‘फ्रेन्च फ्राइज’ को सुपरपावर बन्ने भारतको यात्रा

गुजरात/जितेश पटेल गुजरातको एक किसान परिवारका हुन्। उनको परिवारले परम्परागत रूपमा कपास खेती गर्थ्यो, तर त्यसबाट हुने आम्दानी निकै कम थियो।

सन् २००१ र २००२ मा गुजरातमा परेको खडेरीले अवस्था झनै बिगारिदियो, जसपछि उनको परिवारले केही नयाँ गर्नुपर्ने महसुस गर्‍यो। जितेश पटेल भन्छन्, ‘हामीले कम पानी लाग्ने बाली लगाउनुपर्ने महसुस गर्‍यौँ।’

त्यसपछि उनीहरूले आलु खेती गर्न थाले। सुरुमा खाने आलु लगाए, तर त्यसबाट कपासबाट हुने जति आम्दानी पनि भएन। सन् २००७ मा गुजरातमा फ्रेन्च फ्राइज बनाउने कम्पनीहरू आउन थालेपछि जितेशले खाद्य उद्योगमा प्रयोग हुने आलुका प्रजातिहरू लगाउन थाले। यो एउटा सफल रणनीति साबित भयो।

उनी भन्छन्, ‘त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेको छैन।’

भारत अहिले विश्वको दोस्रो ठुलो आलु उत्पादक राष्ट्र बनेको छ। खासगरी फ्रेन्च फ्राइजको उत्पादनमा भारतको वृद्धि तीव्र छ।

गुजरात फ्रेन्च फ्राइज उत्पादनको राजधानी बनेको छ। त्यहाँ क्यानडाको प्रसिद्ध कम्पनी म्याककेन फूड्स र भारतकै सबैभन्दा ठुलो फ्रेन्च फ्राइज उत्पादक कम्पनी हाइफन फूड्सलगायत ठुला चिप्स कारखानाहरू छन्। अहिले गुजरातबाट बनेका फ्राइजहरू विश्वभर निर्यात भइरहेका छन्।

बजार विस्तार

वर्षौँदेखि आलु बजारलाई नियालिरहेका देवेन्द्र केका अनुसार आलुको सबैभन्दा महत्त्वपूर्ण बजार एसियामा छ, जसमा फिलिपिन्स, थाइल्यान्ड र इन्डोनेसिया पर्छन्। यस वर्षको फेब्रुअरीमा, भारतको फ्रोजन फ्राइजको मासिक निर्यात पहिलोपटक २०,००० टनको आँकडा पार गर्‍यो। फेब्रुअरीसम्म कुल निर्यात १,८१,७७३ टन पुगेको छ, जुन गत वर्षको तुलनामा ४५% बढी हो।

यस सफलताको पछाडि फ्रोजन फ्राइजको कम मूल्य पनि एउटा कारण हो। देवेन्द्र भन्छन्, ‘भारतीय फ्रोजन फ्राइज विश्व बजारमा आफ्नो कम मूल्यका लागि परिचित छन्।’ सन् २०२४ मा भारतीय फ्राइजको औसत मूल्य चीनको भन्दा पनि सस्तो भएको उनको भनाइ छ।

भारतमा फ्रेन्च फ्राइज उत्पादकहरूको लागि यो कमाइको समय हो। हाइफन फूड्सका सीईओ हरेश करमचन्दानी भन्छन्, ‘भारत आफ्नो प्रचुर कृषि उत्पादन, कम लागतको उत्पादन, र गुणस्तरमा बढ्दो ध्यानका कारण एक महत्त्वपूर्ण निर्यातकको रूपमा उदाएको छ।’ हाइफनको गुजरातमा आलु प्रशोधनका सातवटा प्लान्ट छन् र कम्पनीले सन् २०२६ सम्ममा थप दुईवटा प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।

खेतीमा नयाँ प्रयोग

बढ्दो मागलाई पूरा गर्न किसानहरू दशकौँदेखि मेहनत गरिरहेका छन्। जितेश पटेलले विश्वविद्यालयमा कृषि विज्ञान पढेपछि खेतीमा विज्ञानको प्रयोग गरिरहेका छन्। उनी आफ्ना साथीभाइ र परिवारसँग मिलेर आलुको उत्पादन बढाउन निरन्तर प्रयास गरिरहेका छन्।

उनी भन्छन्, ‘हामी शिक्षित किसान हौँ, त्यसैले हामी नयाँ-नयाँ प्रविधिहरू प्रयोग गरिरहन्छौँ।’ सन् २००३ मा जितेशले आफ्नो खेतमा सिँचाइका लागि थोपा प्रणाली (ड्रीप इरिगेसन) अपनाए। उनी माटोको उर्वराशक्ति कायम राख्न गर्मीमा खेतलाई आराम दिन्छन् र गाईको गोबरलाई मलको रूपमा प्रयोग गर्छन्।

अब उनको ध्यान आफ्नो माटो र मौसमका लागि उपयुक्त आलुको बिरुवा खोज्नुमा छ। उनी भन्छन्, ‘हामी बीउहरूसँग प्रयोग गरिरहेका छौँ र चाँडै नै हामीसँग एउटा नयाँ प्रजाति हुनेछ।’

प्रमुख चुनौतीहरू

आधुनिक कोल्ड स्टोरेज सुविधाहरू बढ्दै गए पनि अहिले धेरै ठाउँमा यस्ता सुविधाहरूको आवश्यकता छ। इन्डो एग्री फूड्सका सह-संस्थापक विजय कुमार नायक भन्छन्, ‘भारतका केवल १०-१५% कोल्ड स्टोरेज सुविधाहरू मात्र फ्रोजन फुड भण्डारणका लागि उपयुक्त छन्। यी सुविधाहरू देशमा असमान रूपमा वितरित छन्, जसले गर्दा ग्रामीण र दुर्गम क्षेत्रहरू यस्ता सुविधाबाट वञ्चित छन्।’

कोल्ड स्टोरेजपछि अर्को ठुलो समस्या यातायातको हो। नायक भन्छन्, ‘भारतमा रेफ्रिजेरेटेड ट्रक र कन्टेनरको ठुलो अभाव छ, जसले गर्दा तापक्रम नियन्त्रित यातायात निकै कठिन हुन्छ। उचित तापक्रमको अभावमा सामानहरू बिग्रने सम्भावना रहन्छ।’

फ्रोजन फुड उद्योगका लागि भरपर्दो बिजुली आपूर्ति पनि आवश्यक छ। ‘देशका धेरै भागमा बारम्बार बिजुली जाने समस्याले खाद्य पदार्थ बिग्रिने सम्भावना बढाउँछ, जसले भरपर्दो फ्रोजन फुड आपूर्ति शृङ्खला चलाउन गाह्रो हुन्छ,’ उनी बताउँछन्।

नायकका अनुसार, ‘भारतीय कम्पनीहरूले चीन, थाइल्यान्ड र ब्राजिलजस्ता देशहरूबाट कडा प्रतिस्पर्धाको सामना गर्नुपरेको छ, जहाँ उन्नत लजिस्टिक र राम्रो पूर्वाधार छ।’

यद्यपि, गुजरातमा आफ्नो फार्ममा जितेश पटेल चिप्स बनाउने कम्पनीहरू आफ्नो ठाउँमा आइपुगेकोमा खुसी छन्। उनी भन्छन्, ‘गुजरात फूड प्रोसेसिङको केन्द्र बनेको छ। मसहित धेरैजसो किसान ठेक्कामा खेती गर्न थालेका छौँ। यसले हामीलाई सुरक्षा र उत्पादनबाट राम्रो आम्दानी पनि दिन्छ।’

बीबीसी