कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ/नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस दैलेखका पूर्वसभापति रवीन्द्रराज श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी हिजो निधन हुनुभएका श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । सभापति देउवाले नेपाली कांग्रेस दैलेखका पूर्वसभापति श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको बताउनुभयो । उहाँले स्वर्गीय श्रेष्ठले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने बताउनुभयो ।

सभापति देउवाले स्व श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । विसं २००५ पुस ८ गते जन्मनुभएका स्व श्रेष्ठ प्रतिबन्धित कालमा नेपाली कांग्रेस दैलेखका सचिव र २०४८ देखि २०५१ सम्म जिल्ला सभापति हुनुभएको थियो । स्व श्रेष्ठले पार्टीका विभिन्न पदमा रहेर पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।

स्व श्रेष्ठ त्रिभुवन माध्यमिक विद्यालय दैलेखको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, नेपाल परिवार नियोजन सङ्घ दैलेखको सभापति र नेपाल सरकारको वन पैदावार विकास समितिको महाप्रबन्धक जस्ता विभिन्न पदमा रहेर सामाजिक कार्यमा समेत संलग्न हुनुुहुन्थ्यो । उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसले जनाएको छ । रासस