चितवनमा अझै फर्किएनन् १५६ कैदीबन्दी

चितवन/जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १५६ जना फर्किएका छैनन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार नफर्किए कारबाही हुने भन्दै सूचना जारी गरे पनि हालसम्म उनीहरू नफर्किएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले तोकिएको समयभित्र ५७८ जना कैदीबन्दी फर्किएका छन् । जसमध्ये ५३९ जना पुरुष र ३७ जना महिला रहेका छन् । उनीहरूसँग दुई जना नाबालक पनि फर्किएका छन् । भागेका कैदीबन्दीमध्ये ६० जनाको परिवारसँग सम्पर्क हुन सकेको र अरुको हकमा परिवारसँग सम्पर्क भए पनि नफर्किएको उहाँले बताउनुभयो ।

‘जेनजी’ आन्दोलनका क्रममा भदौ २५ गते यस कारागारबाट ७४२ जना कैदीबन्दी भागेका थिए । उनीहरूलाई पटक–पटक सूचना जारी गरी सम्पर्कमा आउन भनिएको थियो । यहाँबाट भागेका आठ जना कैदीबन्दीमध्ये चारजना भैरहवा कारागार, धादिङ, सुर्खेत, बागलुङ् र नुवाकोट कारागारमा एक/एकजना पुगेका छन् ।

यस्तै, कारागार कार्यालय चितवनमा पनि विभिन्न जिल्लाबाट भागेका २१ जना कैदीबन्दी आएका कार्यालय प्रमुख ढुङ्गानाले बताउनुभयो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई अब कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

यस्तै, फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसूरदार ठानी कारबाही गरिने जनाइएको छ ।रासस