डेढ अर्ब रुपैयाँ बराबरको खोप अलपत्र, नष्ट गर्न २५ लाख रुपैयाँ अभाव

काठमाडौँ/सरकारले कोभिड–१९ विरुद्धको ‘सिनोभ्याक’ खोप म्याद गुज्रिएको डेढ वर्ष बितिसक्दा पनि विसर्जन गर्न सकेको छैन । चीन सरकारबाट अनुदानमा प्राप्त गरेको सिनोभ्याकको ४० लाख डोज खोप समयमै प्रयोग गर्न नसक्दा म्याद गुज्रिएको हो ।

२०७८ चैत १२ गते चीन सरकारले उपलब्ध गराएको सो खोप २०८० पुसको दोस्रो सातामा म्याद गुज्रिएको परिवार कल्याण महाशाखा अन्तर्गत रहेको खोप शाखाले जनाएको छ ।

म्याद सकिएको खोप निजी कम्पनीको मेसिन (इन्सिनेरेटर) मा राखेर नष्ट गर्ने तयारी गरिएको थियो । महाशाखाले सो कम्पनीसँग प्रतिकेजी ७० रुपैयाँमा नष्ट गर्ने सहमति गरे पनि त्यति रकममा विसर्जन गर्न नसक्ने भनेर कम्पनी पछि हटेको व्यवस्थापन महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख दयाकृष्ण पन्तले बताए ।

उक्त खोपको लेखा परीक्षण तथा जिन्सी निरीक्षणसमेत भइसकेको छ । स्वास्थ्य विभागका अनुसार कोभिड–१९ खोप र अन्य नियमित गरी ४९ लाख डोज म्याद गुज्रिएको खोप नष्ट गर्नुपर्नेछ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप २६ हजार किलोग्राम छ भने अन्य खोप ३० हजार किलोग्राम नष्ट गर्नुपर्ने छ ।

यसअघि पनि म्याद सकिएको खोप नष्ट गर्न सरकारले इँटाभट्टा वा हेटौँडा सिमेन्ट उद्योगमा लैजाने कि भनेर छलफल अघि बढाएको थियो । तर, सिमेन्ट उद्योगले खोप नष्ट गर्न नसकिने जबाफ दिएको थियो ।

नष्ट गर्ने भनिएको कोभिड–१९ विरुद्धको सिनोभ्याक खोप एक अर्ब ५६ करोड ६८ लाख रुपैयाँ मूल्यको रहेको महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

विगतमा पनि यस्तै प्रकारका भ्याक्सिन नष्ट गर्न सिमेन्ट फ्याक्ट्री प्रयोग गरिएको खोप विज्ञ डा.उप्रेतीले सुनाए ।
स्वास्थ्य जोखिम बढ्यो
खोप विज्ञ श्यामराज उप्रेतीले सरकारले समयमै उचित निर्णय लिन नसके भविष्यमा थप आर्थिक र वातावरणीय भार थप्ने जिकिर गरे ।

यसरी लामो समयसम्म खोप भण्डारण गर्दा कुनै कारणले खोपका सिसी फुटेमा त्यसले वातावरण तथा जनस्वास्थ्यमा समेत नकारात्मक असर पार्न सक्ने उनको भनाइ छ ।

उनले म्याद गुज्रिएको सिनोभ्याक खोपले भविष्यमा खोप वा औषधि अनुदानमा प्राप्त गर्दा त्यसको व्यवस्थापन र नष्ट गर्ने प्रक्रियाबारे पहिला नै सम्झौता गर्नुपर्ने पाठ सिकाएको प्रस्ट पारे ।
विगतमा पनि यस्तै प्रकारका भ्याक्सिन नष्ट गर्न सिमेन्ट फ्याक्ट्री प्रयोग गरिएको खोप विज्ञ डा.उप्रेतीले सुनाए । ‘साना (इन्सिनेरेटर) जलाउने मेसिनले यति ठुलो परिमाणको खोप सुरक्षित रूपमा नष्ट गर्न सक्दैन,’ उनले भने, ‘यसका लागि सिमेन्ट फ्याक्ट्रीमा जस्तो अति उच्च तापक्रम चाहिने हुँदा विगतमा सोही प्रक्रिया अपनाइएर नष्ट गरिएको हो ।’

डा. उप्रेतीका अनुसार खोप उपलब्ध गराउने देश वा कम्पनीले नै म्याद गुज्रिएपछि फिर्ता लैजाने प्रावधान हुन्छ । यसरी अनुदानमा आएको खोपको हकमा यस्तो सम्झौता नभएमा फिर्ता लैजाने सम्भावना कम हुन्छ ।

उनले म्याद गुज्रिएको सिनोभ्याक खोपले भविष्यमा खोप वा औषधि अनुदानमा प्राप्त गर्दा त्यसको व्यवस्थापन र नष्ट गर्ने प्रक्रियाबारे पहिला नै सम्झौता गर्नुपर्ने पाठ सिकाएको प्रस्ट पारे ।

बजेट अभावले रोकियो
स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर पवनजंग रायमाझीले म्याद गुज्रिएका कोभिड–१९ विरुद्धको सिनोभ्याक्स खोप नष्ट गर्ने प्रक्रिया बजेट अभावका कारण रोकिएको बताए ।

उनका अनुसार खोपलाई सुरक्षित रूपमा नष्ट गर्न करिब २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिए पनि स्वास्थ्य सेवा विभागसँग हाल ४–५ लाख रुपैयाँ मात्रै बजेट उपलब्ध हुँदा प्रक्रिया अघि बढ्न नसकेको हो ।

‘स्रोत जुटाउने प्रयास गरिरहेका छौँ मन्त्रालय र अन्तर्राष्ट्रिय साझेदारहरूबाट सहयोगको अपेक्षा गरिएको छ,’ उनले भने, ‘स्रोत जुट्ने बित्तिकै नष्ट गर्ने काम सुरु गर्छौँ ।’
‘खोपलाई सुरक्षित रूपमा नष्ट गर्न उच्च तापक्रममा जलाउने प्रविधिको प्रयोग गरिन्छ । त्यसका लागि कम्पनीसमेत पहिचान गरिएका र आवश्यक पर्ने कागजी प्रक्रिया तयार गरिसकिएको छ,’ उनले भने ।

डा. रायमाझीले खोप नष्ट गर्न आवश्यक बजेटबारे विभागले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको बताए । यस विषयमा मन्त्रालयले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ ।

‘स्रोत जुटाउने प्रयास गरिरहेका छौँ मन्त्रालय र अन्तर्राष्ट्रिय साझेदारहरूबाट सहयोगको अपेक्षा गरिएको छ,’ उनले भने, ‘स्रोत जुट्ने बित्तिकै नष्ट गर्ने काम सुरु गर्छौँ ।’

चीनले लगेन फिर्ता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले खोप फिर्ता लिनका लागि नेपालले गरेको कूटनीतिक पहललाई चीनले अस्वीकार गरेको बताए ।

खरिद गरेको खोप म्याद गुज्रिएपछि फिर्ता गर्न सकिने भए पनि अनुदानमा दिएको खोप फिर्ता लिने अभ्यास नरहेको भन्दै चीनले फिर्ता लिन नमानेको उनको भनाइ छ ।