Breaking News

पूर्वराष्ट्रपति भण्डारीको अपिलः मुलुकलाई सही दिशा दिन दलहरुबीच सहकार्य आवश्यक

काठमाडौँ/काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान राजनीतिक संकटको निकास संविधान भित्रैबाट खोज्न आग्रह गरेका छन् । राजनीतिक दल एवं त्यसका नेता, कार्यकर्ता र सदस्यको ठूलो भूमिका रहने उनको भनाइ छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक र क्रान्तिकारी व्यक्तिले अफ्ठेरो राजनीतिक अवस्था उत्पन्न हुँदैमा पलायन हुने, निश्क्रिय हुने र आदर्शप्रति प्रतिकुल हुने टिकाटिप्पणी गर्न नसुहाउने उल्लेख गरेकी छन् । दलहरुलाई यस्तो बेलामा स्पष्ट दृष्टिकोण सहित अघि बढ्न उनको सुझाव छ । ‘पार्टीहरुले संस्थागत ढंगले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टी भित्रको एकता, हार्दिकता र समन्वयलाई बलियो बनाएर सहयात्री राजनीतिक दलसँग समेत सामञ्जस्यता कायम राख्न आवश्यक छ,’ भण्डारीले भनेकी छन्, ‘मुलुकलाई सही दिशामा हिडाउन दृढ अठोठ गर्नु पर्दछ । यस विषयमा सम्बद्ध सबैको ध्यान पुग्नेछ भन्ने मलाइ लागेको छ ।’

जेन जीको उत्साहलाई कुनै लोकतान्त्रिक प्रणालीप्रति घात गर्ने र नागरिक सर्वोच्चतामा चोट पुर्याउने काम गर्न नहुने बताउँदै उनले नेपाली जनताले लामो समय लडेर ल्याएको लोकतान्त्रिक एवं गणतान्त्रिक प्रणाली स्थापना गरेको इतिहास स्मरण गराएकी छन् ।

‘संविधानसभाले बनाएको नेपालको संविधान २०७२ हाल कार्यान्वयनमा रहेको छ । नेपाली जनताको त्याग, समपर्ण र बलिदानको प्रतिकको रुपमा रहेको यो संविधान एउटा उत्कृष्ट संविधान हो’ भण्डारीले भेनकी छन्, ‘त्यसैले जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडी बढ्नु पर्दछ ।’

भण्डारीले अहिले पनि राष्ट्रपति, सभामुख र जननिर्वाचित प्रतिनिधिसभा कायमै रहेकोले राष्ट्रपति र सभामुखको समन्वयमा वैधानिक प्रक्रियाबाट अर्को मन्त्रिपरिषद गठन प्रक्रिया अघि बढाउन सुझाव दिएकी छन्।