उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार
उदयपुर/बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति १२ बजे मोरङको विराटनगरबाट काडमाडाँै हिँडेको बा ४ ख १६२८ को हायस गाडी सिन्धुलीको भिमानबाट पुनः फर्कने क्रममा उदयपुरको बेलकास्थित लालबजार नजिकैको अमन खोलाको कजवेमा बाढीले बगाएको हो ।
गाडीमा सवार २२ जनामध्ये इलाका प्रहरी कार्यालय बेलका र जिल्ला प्रहरी कार्यालयको टोलीले २१ जनाको उद्धार गरेको थियो भने एकजना बेपता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताउनुभयो ।
बाढीले बगाएको एक जनालाई खोजी गर्ने क्रममा अहिले बिहान इलाका प्रहरी कार्यालय बेलकाको टोलीले बगाएको स्थानभन्दा डेढ किलोमिटर तल गिदेरी खोला नजिकै शव फेला पारेको इप्रकाका प्रमुख मौसम उदासले बताउनुभयो । मृतक मोरङको सुन्दरहरैचा नगरपालिका बस्ने वर्ष ४० की मञ्जु अधिकारी रहेको प्रहरीले जनाएको छ । रासस