Breaking News

दसैँका लागि सामाजिक सुरक्षाभत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी

जुम्ला/आसन्न दसैँमा सामाजिक सुरक्षाभत्ता पाएपछि तिला गाउँपालिकाका ज्येष्ठ नागरिक खुसी भएका छन् । गाउँपालिकाले भत्ता पाउने सबै लाभग्राहीको बैंक खातामा भत्ता जम्मा गरेको तिला गाउँपालिका पञ्जीकरण शाखाका प्रमुख बखत हमालले जानकारी दिनुभयो ।

गाउँपालिकाले चाडबाड मनाउन सजिलो होस् भन्ने उद्देश्यसहित चालु आर्थिक वर्षको पहिलो त्रैमासिकअन्तर्गतका सामजिका भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतका लाभग्राहीको बैंक खातामा जम्मा गरिएको उहाँले बताउनुभयो ।

दसैँलाई लक्षित गरेर सामाजिक सुरक्षा वितरण गरेपछि यहाँका स्थानीयलाई राहत भएको तिला–१ का स्थानीयवासी नर रावतले जानकारी दिनुभयो । स्थानीयको सहजताका लागि गाउँपालिकाले बैंकसँग समन्वय गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । चाडबाडको बेलामा ज्येष्ठ तथा असक्त नागरिकलाई पहिलो प्रथामिकता दिएर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न रचानात्मक काम गरिरहेको उहाँकोे भनाइ छ । गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या तीन हजार १५२ जना रहेकोे जनाइएको छ । रासस