महत्वपूर्ण कार्यक्रमहरु गर्दै सकियो नारायणगढ जेसीज सप्ताह

चितवन/नारायणगढ जेसीजले आयोजना गरेको ‘जेसीज सप्ताह–२०२५’ विभिन्न कार्यक्रम गर्दै समापन गरिएको हो । एक सातामा नारायणगढ जेसीजले ८ वटा कार्यक्रम गर्दै सप्ताहको औपचारिक समापन गरेको हो । समापन समारोहका दिन जेसीजले देवघाट क्षेत्र विकास समितिले संचालन गरेको वृद्धाश्रममा विहानको भोजन गराएको थियो । सोही दिन शनिबार साँझ जेसीज सचिवालय नारायणगढमा पुरस्कार वितरण गर्दै सप्ताहको औपचारिक समापन गरेको हो ।

समापन समारोहमा बोल्दै सप्ताहका मुल संयोजक सन्तोष पण्डितले सबै कार्यक्रमलाई उत्कृष्ट बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । उनले सप्ताहव्यापी कार्यक्रमका संयोजकहरुलाई दिनरात नभनि खटेर सफल बनाएकोमा विशेष आभार प्रकट गरे । सबै कार्यक्रमका संयोजकहरुलाई जेसीज अध्यक्ष रविन्द्र कुमार श्रेष्ठ, प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री एवं सांसद उत्तम जोशीले मायाको चिनो प्रदान गरेका थिए ।

सो क्रममा बोल्दै प्रमुख अतिथि जोशीले जेसीजले अझै सबै युवाहरु माझ पुग्ने गरी कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । पछिल्लो समय देशमा केही नभएको जस्तो गरी नकरात्मक प्रचार भएको भन्दै त्यसलाई चिर्दै सकरात्मक पाटोहरुलाई प्रवाह गर्न सबै युवाहरु माझ जेसीज पुग्नुपर्ने बताए । उनले आफू पनि जेसीज यात्रा हुँदै आज सांसद मन्त्री बनेको भन्दै जेसीजलाई सही सदुपयोग गर्नुे पर्ने बताए ।
नारायणगढ जेसीजका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले यसवर्ष जेसीज सप्ताह स्वर्ण जयन्तीसंगै मनाईएको भन्दै विगत भन्दा अझै विशेष रहेको बताए । उनले सप्ताहलाई सफल बनाउन सहयोग गर्ने सबै पूर्व अध्यक्ष, वर्तमान समिति र शाखा जेसीजहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा जेसीज सप्ताह अन्तरगत भएका विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा नारायणगढ जेसीजका पूर्व अध्यक्षहरु देसीराम प्रधान, सुदिप सिंह अधिकारी, विकास श्रेष्ठ, अर्जुन अधिकारी, छिमेकी जेसीजका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।