कांग्रेसको महाधिवेशन केही समय धकेलिन सक्छ: शेखर कोइराला

काठमाडौं/नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा मंगलबार (पुस ८) काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ ।’

कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै कोइरालाले महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमहरूले धेरै चासो देखाउन जरुरी नरहेको बताए ।

‘नेपाली कांग्रेसको अधिवेशनमा यत्रो चिन्ता किन लागेको रु एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर चार चार वर्षमा हुनुपर्छ । भइरहन्छ भन्ने बुझ्नुस्,’ कोइरालाले भने, ‘जसले पनि नेपाली कांग्रेसको अधिवेशनको बारेमा सोध्छ । मलाई त दिक्क पनि लाग्छ कहिले कहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने?’
आफूले महाधिवेशन सार्न नखोजेको कोइरालाको भनाइ छ । ‘मैले सार्न खोजेको होइन । म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हुँ,’ उनले भने ।

क्रम संख्या नभएको क्रियाशील सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको उनले तर्क गरे । आफू पुस २६ मै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको पनि उनको भनाइ छ ।

‘नयाँ क्रियाशील सदस्य बाँड्ने क्रममा देशभरि सिरियल नम्बर नभएको पठाउने त शेखर कोइराला होइन होला । अर्कैले पठाएको होला,’ उनले भने, ‘मैले त थाहा पाएँ । थाहा पाएपछि चनाखो भएँ ।’ सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको कोइरालाको भनाइ छ । निर्वाचनको माहोल कतै नदेखिएको उनले बताए ।