लक्की फिल्मी अवार्डमा ‘उपहार’ लाई चार विधामा अवार्ड

चितवन/मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा चलचित्र उपहारले चार वटा विधामा अवार्ड हात पारेको छ । लक्की मिडिया हाउसले सार्वजनिक गरेको विभिन्न ११ वटा विधामध्ये चलचित्र उपहारले उत्कृष्ट चलचित्र, उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट सङ्गीतकारतर्फ अवार्ड प्राप्त गरेको हो ।

आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ का अनुसार चलचित्र उपहारले उत्कृष्ट चलचित्र सहित चार विधामा अवार्ड प्राप्त गरेको हो । चलचित्र उपहारले उत्कृष्ट गायिका, उत्कृष्ट निर्देशक र उत्कृष्ट सङ्गीतकार विधामासमेत अवार्ड प्राप्त गरेको कार्कीले बताउनुभयो ।

उत्कृष्ट गायिकातर्फ चलचित्र उपहारको ‘वा वा वा..’ बोलको गीतका लागि एलिना चौहान, उत्कृष्ट निर्देशकतर्फ चलचित्र उपहारकै निर्देशक ज्ञानेन्द्र देउजा र उत्कृष्ट सङ्गीतकारतर्फ ‘कहिल बार बिर्सन्छु’ बोलेको गीतका लागि अर्जुन पोखरेलले अवार्ड प्राप्त गर्नु भएको कार्कीको भनाइ छ ।

त्यस्तै उत्कृष्ट छायाँकारतर्फ चलचित्र ऐँचो पैँचोबाट पुरुषोत्तम प्रधान तथा उत्कृष्ट नव निर्देशकतर्फ चलचित्र ऐँचो पैँचोकी निर्देशक कृषा चौलागाईंलाई अवार्ड प्रदान गरिएको छ । लक्की फिल्मी अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड नायक प्रदीप खड्का चलचित्र पुजार सार्कीका लागि गरिएको कार्कीले बताउनुभयो । उत्कृष्ट सम्पादकको अवार्डसमेत पुजार सार्कीकै सम्पादक भरत रेग्मीलाई प्रदान गरिएको कार्कीको भनाइ छ ।

त्यसैगरी उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र बोक्सीको घरका लागि केकी अधिकारी एवम् उत्कृष्ट गायकको अवार्ड चलचित्र दिमाग खराबमा ‘माया’ बोलको गीतका लागि सुगम पोखरेललाई प्रदान गरिएको छ ।

यसैबीच, लक्की मिडिया हाउसले समाजमा विभिन्न तरिकाले योगदान पुर्याएका विभिन्न नौ जना व्यक्तिलाई समेत सम्मान गरेको छ । भरतपुरको डल्फिन फनपार्कमा आयोजित कार्यक्रममा पत्रकारिता मार्फत समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दैै पत्रकार आनन्द पोखरेललाई सम्मानित गरिएको उहाँले बताउनु भयो । करिब डेढ दशकदेखि पत्रकारिता कर्ममा रहनु भएका पोखरेल सञ्चारपत्र दैनिकको कार्यकारी सम्पादक एवम् राष्ट्रिय समाचार समिति (रासस) को समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।

त्यस्तै कार्यक्रममा जनप्रतिनिधितर्फ भरतपुर-२२ का वडाध्यक्ष विष्णुराज महतो, सामाजिक अभियान्तातर्फ भरतपुर-८ का पूर्ववडाध्यक्ष नारायण प्रसाद कँडेल, युवा उद्यमीतर्फ डल्फिन फन पार्कका सञ्चालक सुवेदार सन्तलाल गुरुङ, शिक्षातर्फ ओम शान्ति एकेडेमीका प्राचार्य टेकबहादुर श्रेष्ठ, चिकित्सकतर्फ डा.विष्णुप्रसाद सुवेदी, कलाकारतर्फ मौसमी मल्ल एवम् सीता गुरुङ र खेलकुद र शिक्षाबाट समाजमा योगदान पुर्याए वापत सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलाश पौडेल (वाईबी) लाई सम्मानित गरिएको कार्कीले जानकारी दिनुभयो ।

लक्की मिडिया हाउसले चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि चलचित्रको प्रिमियर शो, रेड कार्पेड शो, विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको कार्कीले बताउनुभयो । फिल्मी अवार्डलाई बर्सेनि निरन्तरता दिँदै अगाडि लैजाने कार्कीको भनाइ छ ।

सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानरपालिका उपप्रमुख चित्रसेन अधिकारी, कार्यक्रमकी अध्यक्ष एवम् लक्की मिडिया हाउसकी निर्देशक इन्दिरा कार्की, भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले दोसल्ला ओडाइ सम्मानपत्र प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले राज्यले गर्नुपर्ने काम मिडियाले गरेको भन्दै लक्की मिडिया हाउसको प्रशंसा गर्नुभयो । उहाँले राष्ट्रिय कलाकारले देशको कला र संस्कृतिको संरक्षण गर्दै प्रवद्र्धनमा भूमिका खेलेका भन्दै उनीहरुको उचित संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लक्की मिडिया हाउसकी निर्देशक इन्दिरा कार्कीले नेपालमा मानिस मरेपछि सम्मान गर्ने परम्परा रहेको भन्दै मानिस जीउँदै हुँदा सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । स्रष्टालाई राज्यबाट सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने भन्दै उहाँले कलाकारहरुको प्रतिभा प्रष्फुटन र प्रवद्र्धनमा राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो