भोलि चितवनमा सुनचाँदी पसलहरु बन्द हुने, व्यवसायिक भेलाको आयोजना गरिँदै

चितवन/अव्यवहारिक करको विरोधमा भोलि चितवन जिल्लाभरका सुनचाँदी पसलहरु बन्द हुने भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको आह्वानमा भोलि जिल्लाभर सुनचाँदी पसलहरू बन्द हुन गइरहेको हो ।

आज सम्पन्न भएको सल्लाहकार सहितको बैठकको निर्णय अनुसार भोलि जिल्लाभर सुनचाँदी पसलहरू बन्द गरेर व्यवसायिक भेलाको आयोजना गर्न गइरहेको संघका अध्यक्ष हेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो।

आन्दोलनरत सुनचाँदी व्यवसायी र सरकारबीच असार २६ गते ६ बुँदे सहमति भई कार्यदल गठन गरी आन्दोलन स्थगन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो- हामीले आन्दोलनलाई स्थगनमात्र गरेका हौं, पूर्ण रूपमा फिर्ता गरेका छैनौं।

तर पछिल्लो समय आन्तरिक राजश्व कार्यालयले विभिन्न जिल्ला तथा नगर संघहरुलाई परिपत्र गर्दै विलासिता शुल्क सहितको विल बिजक तयार गरी सहयोग गर्न अनुरोध भएपश्चात् यतिबेला हामी सबै सुनचाँदी व्यवसायीमा तरंग छाएको उहाँले जानकारी दिनुभयो ।

आन्तरिक राजश्व विभागको समेत सहभागीता रहेको कार्यदलले काम गरिरहेको अवस्थामा सोही अन्तर्गतका जिल्ला कार्यालयहरुले व्यवसायीहरूलाई आतंकित गराउँदै विल बिजकको नमूना पठाउनु नै व्यवसायीहरूलाई विस्थापित गराउने खेल भइरहेको उहाँले आरोप लगाउनुभयो।

यसअघि चितवनका सुनचाँदी व्यवसायीहरू सुन र सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरहरूमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा असार १३ गते देखि असार २६ गते सम्म पसलहरु बन्द गरि आन्दोलनमा रहेका थिए ।