नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै
नवलपुर/पूर्वी र पश्चिम नवलपरासीमा हिजो बेलुकादेखि वर्षा भइरहेको छ । यद्यपि यो समाचार तयार पार्दासम्म जिल्लामा डुबान र राजमार्ग अवरुद्ध भएका खबर प्राप्त भएका छैनन् । पूर्व पश्चिम राममार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड सञ्चालनमा छ भने भित्री तथा सहायक मार्गमा पनि अवरोध नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढी, डुबान, पहिरो, भू–क्षय लगायतका प्राकृतिक विपद् आउन सक्ने भन्दै अत्यावश्यकबाहेक यात्रा नगर्न र गर्नै परे आवागमनमा उच्च सावधानी अपनाउन आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेद्वारा जारी सूचनामा लामो दुरीका यात्रुबस तथा मालवाहक सवारी साधन सञ्चालनमा सावधानी अपनाउन भनिएको छ । कुनै पनि विपद्सम्बन्धी घटना भएमा स्थानीय तह, प्रहरी, प्रशासन वा सुरक्षासँग सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।