इजरायल–इरान युद्धको घेराभित्र सुरक्षा खोज्दै नेपाली
काठमाडौँ/जब आकाश चिरेर क्षेप्यास्त्र भुइँमा झर्छ र बेजोडको आवाजले तेहरान सहर खलबलाइदिन्छ, तब हरि थापा त्रासले आत्तिन्छन्, श्रीमती र छोराको चिन्ताले पिरोलिन्छन् । तेहरानस्थित भारतीय दूतावासमा काम गर्ने उनीसँगै श्रीमती र छोरा छन् । ‘दिनमा त खासै डर हुँदैन । त्यति धेरै आवाज पनि आउँदैन । तर राति के हुन्छ भन्नेमा एकदमै डर हुन्छ,’ थापाले कान्तिपुरसँग फोनमा भने, ‘कतिखेर इजरायलले हान्छ ? कहाँ हान्छ ? को पर्छ ? थाहा हुँदैन ।’
उदयपुर घर भएका थापाले इजरायल–इरान युद्ध चर्किएपछि काम गर्न दूतावासमा नियमित गइराख्नुपरेको छैन । तर आफू र परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने नै सबैभन्दा ठूलो चिन्ताको विषय भएको छ । क्षेप्यास्त्र आउँदा इजरायलमा जसरी इरानमा अग्रिम ‘साइरन’ बज्दैन । ‘श्रीमती र छोरा एकदमै त्रासमा छन् । तेहरानबाहिर जाऔं भनिरहेका छन् । बाहिर पनि सुरक्षित हुने निश्चित नभएकाले घरमा बसिरहेका छौं,’ थापाले भने, ‘परिवारसहित बसेको मान्छेलाई सबै सुरक्षित हुन मानसिक दबाब हुँदोरहेछ । द्वन्द्व अझ बढ्यो भने कसरी यहाँबाट निस्कने हो !’
इजरायल र इरानबीच बिहीबार सुरु भएको युद्ध चर्कंदै गएको छ । सीएनएनका अनुसार इजरायलको क्षेप्यास्त्र आक्रमणबाट इरानमा उच्च सुरक्षा अधिकारीहरूसहित कम्तीमा २ सय २४ जनाको मृत्यु भइसकेको छ । इरानको राजधानी तेहरानबाट कैयौं मानिस अन्यत्र लागिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान तत्काल खाली गर्न चेतावनी दिएपछि व्यापक त्रास फैलिएको छ ।
थापाका अनुसार सहर छाड्दै गरेका नागरिकको लामो लाइन सडकमा देखिन्छ । उनीहरू क्यास्पियन सागरछेउ माजानदारनतर्फ गइरहेका छन् । इरानको हवाई क्षेत्र बन्द भएकाले र ट्याक्सीसमेत नपाइनाले मानिसलाई सीमा क्षेत्रसम्म पुग्नै मुस्किल परेको छ । पाकिस्तानले इरानसँग जोडिएको करिब ९ सय किलोमिटरको सीमानाका अनिश्चितकालका लागि बन्द गरिदिएको छ ।
तेहरानस्थित सिरियाली दूतावासमा ८ वर्षदेखि काम गरिरहेका अर्घाखाँचीका सागर पौडेलले क्षेप्यास्त्रबाट जोगिन बंकरको व्यवस्था नभएको बताए । ‘तेहरानमा जथाभावी मिसाइल खसाइएको जस्तो लाग्दैन । बढीजसो मिसाइल निसाना लगाएरै हानिएको छ,’ उनले भने, ‘हामी विभिन्न देशका दूतावास भएको स्थानमा बस्छौं । सबै विदेशी राजदूत र कूटनीतिक कर्मचारी पनि यतै बसेका छन् । त्यस कारण सुरक्षित छौं भन्ने लाग्छ ।’
सबै विदेशी नागरिक इरानबाट निस्किने अवस्था आयो भने आफूहरू बाहिरिने योजनामा रहेको पौडेलले सुनाए । ‘कतिपय एकातिर काम गर्ने र अर्कोतिर बस्ने गर्छन् । म जहाँ बस्छु, त्यहीँ नै काम गर्छु,’ उनले भने, ‘हामी बसेको ठाउँको नजिकै मिसाइल खसिरहेको छ । कतिपयले छतबाट पनि हेरिरहेका हुन्छन् । बंकर नहुनाले धेरैजसो मानिस जमिनमुनिको मेट्रो स्टेसनमा लुक्न जान्छन् । हामी त्यसरी लुक्न जाने गरेका छैनौं ।’
इरानमा कार्यरत सुमन गैरेले आइतबार दिउँसो निकै नजिकबाट ड्रोन र क्षेप्यास्त्र गएको सुनाए । ‘म १८ वर्षदेखि तेहरानमा छु । आकाशमा मिसाइल प्रत्यक्ष देख्ने गरेका छौं । तर सीमित ठाउँमा मात्रै खसिरहेको छ,’ उनले भने, ‘घरपरिवारबाट आधा–आधा घण्टामा फोन आउँछ । तत्काल नेपाल फर्किन सकिने अवस्था छैन ।’
इजरायलमा भने इरानले प्रहार गरेको क्षेप्यास्त्र आइपुग्नु २० मिनेट अगाडि नै हरेक नागरिकको मोबाइलमा सूचना आउँछ । इजरायलमा ५ हजार ५ सय नेपाली कार्यरत छन् । ‘साइरन’ बज्नेबित्तिकै बंकरतिर दौडिनुपर्ने उनीहरूको दैनिकी नै बनिसकेको छ । ‘पटक–पटक बंकरमा गइराख्नुपर्छ । म बसेको अपार्टमेन्टमुनि पनि बंकर छ तर नजिकै केन्द्रीय बसपार्कमुनि रहेको ठूलो र बलियो बंकरमा जाने गरेका छौं,’ इजरायलको राजधानी तेल अवीवस्थित तखनामा बस्दै आएका कैलालीका रमेश जोशीले कान्तिपुरलाई भने, ‘बंकर पूरै मान्छेले भरिएको हुन्छ । बालबच्चा र वृद्धवृृद्धा पनि हुन्छन् । गर्मीका कारण निकैबेर बस्न भने कठिन हुन्छ ।’
जोशीले बंकर जाँदा अत्यावश्यक सामग्री बोक्ने गरेको सुनाए । ‘पहिला मान्छे मात्रै दौडिएर जाने गरेका थियौं । अहिले चाउचाउ, पानी, कपडा, फलफूल र राहदानी राखेको झोला लिएर बंकरमा जान्छौं,’ उनले भने । उनले आफूहरू बसेको ठाउँमा ५–७ किलोमिटर वरिपरि नै क्षेप्यास्त्र खसिरहेको बताए । इजरायली सुरक्षा बल (आईडीएफ) का अनुसार शुक्रबारयता इरानले ३ सय ५० वटा ‘ब्यालिस्टिक मिसाइल’ प्रहार गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तेल अवीव र हाइफा क्षेत्रमा २४ जनाको मृत्यु र २ सय ८७ जना घाइते भएका छन् ।
इजरायलको कृषि क्षेत्रमा कार्यरत श्याम श्रेष्ठले युद्ध चर्किएपछि आफूहरू सुरक्षित स्थानमा सरेको जानकारी दिए । ‘हामी बसेको ठाउँमा बंकर थिएन, दिनभरि काम गरेर थकित भइन्छ । बंकर नहुँदा रातभरि मिसाइल गनेर बस्न पनि गाह्रो हुँदो रहेछ,’ उनले भने, ‘कम्पनीले बिदा दिएपछि म बंकर भएका ठाउँमा आइपुगेको छु ।’ इरानले झन्–झन् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरिरहेकाले त्रास बढेको उनले बताए ।
इजरायलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली सुरक्षित रहेको जनाएको छ । इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल अर्को सूचना नभएसम्म बन्द गरिएको छ । इजरायल र जोर्डनबीचका तीन स्थल सीमानाका (जोर्डन रिभर, किङ हुसेन (एलेनबी) ब्रिज र रवीन) सञ्चालनमै छन् । इजरायलबाट निस्किने अर्को रुट इजिप्ट र साइप्रस पनि हो । पोल्यान्डले इजरायल भ्रमणमा रहेका करिब २ सय नागरिकलाई जोर्डनको राजधानी हुँदै ल्याउने योजना बनाएको छ ।
भारतले इरानमा रहेका आफ्नो देशका विद्यार्थीलाई सुरक्षित स्थानमा सारेको छ । उनीहरूको सुरक्षाका लागि सम्भावित विकल्पको समेत अध्ययन भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तेहरानस्थित भारतीय दूतावासका अनुसार त्यहाँ रहेका भारतीयहरूको सुरक्षाका निम्ति स्थानीय समुदायका नेता र लोककल्याणकारी क्षेत्रमा काम गर्ने संस्थासँग समन्वय भइरहेको छ ।कान्तिपुर बाट