गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनाभन्दा बढी पक्राउ
काठमाडौं/काठमाडौं प्रहरीको विशेष अपरेसनमा ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जना भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा चर्चित गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन पनि छन्।
प्रहरीका अनुसार चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन्। उनी यसअघि पनि २०७४ साल वैशाख २६ गते महाराजगन्जबाटै पक्राउ परेका थिए तर पछि रिहा भएका थिए।
गुण्डागर्दी नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा बिहीबार रातभर अपरेसन सञ्चालन गरिएको थियो। उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङका अनुसार, ठमेल र महाराजगन्ज क्षेत्रका रेस्टुरेन्ट तथा रात्रिकालीन क्लबहरूमा सक्रिय आपराधिक समूहहरूलाई नियन्त्रणमा लिने लक्ष्यसहित अपरेसन सञ्चालन गरिएको हो।
“अवाञ्छित गतिविधि गर्ने केहीलाई नियन्त्रणमा लिएका छौं, यकिन संख्याबारे विवरण आउँदैछ,” एआईजी तामाङले जानकारी दिए।
यसै क्रममा ठमेलस्थित एक दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइलाई पनि बिहान ३ बजेतिर पक्राउ गरिएको थियो। उनी नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेका थिए। सानुभाइ नुवाकोटको ककनी गाउँपालिका–५ स्थायी घर भई हाल टोखा, सूर्यदर्शन हाइटमा बस्दै आएका थिए। उनी प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ उर्फ ‘घैँटे’का सहयोगी हुन्।
प्रहरीका अनुसार, रेस्टुरेन्ट तथा क्लबहरूमा बसेर झगडा गर्ने, डरधम्की देखाई हप्ता असुल्ने, र अवैध गतिविधिमा संलग्न भएको गुनासोका आधारमा गुण्डागर्दीविरुद्ध विशेष अपरेसन चलाइएको हो। पक्राउ परेकाहरूको स्क्रिनिङ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता आपराधिक गतिविधिमाथि शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट सन्देश दिएको छ।