६ लेन सडकमा ठेकेदारको हो की ईन्जिनियरको मनपरी: सानालाई ऐन ठूलालाई चैंन, के यही हो निती सरकारी?
चितवन/भरतपुरको गोन्द्राङ्ग देखि नारायणघाट पुलचोकसम्मको ६.८ किलोमिटर ६ लेन सडक निर्माण सम्पन्न भई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्वघाटन गरिसकेका छन् । तर त्यहि सडक निर्माणको सन्र्दभमा सानालाई ऐन ठूलालाई चैंन भनेजस्तै केही धनाढ्यहरुलाई पोस्ने गरी मापदण्ड र नियमबिपरित सडक डिभिजन भरतपुरले अनियमितता गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको डिभिजन सडक कार्यालय, भरतपुरको समन्वयमा निर्माण सम्पन्न उक्त सडक निमार्ण सम्पन्न भै भरतपुर महानगरलाई हस्तान्तरण गर्ने कार्य समेत भैसकेको भएपनि सो सडक निर्माणक्रमबाटै बिभिन्न अनियमितता र लापरबाहीहरु सतहमा आएका थिए । जो अहिले खुलमखुल्ला रुपमै अनियमितता सडकमै छरपष्ट पोखिएको खुल्ला आँखाले देख्न सकिन्छ ।
पुर्बपश्चिम राजमार्गको सानो हिस्साको रुपमा रहेको यो सडक २८ महिनाभित्र काम सक्ने गरी २०७७ असोज २६ मा ठेक्का सम्झौता भएको थियो । तर, पटक पटक म्याद थप र नाली र सडकमा कमसल काम गर्दै सडक विस्तार २०८१ पुसमा सम्पन्न भएको हो । निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन प्रालिले सम्झौता अनुसार २०७९ माघमा सडक विस्तारको काम सकिनुपर्ने थियो ।
एक अर्ब १२ करोड रूपैयाँमा काम सक्ने गरी सडक विस्तारको जिम्मा इन्डो सगुन जेभीले पाएको हो । निर्माणका क्रममा लागत बढेर एक अर्ब ७६ करोड रूपैयाँ पुगेको थियो ।
सडक विस्तारपछि भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । सडकको दायाँ–बायाँ ११.५÷११.५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन छ, जहाँ दुबो र बिरूवा लगाइ हरियाली समेत छाईसकेको छ ।
एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ छ मिटरसम्मको सर्भिसलेन रहेको छ। सर्भिसलेन बाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ रहेको छ ।
एक्सप्रेस लेन लामो दूरीका सवारीसाधन र सर्भिस लेन छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि निर्माण गरिएको जनाईएको छ ।
कम्जोरी र लापरवाही के कहाँ कसरी ?
एकातिर हाईवेको बिच बिचमा केही ब्यापारीहरुको स्वार्थ अनुकुल क्रस गर्दा एकातिर दुर्घटनाको जोखिम बढाएको छ भने अर्कोतिर डिजाईन बिपरित देखिन्छ ।
गोन्द्राङ्गदेखि पुलचोकसम्मको सडक अन्र्तगत भाटभटेनी नजिक, चितवन मेडिकल कलेज सहित आदा दर्जन भन्दा बढी स्थानमा केही ब्यापारीहरुको प्रभाव र दबाबमा परी पुरा सडक क्रस गरेको देखिन्छ ।
त्यस्तै कतै मेन लेनबाट सर्भिस लेनमा जाने निकास समेत नदिएको भन्दै केही ब्यापारीबाट बिरोध भएको देखिन्छ ।
पुलचोकमा गाईजात्रा : सानालाई ऐन ठूलालाई चैंन, के यही हो निती सरकारी ?
६ लेन सडकको पुलचोकमा उत्तरतर्फ सर्भिस लेन र फुटपाथ केही मात्रमा देखिन्छ तर दक्षिणतर्फ सामने रहेको कैलास पेट्रोल पम्पलाई फाईदा हुनेगरी न्युरोड छिर्ने चोकबाट वडा प्रहरी कार्यालय छिर्ने चोक हँुदै नारायणी पुलतर्फ जानेतर्फ सर्भिस लेन र फुटपाथ दुबै गायब गराईएको छ ।
यो सरासरी गलत देखिन्छ । यो बाटो नारायणी पुलतिर आउने पैदल यात्रीहरुको फुटपाथलाई नै गायब गराई शक्तिशालीहरुलाई खुसी पार्न को कस्ले के के फाईदा लिए ? त्यसको जवाफ दिनुपर्दछ । हैन भने आफुलाई पायक र अनुकुल हुनेगरी जो जस्ले मेनलेन बाटो वा सर्भिस लेनबाट आफुखुसी गरे भैहाल्यो नि?
होइन भने के यो देशमा सानालाई ऐन ठूलालाई चैंनको निती हो ? के यही हो निती सरकारी ? आम जनताले प्रश्न गरिरहेका छन् हाईवेलाई गाईजात्रे सडक नबनाउ । नियामक निकायहरुले यस बिषयमा के गर्छन हामी निरन्तर खबरदारी गर्ने नै छौं ।
यसैंबिच सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेलाई यस बिषयमा बुझ्नलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।