चितवनका कन्सल्टेन्सीहरु ठगी र राजस्व लुटपाट धन्धामा !
अनुगमन र नियमनमा कमी हुँदा कन्सल्टेन्सीहरुद्वारा सर्बसाधारण पिडीत, राज्यको करोडौं राजस्व चुहावटको आंशाका ।
चितवन/शैक्षिक परामर्शका लागि भनि बग्रेल्ती खुलेका कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीको काम समेत गर्ने गरेको गुनासो बढेसँगै युवा तथा बिधार्थीहरु ठगिने क्रम बढेको आम गुनासो आईरहेको छ । ‘शैक्षिक परामर्श’ सञ्चालन गर्ने लगायतका अन्य उद्देश्य अनुरुप खोलिएका त्यस्ता केही ‘शैक्षिक परामर्श केन्द्र’ कन्सल्टेन्सीहरुले आफ्नो बिधान, उधेश्य र कम्पनीको मर्म बिपरित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारी आम सर्बसाधारणहरुबाट मोटो रकम असुल गरि ठगी गरिरहेको बारे समय समयमा बिभिन्न सञ्चार माध्यमहरुमा समाचारहरु आईरहेको भएपनि राज्यका अनुगमन तथा नियमन गर्ने निकायहरुको बेवास्ता, अर्कमण्यता र गैंह्रजिम्बेवारिताको कारण पिडीतहरु रोएरै हिडिरहनुपर्ने अनि ठगहरु निर्वाद रुपमा ठगी धन्दा सञ्चालन गरी शानदार एवं रवाफपूर्ण ठाँटवाट देखाईरहेका छन् ।
त्यस्ता ठग कन्सल्टेन्सीहरुले बिधार्थी एवं सबसाधारणसंग रकम कारोबार गर्दा प्रायः नगदमा गर्ने वा संस्थामा कार्यरत कर्मचारीहरु, आफन्त वा नातेदार र टाढाका आफ्ना बिश्वासपात्रहरुका खातामा रकम जम्मा गर्न लगाउने, जम्मा भौंचर र अन्य प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउन बाहिर देखावटी, नक्कली कर्मचारी र शाखा खडा गर्ने तर भित्र दोहोरो एकाउण्ट बनाई बास्तबिक आम्दानी लुकाई राजस्वमा समेत लुटपाट मच्चाई त्यस्ता ठगीमा संलग्न सञ्चालकहरु फरार हुने वा विदेशमै बस्ने र अन्त्यमा रकम बुझ्ने केही मतियार एवं कर्मचारीहरु पक्राउ पर्ने गरेको पनि खुल्नमा आएको छ ।
यस्तै ठगी र लुटपाट धन्दामा सामेल बेष्ट ब्रेन एजुकेशन कन्सल्टेन्सीको ठगी र लुटपाट धन्धाबारे हामीले यस अघि नै पटक पटक समाचार प्रकाशित गरिसकेका छौं । भरतपुर महानगरपालिका वडा न ३ नारायणगढको शहिदचोकमा शाखा कार्यालय राखी लामो समयदेखि बिधार्थीहरुलाई ठग्दै र राज्यको राजस्व समेत लुट्दै आएको बेष्ट ब्रेन एजुकेशन कन्सल्टेन्सीको ठगी धन्धाको बारे गत बर्षको मंसिरमै हामीले खुलासा गरेका थियौं । जसबारे सरोकारवाला निकायले ध्यान दिन नसक्दा ठगहरुले पिडीतलाई मात्र होईन पत्रकारहरुलाई समेत पत्रकार सम्मेलनस्थलमै प्रबेश गरी गत् जेठ ३० गते भरतपुरमा आक्रमण प्रयास गरेका थिए । चितवन भरतपुरको यो घटनाले उनीहरुको रवाफ र ठाँटवाट कति हुँदो रहेछ भन्ने प्रष्टाएको छ । यो त् एउटा सानो उदाहरण मात्र हो ।
चितवन, राजधानी काठमाडौं लगाएतका स्थानका यस्ता ठग कन्सल्टेन्सीहरुले राम्रै ब्यापार गरिरहेका छन् । आफूले प्राप्त गरेको इजाजत र उद्देश्य बिपरितका कुनैपनि क्रियाकलापमा संलग्न कन्सल्टेन्सीहरुलाई कार्बाही गर्ने दह्रो निकाय नहुँदा कन्सल्टेन्सीहरु छाडा साँढे झै बैदेशिक रोजगारीमा जाने बिधार्थी र सर्बसाधारणलाई ठगी गरिरहेका छन् । ठगीएका ती पिडीतहरु न्याय र रकम फिर्ताको निम्ती प्रहरी प्रशासनमा धाँउदा धाँउदा वाक्क दिक्क भई राज्य, ब्यबस्था र नेताहरुलाई सराप्ने गर्दछन् । जस्को बारेमा हामी क्रमशःखोतल्दै जाने छौं । उनीहरुको ठगी धन्दा र राजस्व छलीलाई सतहमा ल्याउने प्रयास जारी राख्नेछौं ।
चितवनमा पछिल्लो समय जापान, युरोप, अस्ट्रेलिया, क्यानडा, साइप्रस, माल्टालगायतका विभिन्न विकसित मुलुकमा अध्ययन तथा रोजगारीका लागि पठाउने भन्दै कन्सल्टेन्सीहरुले युवाहरुलाई ठग्ने गरेको पाइएको छ । अझ रोचक तथ्य त के छ भने उनीहरुले लिईएको १५ देखि २५ लाख रकम मध्ये ठूलो रकम कलेज फी को नाममा बिदेश पठाई हुण्डी मार्फत नेपाल ल्याउने वा बिदेशी बैंककै खातामा रकम राख्ने क्रम बढेको श्रोतको दाबी छ । यसरी राज्यलाई गुमराहमा राख्दै राजस्व छली र लुटपाटमा सम्लग्नहरुलाई राजस्व अनुसन्धान र सम्पती सुधिकरण बिभागले मसिनो अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
यसर्थ ठगीमा गुनासो आएका यस्ता कन्सलटेन्सीहरुका साथै जिल्लामा रहेका ठूलाकन्सल्टेन्सीहरु उपर कडा निगरानी, सुक्ष्म अनुसन्धान गरी ठगी र राजस्व छली तथा लुटपाट गरेको पाईएमा कडा कानुनी कार्बाही गरी पिडीतहरुको रकम असुलीमा साथै राजस्व चुहावट रोक्न राज्यका निकायहरुले बिशेष ध्यानदिनुपर्ने देखिन्छ ।
बेष्ट ब्रेन एजुकेशन ठगी धन्दा: पिडीतमैत्री भएन प्रहरी
भरतपुर महानगरपालिका वडा न ३ नारायणगढको शहिदचोकमा रहेको बेष्ट ब्रेन एजुकेशन कन्सल्टेन्सी ठगी धन्धामा लिप्त रहेको बारे जिल्ला प्रहरी कार्यालय भरतपुरमा पिडीतहरुले ठगी बिरुद्ध उजुरी दिएको पनि ६ महिना कटिसक्यो तर प्रहरीले ठगहरु समाउन कुनै पहल गरेन । शैक्षिक परामर्शको काम गर्ने भनि गत बर्षदेखि नारायणगढको शहिदचोकस्थित चुके कम्प्लेक्समा सञ्चालित उक्त कन्सल्टेन्सीले आफुहरुको रकम ठगी गरेको भन्दै बिधार्थीहरु जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिकजसो धाईरहेपनि प्रहरीले उनीहरुलाई ठग्ने ठगहरुलाई पक्राउ गर्ने कुनै तदारुक्ता देखाउन सकेन ।
उक्त कन्सल्टेन्सीका सञ्चालकहरु जानुका ढुगांना, अर्जुन ढुगांना, राजेन्द्र सापकोटा, ब्राण्ड एम्बेष्टर अर्जुन सापकोटा लगाएतले युरोप लैजाने भन्दै बिधार्थीहरुबाट कराडौं उठाएर आफुहरुको बिचल्ली पारेको पिडित बिधार्थीहरुले गुनासो गरे ।
प्रति बिधार्थी ४५ लाखसम्म ५ दर्जन बढी बिधार्थीको रकम उठाएर सञ्चालक जानुका ढुगांना युकेमा छिन् । सञ्चालक अर्जुन ढुगांना, राजेन्द्र सापकोटा बिरुद्ध बिधार्थीहरुले जिल्ला प्रहरी कार्यालय चितवनमा ठगी, आपराधिक बिश्वासघात, आपराधिक लाभ र संगठित अपराधमा मुद्धा दर्ताको निम्ती जाहेरी दिएको पनि ६ महिना भैंसकेको छ । बैदेशिक रोजगार बिभागमा समेत बिधार्थीहरुले जाहेरी दिएका छन् ।
बिधार्थीहरुले जिल्ला प्रहरी कार्यालय र बैदेशिक रोजगार बिभागमा उजुरी दिएपनि ठगीमा संम्लग्न बेष्ट ब्रेन एजुकेशन एण्ड भिस्सा सर्बिसका कोही सञ्चालकहरु पक्राउ गर्न चितवन प्रहरीले कुनै चासो दिएन् । पत्रकारहरुमाथी आक्रमण गर्ने कार्यमा सम्लग्न भएको आरोपमा गत् शुक्रबार राजेन्द्र सापकोटा फरार रहेको अवस्थामा काठमाडौंबाट पक्राउ परे पनि अन्य फरार ठगहरु अझै पक्राउपर्न सकेका छैंनन् ।
पत्रकार सम्मेलनमै आक्रमण प्रयास ।
बेस्ट ब्रेन एजुकेशनले युकेमा रोजगारी दिलाउने प्रलोभन देखाई ७१ लाख ५० हजार रुपैयाँ ठगी गरेको भन्दै पीडितहरुले गत् शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन मार्फत आरोप लगाएका थिए । उनीहरुको पत्रकार सम्मेलन चलिरहेकै स्थानमा फिल्मी शैलीमा प्रहरी सहित आएका कमला सापकोटा सहित सागर खरेल र सविन थापाले पत्रकारलाई नै धम्क्याएका थिए । पछी उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले पत्रकारमाथिको अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा पक्राउ गरी मुधा चलाईएको छ ।
पत्रकार आक्रमण प्रयासका मुख्य योजनाकार राजेन्द्र सापकोटा फरार रहेको अवस्थामा काठमाडौंबाट पक्राउ परेका हुन् भने सो काण्डका अर्का योजनाकार अर्जुन सापकोटासहितका चार जना भरतपुरबाट नियन्त्रणमा लिइएको थियो । अर्जुन सापकोटाले पीडितलाई सामाजिक सञ्जाल तथा फोनमार्फत धम्की दिने गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
कन्सल्टेन्सीमा किर्ते र ठगी बढदैं ।
चितवनका अधिंकास कन्सल्टेन्सीले खुलेआम किर्ते र ठगी धन्धा सञ्चालन गरिरहेको भएपनि सरोकारवाला निकायको बेवास्ता र मुकर्दशकिताले उनीहरु मत्ता हात्ती वा लगाम बिनाका घोडाजस्तै बनेका छन् ।
उनीहरुले सार्बजनिक स्थानमा राखेका होर्डिगं बोर्ड वा सामाजिक सञ्जालमार्फत युरोप अष्टर््ेलिया, जापान, क्यानाडा देखि कोरिया हुँदै माल्टा, क्रोयसिया र रोमानियामा समेत अध्ययन र रोजगारीका लागि पठाउने भन्दै विज्ञापन गरिरहेको पाईन्छ । तर उनीहरुले मेन पावरले झैं काम गर्न नपाईने भएपनि राज्यको नजर नपुग्दा चितवनमा यो धन्धा मौंलाईरहेको छ ।
प्रशासनले कन्सल्टेन्सीमा छापा मार्ने हो भने मेनपावर कम्पनीमा भन्दा बढी पासपोर्टहरु भेटिने भरतपुरका एकजना बिधार्थीले बताए । उनका अनुसार भाषा तालिम र भिषा प्रोसेसमा सहयोग गर्ने भन्ने नाममा जिल्लाको भरतपुर, नारायणगढ, टाँडी, पर्सा, भण्डारा, माडी र मुग्लीन त्यस्तै नवलपुरका गैंडाकोट, देवचुली र कावासोतीलगाएतका स्थानमा रहेका कन्सल्टेन्सीहरुले यस्तो झुट प्रचार गरेर बिधार्थीहरुसँग अग्रिम लाखौं मात्र होइन् करोडौं करोड रकम असुल गर्नुका साथै महिनौंअघिदेखि बिधार्थीहरुको पासपोर्ट होल्ड गर्ने गरेका हुन् ।
कन्सल्टेन्सीका रुपमा दर्ता भएका यस्ता शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)हरुले म्यानपावरका रुपमा काम गर्ने र ठगी गर्ने शैली पछिल्लो समयमा ब्यापक मौंलाएको छ । बाहिर बाहिर जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युरोप, अमेरिका लगाएतका विभिन्न देशमा अध्ययनको निम्ती लैजाने भनि प्रचार गरी कन्सल्टेन्सीहरुले मेनपावरको जस्तै रोजगारीका लागि बिदेश पठाउने धन्दा चलाईरहेका हुन् ।
यस्तो धन्दा गर्ने कतिपय कन्सल्टेन्सी र त्यसका सञ्चालकले बिधार्थीरुपी श्रमिकहरुसँग अग्रिम रुपमा मोटो रकम असुलेर वर्षौं झुलाउने, ठग्ने, फरार हुने समेत गरिरहेका छन् । पछिल्ला दिनमा विदेशमा विद्यार्थी पठाउन खुलेका विभिन्न शैक्षिक परामर्शदाता कम्पनीहरुले म्यानपावरको समानान्तर गतिविधि गरिरहेका छन् । अझ उनीहरु नियमनको दायरामा नरहेकाले धेरै जना ठगिने घटना बढ्न थालेका छन् ।
ब्यापक कर छली र राजस्व चुहावटको आशंका
यता, कन्सल्टेन्सीहरुले ब्यापक मात्रमा कर छली गरिरहेको समेत खुल्नमा आएको छ । आफ्नो कम्पनीको खातामा रकम दाखिला गराउनको साटो ब्यक्तिगत खाता र कतिपयले त् नगद मै कारोबार गरी कर छली भईरहेको खुल्नमा आएको हो ।
भण्डाफोर अभियानलाई एक गोप्य श्रोतले दिएको सुचना अनुसार चितवनका साना कन्सल्टेन्सीले भन्दा प्रायः ठूला कन्सल्टेन्सीहरुले ब्यापक मात्रामा कर छली र राजस्व चुहावट गरिरहेको दाबी गरेको छ । राज्यलाई ठुलो राजस्व आउने क्षेत्र भएर पनि कन्सल्टेन्सीहरुले ब्यापक मात्रामा कर छली गरिरहेका हुन् । कन्सल्टेन्सीहरुले गरेको कारोबारको आधारमा कर नतिर्दा करोडौं राजस्व चुहावटको आशंका बढेको छ ।
गलत तथ्याङ्क पेश गरेर साथै नियामक निकायलाई गुमराहमा पारेर वा ति निकायमा कार्यरत कतिपय लोभिपापीहरुलाई आफ्नो प्रभावमा पारेर ब्यापक मात्रमा कर छली गरिरहेको आम आशंका बढीरहेको भएपनि अहिलेसम्म उनीहरुमाथी सुक्ष्म छानविन र कार्बाही भएको छैन् ।
अनुगमन र कार्बाही हुन्छ: प्र.जि.अ. पौडेल
यसै बिच जिल्लामा सञ्चालित कन्सल्टेन्सीहरुले बिधार्थीहरुलाई बिदेश लैजाने भन्दै लाखौं ठगीरहेको र बिधार्थीबाट उठाईएको करोडौं रकममा कर छली समेत गर्ने गरेको आम गुनासो आईरहेको छ, जिल्ला प्रशासन कार्यालय के हेरी बसेको छ भनि प्रश्न गर्दा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौंडेलले आफुहरुले यस बिषयमा गम्भिर अनुसन्धान गरिरहेको भन्दै ठगी र कर छलीमा सम्लग्न पाईएमा जो कसैलाई कानुन अनुसार कार्बाही गरिने बताए ।
उनले अगाडी थपे यस बिषयमा हामी नियामक निकायहरु बाणीज्य बिभाग, बैदेशिक राजगार बिभाग, शैक्षिक परामर्श शाखा, आन्तरिक राजस्व कार्यालय, राजस्व बिभाग र राजस्व अनुसन्धान बिभाग र स्थानिय सरकारसँगसमेत समन्वय गरी जिल्लाभर नियमन र अनुगमन गर्ने छौं ।
प्रमुख जिल्ला अधिकारी पौंडेलले भने झैं नियामक निकायहरु बाणीज्य बिभाग, बैदेशिक राजगार बिभाग, शैक्षिक परामर्श शाखा, आन्तरिक राजस्व कार्यालय, राजस्व बिभाग र राजस्व अनुसन्धान बिभाग र स्थानिय सरकारले अलग अलग वा संयुक्त रुपमा अनुगमन गरी कार्बाही गर्ने हो भने एकातिर राज्यको करोडौं राजस्व चुहावट रोक्न सकिन्छ अर्कोतिर पिडीतहरुको रकम फिर्ता र थप पिडीत बनाईनेक्रम न्युनिकरण हुने थियो की ? भण्डाफोर अभियान साप्ताहिकबाट