Breaking News

नयाँ शक्तिहरु मिल्नुपर्छ भन्ने भावनाको सबै पक्षले कदर गर्नुपर्छः कुलमान घिसिङ

चितवन/उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नयाँ शक्तिहरु मिल्नुपर्छ भन्ने जनभावनालाई सबै पक्षले कदर गर्नुपर्ने बताएका छन् आज भरतपुरमा चितवन जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै घिसिङले अहिले सबै पक्षबाट मिल्नुपर्ने विषय उठान भइरहेको भन्दै सबै पक्षले यो भावनालाई कदर गर्नुपर्ने बताए । उनले देशलाई परिवर्तन गर्न सही नेतृत्वको आवश्यक रहेको भन्दै आउँदो निर्वाचनमा सही नेतृत्वलाई छान्न अनुरोध गरे । ‘मिल्नुपर्छ भन्ने आम नेपालीको भावना छ, नयाँ शक्तिहरु मिलेर नयाँ नेतृत्व दिनुपर्छ भन्ने सबैको भावना छ, त्यसलाई सबै पक्षले कदर गर्नुपर्छ’–घिसिङले भने ।

सहरी विकास, उर्जा तथा भौतिक पूर्वाधार मन्त्री समेत रहेका घिसिङले सरकारले जनतालाई निर्माणको काम नगरेर सधै दुःख दिने कम्पनीहरुको ठेक्का तोड्ने र नयाँ ठेक्का लगाउने काम गरिरहेको बताए । उनले सरकारको मुख्य कार्यभार आउँदो फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेर नयाँ सरकार बनाउँदै देशकालाई निकास दिनुपर्ने अवस्था रहेको भन्दै त्यसका लागि सही नेतृत्व छान्न आवश्यक रहेको औल्याए । विगतमा सरकारले गतिलो काम नगर्दा पुरानो पार्टीलाई गर्दै आएकोमो अब सही नेतृत्वको पाटीलाई छान्ने बेला आएका बताए । घिसिङले देश परिवर्तन गर्न नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको भन्दै पुराना पाटीमा भएका सही व्यक्तिहरुलाई पनि संगै लैजानु पर्ने बताए । मन्त्री घिसिङ आफू सधै जनताको सेवामा काम गरेको उल्लेख गर्दै भने–‘गलत काम गरेको भए अहिले कुलमान खोरमा हुन्थ्यो, तपाईहरु माझ हुन्थेन ।’

मन्त्री घिसिङले आफूलाई धेरैले राजनीतिमा नआउन आग्रह गरे पनि देश परिवर्तन गर्न देशमा होमिएको बताए । ‘राजनीतिमा नआउनु होला, इज्ज सबै माटोमा मिल्छ भन्ने सबैको सुझाव थियो, इज्जत सखाफै होस् तर देशलाई केही योगदान दिन सक्यो भने उपलब्धि हुन्छ भनेरै राजनीतिमा आए’–घिसिङले भने ।

उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले अहिले भइरहेको राजनीति भन्दा फरक तवरले राजनीति गर्न आफू होमिएको बताए । उनले देशमा अहिले सबै शासक बन्न खोजिरहेको भन्दै आफू शासक नभई सेबक बन्न आएको बताए । भेलामा पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्मालगायतले सम्बोधन गरेका थिए ।