स्पेनलाई हराउँदै इंग्ल्यान्ड लगातार दोस्रोपटक च्याम्पियन
काठमाडौं/फाइनलमा विश्वकप विजेतासमेत रहेको स्पेनविरुद्ध पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इंग्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ । आइतबार स्वीट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो । यता, इंग्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले गोल गरे । इंग्ल्यान्डकी एलेक्स ग्रिनवुड, निह चाल्र्स र क्लोइ केलीले गोल गरिन् । लिह विलियम्सन र बेथ मेडको प्रहार भने स्पेनकी गोलकिपरले विफल बनाएकी थिइन् ।
यता, स्पेनकी प्याट्रिसिया गुइराओले मात्रै गोल गरिन् । मारिओना काल्डेन्टी र आइतेना बोनमतीको प्रहारलाई इंग्लिस गोलकिपरले विफल बनाइन् । साल्मा पारउइलोको प्रहार भने बारमा लागेर बाहिरियो । त्यसअघि मारियओना काल्डेन्टीले खेलको २५औँ मिनेटमा हेडर गोल गर्दै स्पेनलाई अग्रतामा राखेकी थिइन् । तर, एलेसिया रुसोले ५७औँ मिनेटमा गोल गरेपछि साविक विजेता इंग्ल्यान्ड खेलमा फर्किएको थियो ।
प्रतियोगितामा स्पेनले जर्मनीलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । इंग्ल्यान्डले भने इटालीविरुद्ध २–१ को जित निकालेको थियो ।