दिल्लीमा लाल किल्ला बाहिर विस्फोटन

दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ।

दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६:५५ उनीहरूलाई फोनबाट लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक एउटा सवारीसाधनमा विस्फोटन भएको जानकारी प्राप्त भएको थियो।

त्यसपछि छ वटा गाडीमा आगो लागेको बताइएको छ। त्यहाँ रोकिएका अन्य केही गाडीहरूमा पनि क्षति पुगेको भनिएको छ।

दिल्ली अग्निनियन्त्रण एकाइका अनुसार उक्त क्षेत्रमा सात वटा दमकल पठाइएको थियो।

विस्फोटको कारणबारे जाँच भइरहेको प्रहरीले बताएको छ। भिडिओहरूमा जलेका गाडीबाट धुवाँ निस्किरहेको देखिन्छ।

समाचार एजेन्सी पीटीआईले उक्त इलाकालाई सुरक्षा घेराबन्दी गरिएको जनाएको छ।

दिल्ली पुलीस कमिश्नर सतीश गोलचाले लाल किल्ला मेट्रो स्टेशनको नजिक रेड लाइटमा साँझ ६:५२ बजे एउटा सवारीसाधन रोकिएको समयमा विस्फोटन भएको बताएका छन्। उक्त सवारीसाधनमा यात्रुहरू पनि रहेका बताइएको छ।

“त्यो विस्फोटनबाट आसपासका गाडीहरूमा पनि क्षति भयो। सूचना प्राप्त हुनेबित्तिकै हाम्रा सम्पूर्ण एजेन्सीहरू, दिल्ली प्रहरी, एफएसएल, एनआईए र एनएसजीको टोली यहाँ आइसकेको छ र अवस्थाबारे जानकारी लिइरहेको छ। यो विस्फोटबारे अनुसन्धान भइरहेको छ। यसको आकलन गरेर हामी चाँडै केही जानकारी दिने छौँ।”

उनले केही व्यक्ति घाइते भएको र केहीको ज्यान गएको पनि पुष्टि गरे। “गृहमन्त्रीलाई पनि हामी लगातार यसबारे सूचित गरिरहेका छौँ। जे हुन्छ, त्यसको पनि जानकारी दिनेछौँ।”

सीआरपीएफका डीआईजी किशोर प्रसादले घटनास्थलमा पुगेर अहिले नै केही भन्नु हतारो हुने प्रतिक्रिया दिए।

प्रत्यक्षदर्शीहरूले के भने?
समाचार एजेन्सी एएनआईले केही घाइतेहरूलाई एलएनजेपी अस्पताल लगिएको जनाएको छ।

एक जना स्थानीयबासी राजधर पान्डेले एएनआईसँग भने, “हामीले आगोको लप्का देख्यौँ। मैले आफ्नो छतबाट देखेँ। त्यसपछि तल ओर्लिएर के भएछ हेरौँ भनेर आएँ। एकदमै ठूलो आवाज आएको थियो। भवनको झ्याल हल्लिएको थियो। मेरो घर गुरुद्वाराको नजिकै छ।”

स्थानीय दुकानदार वलीउर रहमानले भने, “म आफ्नो पसलमा नै बसिरहेको थिएँ। अचानक शक्तिशाली विस्फोटन भयो, त्यस्तो आवाज मैले आजसम्म सुनेको थिइनँ। विस्फोटन सुनेपछि म तीन पटक ढलेँ। त्यसपछि आसपासका सबै मानिसहरु भाग्न थाले।”

अलग घटनामा विस्फोटक सामग्री बरामद

यसअघि अर्कै घटनामा भारतीय प्रहरीले नयाँ दिल्लीको फरिदाबाद नजिकैको एउटा अपार्ट्मेन्टबाट ठूलो परिमाणमा विस्फोटक सामाग्री र हतियारहरू फेला पारेको बताएको थियो।

अधिकारीहरूले ३०० किलोग्रामभन्दा बढी विस्फोटक सामाग्री, एउटा एके-४७ राइफल र गोलीगठ्ठा बरामद भएको उल्लेख गरेका छन्।

उक्त अपार्ट्मेन्ट भाडामा लिएका जम्मु कश्मीरका एक जना चिकित्सक पक्राउ परेका छन्।

प्रहरीले ती चिकित्सक पाकिस्तानमा आधारित जैस-ए-मोहम्मद समूहसँग सम्बन्धित पोस्टरहरू टाँसेको आरोपमा खोजी भइरहेका व्यक्ति रहेको उल्लेख गरेको छ।

जैस-ए-मोहम्मदलाई भारतमा आतङ्कवादी सङ्गठनको सूचीमा राखिएको छ।