सुनचाँदी व्यवसायीहरूको मर्म अनुसार सरकारसंग सहमति हुन सकेन: सांसद बराली
चितवन/सुनचाँदी व्यवसायीहरूको मर्म अनुसार सरकारसंग महासंघहरू र संघर्ष समितिको सहमति हुन नसकेको माओवादी केन्द्र निकट प्रतिनिधि सभा सदस्य माननीय रणेन्द्र बरालीले बताउनुभयो।
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आज शुक्रबार उद्योग वाणिज्य संघ चितवनको बैठक हलमा आयोजना गरेको छलफल तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनु भयो।
उहाँले सुनचाँदी व्यवसायीहरूले नगदमा सहमति चाहेको बेलामा महासंघहरू र संघर्ष समितिले उधारोमा सहमति गर्नाले यतिबेला सुनचाँदी वृत्तमा समस्या सिर्जना भइरहेको बताउनुभयो ।
उहाँले राज्यको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु-याउने सुनचाँदी व्यवसायलाई सकाउने खेलमा सरकार रहेको आरोप लगाउनुभयो।
त्यस्तै, बिचौलियाहरूको चलखेलका कारण सुनचाँदी व्यवसायीहरू यतिबेला समस्यामा पर्न गएको
बागमति प्रदेश सभा सदस्य माननीय इश्वर सापकोटाले बताउनुभयो। उहाँले यो कर नीति व्यवसायप्रतिको आक्रमण रहेको बताउनुभयो।
सुनचाँदी व्यवसायीहरूको जायज मागहरु आफूले पनि प्रदेश सभामा प्राथमिकतासाथ उठाउने र सम्पूर्ण सरोकारवाला, व्यवसायी र उद्योगीहरूलाई सुनचाँदी व्यवसायीका जायज मागहरु सशक्त रूपमा उठाउन उहाँले आग्रह गर्नुभयो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य शंकर इशु पोख्रेल (जुलेन) ले सुन नेपालीको धर्म, संस्कृति र जीवनशैलीसँग जोडिएको वस्तु रहेको बताउनुभयो । सुनलाई विलासी वस्तुको रूपमा हेर्नु अनुचित रहेको उहाँले जनाउनु भयो ।
सांस्कृतिक अनुष्ठान, चाडपर्व र शुभ कार्यहरूमा यसको आवश्यकता पर्ने हुँदा यसलाई लगानी योग्य र अत्यावश्यक वस्तुको रूपमा हेर्नुपर्ने उहाँले बताउनुभयो ।
भ्याट र विलासिता करले व्यवसायी, कालिगड, उपभोक्ता र सरकार सबैलाई असर पर्ने भएकाले बजेटमार्फत ल्याइएका नयाँ प्रावधान अविलम्ब खारेज गर्न माग गर्दै सरकारलाई संवेदनशील बन्न उहाँले अपिल गर्नुभयो।
त्यस्तै, यतिबेला नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायीहरूको समस्याहरू समाधानका निमित्त लागि परिरहेको र सरकार संग छलफल जारी रहेकोले, महासंघसंग परामर्श लिँदै जिल्ला संघले आगामी कदमहरू चाल्नु पर्ने उहाँले बताउनुभयो।
सुनचाँदी व्यवसायीहरू यतिबेला समस्यामा रहेका छन्, आन्दोलित भएका छन् तर सम्पूर्ण वस्तुगत संघहरूको छाता संगठन उद्योग वाणिज्य संघ चितवनले सुनचाँदी व्यवसायीहरूको कुनै पनि मर्म नबुझेकोमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष तथा सल्लाहकार टेकबहादुर विश्वकर्माले दु:ख व्यक्त गर्नुभयो ।
उवासंघ चितवनमा हामी सयौंको संख्यामा सुनचाँदी व्यवसायीहरू आवद्धता रहेको छौं, तर हाम्रो समस्यामा उवासंघ चितवन मौन रहनु नै उवासंघको गरिमा माथि प्रश्न चिन्ह खडा भएको उहाँले बताउनुभयो। उहाँले उवासंघ चितवनको यस रवैयाको खेद प्रकट गर्नुभयो।
राज्यलाई अत्याधिक कर बुझाउने सुनचाँदी व्यवसायीप्रति सरकारले पूर्वाग्रह राख्नु दु:खद् करा रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमति प्रदेश उपाध्यक्ष यम कुमार ल्वागुन, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष डा.यमबहादुर वि.के, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका सल्लाहकारहरू ज्ञानेन्द्रमान शाक्य, चित्रबहादुर विश्वकर्मा खाती, कमल रामदामले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो भने माननीय सांसदद्वय बराली र सापकोटालाई संघको तर्फबाट ज्ञापन पत्र कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण संघका महासचिव गोपाल बहादुर वि.क थापाले गर्नुभएको थियो।