ललितपुर र भक्तपुरका बालबालिका ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

काठमाडौँ/सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदि औषधि) आजदेखि ललितपुर र भक्तपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ ।

आज दुवै जिल्लास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रमा बालबालिकालाई ल्याई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ आज खुवाइएको हो ।

बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन तयारी गरेको छ । विभागका चिकित्सक डा सुशान्त भण्डारीले ललितपुरको महालक्ष्मी र भक्तपुरको कमलविनायकमा बालबालिकालाई पहिलो चरणमा ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ललितपुरमा १८० र भक्तपुरमा ८० बालबालिकाललाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको छ । उहाँले ‘स्वर्ण विन्दु प्राशन’ खाएका बालबालिकामा बौद्धिक विकास देखिने बताउनुभयो । “अटिज्म देखिएका बालबालिकामा पनि ‘स्वर्ण विन्दु प्राशन’ खुवाएपछि फुर्तिलो हुने, भनेको मान्ने जस्ता लक्षण देखिन्छन्”, उहाँले भन्नुभयो, “मौसमी रुघा लाग्ने समस्या पनि बालबालिकामा देखिँदैन ।”

उहाँका अनुसार एकदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र तीनदेखि पाँच वर्ष मुनिका बालबालिकालाई चार थोपा ‘स्वर्ण विन्दु प्राशन’ खुवाउनुपर्ने हुन्छ । विभागले गत भदौ ५ गते धनगढीबाट ‘स्वर्ण विन्दु प्राशन’को सुरुआत गरेको हो ।

विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादव ‘स्वर्ण विन्दु प्राशन’को प्रभाव बालबालिकालाई परेकाले चाँडै नै देशभरिका आयुर्वेद केन्द्रबाट सबै बालबालिकालाई खुवाउने गरी तयारी गर्ने जानकारी दिनुभयो । रासस