपक्षी नेताहरूको आलोचनालाई प्रमुखताका साथ प्रकाशन गरेको छ ।

‘न्युयोर्क टाइम्स’ को सम्पादकीय

रोचक कुरा त के छ भने, अमेरिकी संस्थापन पक्षकै प्रभावशाली अखबार ‘न्युयोर्क टाइम्स’ ले यस सैन्य कदमको खुलेर विरोध गरेको छ । सम्पादकीय नै लेखेर अखबारले यसलाई ‘अवैध र अविवेकी’ कदम भनेको छ ।

मदुरो दमनकारी नेता भए तापनि उनलाई पक्राउ गर्न अपनाइएको सैन्य बाटोले अमेरिकाको अन्तर्राष्ट्रिय साख गिराएको र यसले ल्याटिन अमेरिकामा नयाँ द्वन्द्व निम्त्याउने चेतावनी उक्त मिडियाले दिएको छ ।