प्राप्त उपलब्धि रक्षा गर्नु पहिलो कामः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

दोधारा चाँदनी,(कञ्चनपुर)/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षा गर्नु पहिलो काम भएको बताउनुभएको छ ।

महेन्द्रनगरमा आज नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरको उद्घाटन समारोहमा उहाँले वीर सहिदले अहिलेसम्मको सङ्घर्षबाट प्राप्त गरेका उपलब्धिको रक्षा गर्नु पहिलो काम भएको बताउनुभएको हो ।

विसं २००६ मा कम्युनिष्ट नेता नरबहादुर कर्माचार्य र पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएपछि नेपालको क्रान्तिकारी आन्दोलनले फड्को मारेको उहाँले बताउनुभयो । “नेपालमा ठूलो युगान्तकारी राजनितिक परिवर्तन भयो जुन परिवर्तन आज सङ्घीय लोकतान्त्रीक गणतन्त्र र समाजवाद उन्मुख लोकतन्त्र हो”, उहाँले भन्नुभयो, “नरबहादुर कर्माचार्यहरुले मुख्य नेतृत्व गरेर नेपाली जनताले प्राप्त गरेको जुन उपलब्धि छ, यसको रक्षा गर्नु पहिलो काम हो ।”

उहाँले लोकतान्त्रिक परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक रुपान्तरण र विकास तीव्र बनाउनुपर्ने धारणा राख्नुभयो । “अहिलेको नेपाली राजनिति अत्यन्त भ्रष्टीकृत छ नेपाली कम्युनिष्ट आन्दोलनमा पनि भ्रष्टीकरण बढेको छ त्यसको असर हाम्रै पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पनि छ”, उहाँले भन्नुभयो, “हामीले नरबहादुर कर्माचार्य जस्तै निष्ठावान्, सिद्धान्तनिष्ठ, सरल र क्रान्तिमा निरन्तर लागिरहने जीवनचर्या हामीले पनि सिक्नुपर्ने हुन्छ ।”

उहाँले अहिलेको भ्रष्टीकरण राजनीतिबाट नेपाली कम्युनिष्ट आन्दोलन बचाउन नरबहादुर कर्माचार्यको जीवन चरित्रबाट सिक्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीलाई एकताबद्ध गरेर जानुपर्ने बताउनुभयो । रासस