सरकारी अस्पतालको सेवा गुणस्तरीय र भरपर्दो : स्वास्थ्यमन्त्री गौतम
काठमाडौँ/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारी अस्पतालहरूबाट दिइने सेवा गुणस्तरीय एवम् सस्तो हुने भएकाले ढुक्क भएर उपचार गर्न आम सर्वसाधरणसँग अनुरोध गर्नुभएको छ ।
वीर अस्पतालको अनुगमन गर्दै सरकारी अस्पतालहरूमा राम्रो र भरपर्दो सेवा पाइँदैन कि भन्ने सोचबाट मुक्त भई स्रोतसाधनसहित अनुभवी जनशक्ति भएको सरकारी अस्पतालबाट सेवा लिन सबैसँग अनुरोध गर्नुभयो ।
मन्त्री डा गौतम भन्नुभयो, “सरकारी अस्पताल त्यसमाथि पनि वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन । निर्धक्क भएर उपचार गर्नोस् । अस्पतालको सेवाप्रति ढुक्क हुनोस् र लाभान्वित हुनोस् ।” “वीर अस्पतालमा उपकरण र जनशक्तिको समस्या देखिएको छ । परामर्श सेवामा कमजोर रहेछौँ । ‘नर्स’को सङ्ख्या बढाउनुपर्ने भन्ने माग आयो । त्यसतर्फ अस्पताल व्यवस्थापनको ध्यान जान आवश्यक छ,” उहाँले भन्नुभयो ।
शल्यक्रियाका लागि लामो समय पर्खिनुपर्ने भन्ने जनगुनासो सम्बोधन गर्न निर्देशन दिँदै उहाँले केन्द्रीयसहित प्रादेशिक अस्पतालहरूको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री गौतमका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा र श्रमिकका लागि ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्नु अस्पतालको सबल पक्ष हो । उहाँले वीर अस्पतालको जनशक्ति तथा उपकरण व्यवस्थापनका क्षेत्रमा सक्दो सहयोग प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


