हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदोखेती हराउँदै, बढ्दै माग

तानसेन,(पाल्पा)/यहाँका ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदोखेती हराउँदै गएको छ । मुख्यतया नगदे बालीको लोकप्रियता, कोदोखेतीमा धेरै मेहनत र लगानीको आवश्यकता भएका कारणले धेरै किसानले कोदोखेती छाड्दै गएको पाइन्छ ।

जिल्लाका कृषकहरू अहिले अन्य नगदेबाली खुर्सानी, आलु, अदुवा, बेसार र तरकारीखेतीतर्फ आकर्षित भएका छन् । जसले गर्दा कोदो जस्ता परम्परागत बाली लोप हुँदै गएका हुन् । जिल्लाको केही क्षेत्रमा कोदोखेती अझै केही मात्रामा भइरहेको भए पनि, यी क्षेत्रमा समेत उत्पादनमा कमी आएको देखिन्छ । यहाँका कोदो फल्ने अधिकांश बारीमा घाँस र पातपतिङ्गर जस्ता झारले भरिएको छ ।

एक दशकअघिसम्म यहाँको रिब्दीकोट बगनासकाली गाउँपालिका सिरुखर्काकी शर्मिला थापाको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो । काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उहाँले छाड्नुभएको छ । उहाँले कोदोखेती गर्दै आएको जग्गा बनमारा र बोकेझारले भरिएको छ । छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने मान्छे नभएको थापाले बताउनुभयो ।

बगनासकाली गाउँपालिका खानेगाउँका दीपक पचाभैया पनि धेरै कोदो उत्पादन गर्ने किसान हुनुहुन्छ । तर उहाँले पनि पछिल्लो वर्षमा लगाउन छाड्नुभएको छ । केही वर्षअघिसम्म पनि बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट माथागढी, निस्दी, पूर्वखोला, रम्भा, तिनाउलगायत जिल्लाका अन्य किसानहरुको मुख्य बाली कोदो थियो । युवाहरु विदेश र सहरतिर, गाउँमा बूढाबूढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको सङ्ख्या हरेक वर्ष घट्दो छ । यहाँको दुई वर्षको तथ्याङ्क हेर्ने हो भने पनि कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ ।

यहाँ आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएको थियो । जुन आर्थिक वर्ष २०८१/८२ मा आएर दुई हजार ३४९ हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार कृषकहरु सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदोखेती हुने क्षेत्रफल घट्दै गएको हो । कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायः जसो जिल्लाका सबै गाउँ बस्तीमा हुन्थ्यो तर आजभोलि सबै हराए ।

कोदो हराउँदै गए पनि माग भने बढ्दो रहेको छ । पछिल्लो केही वर्षयता यहाँका होटलहरुमा कोदोका परिकारको माग बढेको तानसेन कैलाशनगरका होटल व्यवसायी दीपक अधिकारीले बताउनुभयो । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उहाँको भनाइ छ । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको कार्कीले बताउनुभयो । बजारमा सहजरुपमा कोदोको पीठो पाउन गाह्रो हुने उहाँको भनाइ छ ।

“पहिले कोदोको ढिँडोको माग खासै आउँदैनथ्यो, अहिले होटलमा आउने धेरै पाहुनाको रोजाइ ढिँडो हुन्छ । विशेषगरी स्थानीय उत्पादनबाट बनेका परिकारको माग बढ्दो छ । अहिले धेरै व्यक्तिमा अग्र्यानिक खाना खानुपर्छ भन्ने सोच बढेको छ,” अधिकारीले भन्नुभयो, “कोदोको खेती कम भएर होला, भनेको समयमा पीठो पाउन सकिँदैन । कहिले गाउँमै गएर ल्याउँछौँ । कहिले किसान आफैँ यही ल्याइदिएर आउनुहुन्छ । स्थानीय उत्पादनको महत्व नागरिकले बुझ्दै गएका छन् ।” रासस