२२ औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव सम्पन्न
Surya Baral
|
प्रकासित मिति : १६ असार २०८२, सोमबार ०८:०६

चितवन/चितवनमा २२ औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाइएको छ । धान दिवसको अवसरमा आइतबार भरतपुर २४ मा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामूहिक रुपमा धान रोप्नुभयो । भरतपुर महानगरपालिका, कृषि विकास कार्यालय चितवन र केरुङ्का ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको संयुक्त आयोजनामा यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर २४ मा धान रोप्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘विगतमा भरतपुर २४ सुख्खाग्रस्त थियो, उहाँले भन्नुभयो, ‘सिँचाइको प्रबन्धले असार १५ का दिन धान रोप्न पाउँदा निकै खुसी छु । अहिले यो क्षेत्र भरतपुरको कृषि उत्पादनको केन्द्र बनेको छ । १२ महिना खेती हुँदा कृषकले राम्रो आम्दानी गर्नुभएको छ ।’ प्रमुख दाहालले कृषि अर्थतन्त्रको मुख्य मेरुदण्ड भएकाले उत्पादन वृद्धि गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेपालको कुल ग्राहस्थ उत्पादनको २५ प्रतिशत कृषि र त्यसमा १५ प्रतिशत धान बालीको रहेकाले अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभयो । उहाँले लागत घटाई उत्पादन वृद्धि गर्ने नीति अनुसार भरतपुर महानगरले आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिई अनुदानमा उपकरण वितरण गर्दै आएको बताउनुभयो । भरतपुरमा पछिल्लो समय सिँचाइको व्यवस्था भएसँगै कृषि उत्पादनमा वृद्धि हुँदै गएको उहाँको भनाई थियो । भरतपुरमा रहेका ठुलो क्षेत्रफल कृषियोग्य जमिन एकै व्यक्तिले बाँझो राख्दा उत्पादनलाई वृद्धि हुन नसकेको तर्क गर्नुभयो । महानगरमा सिँचाइको प्रबन्धले विस्तारै कृषि उत्पादनमा वृद्धि हुँदै गएपनि क्रमशः अझै वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले हरेक वर्ष कृषकहरूले खेती लगाउने बेलामा रासायनिक मलको अभाव खेप्नुपरेको भन्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । केही वर्ष अघि नेपालले कृषि उत्पादनहरू निर्यात गर्ने देशमा पर्ने गरेको भए पनि अहिले श्रम विदेश निर्यात गरेर खाद्यान्नहरू आयात गर्नुपर्ने अवस्थामा रहेको अधिकारीले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले मन्तव्य राख्नुभएको थियो । त्यस्तै, धान दिवसमा अवसरमा हिले दौड, डोरी तान्ने प्रतियोगिता भएको थियो ।