दाउन्नेको खुर्सानी खोलामा सडक भासियो, नारायणघाट-बुटवल सडक पूर्ण रुपमा बन्द।
असार२५/दुम्किवास/पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक पूर्णरूपले बन्द भएको छ। पुर्बी नवलपरासीको दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिदा नारायणघाट-बुटवल सडक अन्तरगत बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको हो ।
रातिदेखि परेको वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा लु१क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा रातिदेखि नै यातायात पूर्णरुपमा बन्द भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले दिएको जानकारी अनुसार सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासतर्फ रोकिएका छन् । तत्कालै सडक खुल्ने अवस्था नरहेपनी सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ।
सडक खुलाउने प्रयास भएपनि अविरल वर्षाका कारण केही समय लाग्ने डीएसपी पन्तले बताए । यस अधिपनि खुर्सानी खोलामा पटक-पटक सडक भासिदा सडक अवरुद्ध हुँदै आएको थियो ।
नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहेपनि दाउन्ने खण्डको १४ किलोमिटर सडकको काम ढिला हुँदा बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।