जाडोको कहर, निमोनियाको डर

चिसो हावा, कम तापक्रम र कमजोर रोग प्रतिरोधात्मक क्षमताले सङ्क्रमणलाई तीव्र गतिमा फैलाउन मद्दत गर्दछ। त्यसैले, ३०% भन्दा बढी निमोनियाका केसहरू जाडो मौसममा देखिन्छन्।

विशेष गरी बालबालिका, वृद्ध वृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू उच्च जोखिममा हुन्छन्, किनभने उनीहरूको शरीरले सङ्क्रमणसँग प्रभावकारी रूपमा लड्न सक्दैन। जाडोमा हुने भाइरल सङ्क्रमणले गम्भीर समस्या निम्त्याउन सक्छ। सामान्य रुघाखोकीले पनि कहिलेकाहीँ निमोनियाको रूप लिन सक्छ। यद्यपि, सही जानकारी, समयमै निदान र केही आवश्यक सावधानी अपनाएर हामी आफू र आफ्नो परिवारलाई निमोनियाबाट बचाउन सक्छौँ।

निमोनिया भनेको के हो?

निमोनिया फोक्सोको एक गम्भीर सङ्क्रमण हो, जसले फोक्सोभित्र रहेका हावाका थैलीहरू (अल्भियोली) सुन्निने गर्दछ। यसरी सुन्निँदा ती थैलीहरूमा पिप वा तरल पदार्थ भरिन सक्छ, जसकारण खोकी लाग्ने, ज्वरो आउने, काँप्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन्छन्। यदि समयमै उपचार गरिएन भने, यो सङ्क्रमण शरीरका अन्य भागहरूमा फैलिएर ज्यानलेवा पनि हुन सक्छ।

जाडोमा चिसो र सुख्खा हावाका कारण श्वासप्रश्वास प्रणालीको श्लेष्म झिल्ली (mucous membrane) कमजोर हुन्छ, जसले गर्दा भाइरस र ब्याक्टेरियाले सजिलै आक्रमण गर्न पाउँछन्।

श्लेष्म झिल्ली हाम्रो श्वासप्रश्वास प्रणालीको भित्री सतहमा रहेको पातलो तह हो, जसले फोक्सोलाई धुलो, कीटाणु र चिसो हावाबाट बचाउँछ। जाडोमा हावा चिसो र सुख्खा हुँदा यो तह सुक्छ, जसले सङ्क्रमणको जोखिम बढाउँछ। जाडोमा निमोनियाको जोखिम बढ्नुका अन्य कारणहरू निम्न छन्:

कमजोर प्रतिरक्षा प्रणाली:

जाडोमा शरीरको अधिकांश ऊर्जा तापक्रम कायम राख्नमा खर्च हुने हुँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। यसले शरीरको सङ्क्रमणसँग लड्ने क्षमता घटाउँछ। साथै, घामको कमीले हुने भिटामिन डीको कमीले पनि प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ।

चिसो हावाको प्रभाव:

चिसो हावाले फोक्सोको सुरक्षात्मक पत्रलाई असर गर्छ। यस पत्रमा रहेका रौँ जस्ता स-साना संरचनाहरू, जसले ब्याक्टेरियालाई बाहिर निकाल्ने काम गर्छन्, चिसोमा निष्क्रिय हुन्छन्। यसले ब्याक्टेरियालाई फोक्सोमा सजिलै प्रवेश गर्न र सङ्क्रमण फैलाउन मद्दत गर्छ।

कम आर्द्रता र सुख्खा हावा:

जाडोमा आर्द्रता कम हुने भएकाले हावा सुख्खा हुन्छ। यो सुख्खा हावाले नाक र घाँटीको भित्री पत्रलाई सुकाउँछ, जसले शरीरको प्राकृतिक प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ र भाइरसलाई आक्रमण गर्न सजिलो बनाउँछ।

लामो समय घरभित्रै बस्नु:

जाडोमा मानिसहरू प्रायः झ्याल-ढोका बन्द गरेर बस्छन्, जसले गर्दा हावाको आवतजावत कम हुन्छ। बन्द ठाउँमा भाइरस र ब्याक्टेरिया लामो समयसम्म जीवित रहन्छन् र एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छन्।

भाइरल सङ्क्रमण:

जाडोको कम तापक्रमले भाइरसहरूलाई लामो समयसम्म सक्रिय रहन मद्दत गर्छ। भाइरल संक्रमणपछि अक्सर ब्याक्टेरियाको दोस्रो सङ्क्रमण हुन सक्छ, जसले निमोनिया निम्त्याउँछ। बालबालिका, वृद्ध वृद्धा र मधुमेह वा दमजस्ता दीर्घकालीन रोग भएका व्यक्तिहरू उच्च जोखिममा हुन्छन्।

हिटर र ब्लोअरको प्रभाव:

कोठामा हिटर वा ब्लोअरको निरन्तर प्रयोगले हावालाई झनै सुख्खा बनाउँछ। सुख्खा हावाले नाक र फोक्सोको सुरक्षात्मक पत्रलाई डिहाइड्रेट गर्छ, जसले ब्याक्टेरिया र भाइरसका लागि अनुकूल वातावरण सिर्जना गर्छ।

धूम्रपान र घरभित्रको प्रदूषण:

जाडोमा मानिसहरू प्रायः बन्द कोठामा धुवाँ, धूप वा हिटरको सम्पर्कमा आउँछन्। यस्तो प्रदूषित हावाले फोक्सोको कार्यक्षमतामा असर गर्छ र सङ्क्रमणको जोखिम बढाउँछ।

यसका सुरुवाती लक्षणहरू धेरै सामान्य हुन्छन्, त्यसैले मानिसहरूले अक्सर बेवास्ता गर्छन्। यद्यपि, प्रारम्भिक लक्षणहरू पहिचान गर्नाले गम्भीर अवस्थाबाट बच्न मद्दत गर्न सक्छ।

निमोनियाबाट बच्न जीवनशैलीमा कस्ता परिवर्तनहरू ल्याउनुपर्छ?

जीवनशैलीमा गरिने स-साना परिवर्तनले फोक्सोलाई सङ्क्रमणबाट जोगाउन सक्छ। बाहिर निस्कँदा चिसो हावा सिधै फोक्सोमा नपुगोस् भनेर मुख र नाकमा स्कार्फ वा मास्क लगाउनुपर्छ। घरभित्रको हावालाई ओसिलो राख्न ह्युमिडिफायर प्रयोग गर्न सकिन्छ।

यसका साथै, दिनमा केही मिनेटका लागि झ्यालहरू खोल्नुहोस् ताकि ताजा हावा भित्र आओस् र घरमा जम्मा भएका ब्याक्टेरिया र प्रदूषकहरू बाहिर निस्कन सकुन्। प्रशस्त पानी पिउनु र हल्का व्यायाम गर्नाले पनि फोक्सोलाई स्वस्थ राख्न मद्दत गर्छ।

यदि सास फेर्न गाह्रो भएमा, १०२° फेरेनहाइटभन्दा बढी ज्वरो आएमा, छाती निरन्तर दुखिरहेमा, खकारमा पिप वा रगत देखिएमा, र विशेष गरी वृद्धवृद्धामा अस्वाभाविक व्यवहार देखिएमा तुरुन्तै डाक्टरसँग परामर्श लिनुपर्छ।

निमोनिया भइसकेपछि सङ्क्रमण फैलिनबाट रोक्न र छिटो निको हुन आराम र उचित हेरचाह आवश्यक हुन्छ। यसका लागि निम्न कुराहरूमा विशेष ध्यान दिनुहोस्:

• डाक्टरले दिएको औषधि समयमै सेवन गर्नुहोस्।

• शरीरलाई निको हुन पर्याप्त निद्रा र आराम दिनुहोस्।

• सुप, नरिवल पानी र हर्बल चियाजस्ता झोल पदार्थ प्रशस्त पिउनुहोस्।

• तारेको र पचाउन गाह्रो हुने खानेकुरा नखानुहोस्।

• ताजा फलफूल र हरियो सागसब्जी खानुहोस्।

• धूम्रपान र मदिरा सेवनबाट पूर्णतया बच्नुहोस्।

निमोनियाको पहिचान कसरी गरिन्छ?

निमोनियाको पहिचानका लागि डाक्टरले केही परीक्षणहरू गराउन सक्छन्, जस्तै:

• रगत परीक्षण: शरीरमा सङ्क्रमणको मात्रा पत्ता लगाउन।

• खकार परीक्षण: सङ्क्रमण गराउने ब्याक्टेरिया वा भाइरस पहिचान गर्न।

• पल्स अक्सिमिटर: रगतमा अक्सिजनको स्तर जाँच्न।

• धमनी रक्त ग्यास परीक्षण: रगतमा अक्सिजनको मात्रा यकिन गर्न।

• छातीको एक्स-रे वा सिटी स्क्यान: फोक्सोको अवस्था हेर्न।

• ब्रोंकोस्कोपी: गम्भीर अवस्थामा फोक्सोको भित्री भाग जाँच्न।

निमोनियाको उपचार कसरी गरिन्छ?

यसको उपचार सङ्क्रमणको गम्भीरता र कारणमा निर्भर गर्दछ। ब्याक्टेरियाबाट भएको निमोनियाका लागि एन्टिबायोटिक दिइन्छ, भने भाइरल निमोनियाका लागि एन्टिभाइरल औषधि र लक्षण अनुसारको उपचार आवश्यक पर्दछ। सामान्य अवस्थामा घरमै आराम गरेर, प्रशस्त झोल पदार्थ पिएर र डाक्टरको सल्लाहअनुसार औषधि खाएर निको हुन सकिन्छ। तर गम्भीर अवस्थामा अस्पताल भर्ना गरी अक्सिजन थेरापी, नसाबाट एन्टिबायोटिक वा अन्य सहायक उपचार आवश्यक पर्न सक्छ।

निमोनियाबाट बच्नका लागि न्युमोकोकल कन्जुगेट खोप (पीसीभी) उपलब्ध छ। यो खोप विशेष गरी बालबालिका, वृद्ध वृद्धा र दीर्घकालीन रोग भएका व्यक्तिहरूका लागि सिफारिस गरिन्छ। यद्यपि, खोप लिनुअघि डाक्टरसँग परामर्श गर्नु अनिवार्य छ।एजेन्सी