विकल्पबाट डराउँदै ओली : भण्डारीको त्रास, झोलेहरुको आश
भक्तपुर/नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पछिल्लो समय विकल्पबाट डराउन थालेका छन् । आफू बाँचुञ्जेल आफ्नो विकल्प एमालेमा नखोजिने सोचमा रहेका ओली पछिल्लो समय विकल्पको कुरा उठ्न थालेपछि त्रसित भएका हुन् ।
एमालेमा रहेका आफ्ना सबै विरोधीहरुलाई कि त अर्को दलमा पु¥याएर कि त कँजाएर राखेको ठानी आफूलाई निर्विकल्प ठान्ने गरेका ओली अहिले त्यहि विकल्पको कुराबाट त्रस्त हुन थालेका छन् ।
प्रधानमन्त्रीबाट वर्तमान सरकार बनाउँदाको समयमा गरिएको सम्झौता अनुसार आफ्नो विकल्पमा शेरबहादुर देउवालाई उभ्याउन तयार रहेको भन्ने गरेका ओली एमाले भित्र पनि विकल्पको कुरा आउन थालेपछि त्रसित बनेका हुन् ।
एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँगै आफ्नो विकल्प नभएको ठान्ने गरेका ओलीलाई अहिले आएर पूर्वराष्ट्रपति विद्या भण्डारी विकल्पको रुपमा आउन थालेको भान परेको छ ।
भण्डारीले आफूलाई पूर्वराष्ट्रपतिको रुपमा सीमित नगरी पछिल्लो समय एमालेका कार्यक्रमहरुमा ध्यान दिन थालेबाट ओलीमा त्रास छाएको छ । उमेरले ७४ वर्ष पुगेका ओली एमालेमा ७० वर्षे उमेर सीमाको कुरा अब नउठ्ने बताउने गरेका छन् ।
उनले आफू अझै २०–२५ वर्ष राजनीतिमा सक्रिय रहने छनक मात्र दिएका छैनन् कि आफू रहुन्जेल एमालेमा अरुले नेतृत्वको लागि नचिहाए पनि हुने भन्ने खालको आशय व्यक्त गर्दै आएका छन् ।
उनले आफ्ना पिता अझै पनि सक्रिय रुपमा हिंडडुल गर्ने गरेको उदाहरण दिंदै आफू अझै २०–२५ वर्ष सक्रिय रहने भनी सार्वजनिक रुपमा बताएका थिए । ओलीको अभिव्यक्तिले एमालेको नेतृत्व हात पार्न चाहनेहरुका लागि झस्काएको अवस्था छ ।
आफ्नो जीवनकालमै एमालेको अध्यक्ष बन्ने चाहनाका साथ पूर्वराष्ट्रपति भण्डारी सक्रियता बढाएकी छिन् । उनले आफूलाई पूर्वराष्ट्रपतिका रुपमा निष्कृय राख्न नचाहेको स्पष्ट रुपमा देखाउने गरेकी छिन् । हालैमात्र उनी चीनको भ्रमणमा गएकी थिइन् ।
उनले चीनमा उच्चस्तरीय भेटघाट गरी आफूलाई नेपालको वामपन्थी राजनीतिमा सक्रिय राख्ने चाहना राखेको पाइएको छ । उनले विभिन्न जिल्लामा पुगेर एमालेको कार्यक्रममै सरिक हुन थालेकी छिन् । उनको सक्रियतालाई एमालेका अध्यक्ष ओलीले भने रुचाएका छैनन् ।
ओलीले नरुचाए पनि उनले एमालेको पृष्ठभूमिबाट आफू आएकाले एमालेजनसँग भेटघाट तथा कार्यक्रममा सहभागी हुनका लागि आफूले एमालेको स्वीकृति लिई रहनु आवश्यक नभएको प्रतिक्रिया दिएकी थिइन् ।
उता, ओली भने भण्डारीको कारण आफ्नो कुर्ची हल्लिने पो हो कि भने झनै भयभीत अवस्थामा रहेका बताइन्छ । यस्तो अवस्थामा एमालेको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर सीमाको प्रावधानलाई ओली विरोधीहरुले बहसको विषय बनाउने अवस्था छ ।
अध्यक्ष ओलीको पक्षधर मानिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीको विपक्षमा अभिव्यक्ति दिएका छन् । पोखरेल मात्र होइन कि युवराज ज्ञवालीले समेत ७० वर्षे उमेर हदको कुरा सान्दर्भिक हुने अभिव्यक्ति दिएका छन् ।
आइतबार हिमालय टेलिभिजनको अन्तर्वार्ता कार्यक्रम ‘यक्ष प्रश्न’ मार्फत् वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्र ७० वर्षे उमेर हदको प्रबन्ध कायमै रहेको तर्क गरेका छन् ।
एकीकृत समाजवादी सहितका केही पार्टीबाट आउने नेताहरुका लागि भनेर अन्तरिम कालका निम्ति ७० वर्षे सीमा हटाइएको पोखरेलले बताएका छन् । आफ्नो अभिमत उमेर हदको व्यवस्था कायमै राख्नेमा हुने पनि पोखरेलले अन्तर्वार्तामा भनेका छन् ।
धेरैले सचिवालयकै निर्णय विधान महाधिवेशनबाट अनुमोदन हुने र ओली नै एमाले अध्यक्षमा तेस्रो पटक चयन हुने अनुमान गरिरहेका छन् ।
२०७१ असारमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट पहिलोपटक एमाले अध्यक्ष निर्वाचित भइरहँदा नै ओलीले पूरा कार्यकाल पनि नचलाई नेतृत्व हस्तान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता गरेका थिए ।
ओलीको प्रतिबद्धता लागू हुन्थ्यो भने वामदेव गौतम, ईश्वर पोखरेल हुँदै ११औं महाधिवेशनमा अरु तेस्रो व्यक्ति एमाले अध्यक्ष बन्ने दौडमा हुने थिए । निर्वाचित भएपछि ओलीले आफ्नो विकल्प खोज्नेहरुलाई एमाले र देश विरोधीको संज्ञा दिन थाले ।
उनले २०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा पनि ओलीकै निम्ति पार्टी विधान–२०४९, लाई संशोधन गरेका थिए । ‘महाधिवेशन हुँदा ७० वर्ष ननाघेको’ भन्ने व्याख्या गरेर ओली अध्यक्ष दोहोरिएका थिए ।
११ फागुन २०७८ मा ओली ७० वर्ष पूरा हुने भएकाले मंसिरमै महाधिवेशन गरिएको थियो । ओलीको यही पृष्ठभूमिका कारण एमालेमा अब ७० वर्षे उमेर हद नरहने अनुमान चलिरहँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्तिले भने अरुलाई आशा देखाएको छ ।
यसरी एमालेमा नयाँ नेतृत्व ल्याई आफू संरक्षकको भूमिकामा बस्नुपर्ने भन्ने ओलीमाथि उठिरहेको छ । यस्तो अवस्थामा अध्यक्ष ओली भने एमालेमा ‘झोले’ अभियान चलाएर मख्ख देखिएका छन् । उनको चाहना आफ्ना नेता कार्यकर्ताहरुलाई आफू झोले भएकोमा गर्व गर्न भनी भन्न लगाउने अवस्था छ ।
यसरी ओली झोलेहरुसँग मख्ख परिरहेको हालको अवस्थामा ओलीविरोधीहरु भने भण्डारीलाई अघि सारेर ओलीलाई विस्थापित गर्ने योजनामा छन् । यसका लागि उनीहरुले ओलीको चाहना विपरित भातृसंस्थाहरुमा निर्वाचन गराएर ओलीलाई चुनौती दिई रहेका खबर नयाँ विमर्शमा उल्लेख छ ।
हिजो विहीबार मात्र पनि ओलीको चाहना विपरित अनेरास्ववियुको महाधिवेशनमा मतदान हुन पुग्यो । यसअघि ओलीले युवा संघको निर्वाचन नगराउने चाहना राखेका थिए । त्यो बेला पनि उनले सर्वसम्मत रुपमा आफ्नो पक्षधरलाई ल्याउन चाहे पनि त्यो संभव भएन ।
ओलीका उम्मेदवारले जिते पनि उनलाई अर्का उम्मेदवारले कडा टक्कर दिएका थिए । यसैगरी अनेरास्ववियुको निर्वाचन नगराई ओलीले चाहेको व्यक्तिलाई नेतृत्वमा पु¥याउने कुरालाई अरुले मान्यता दिएनन् । अनेरास्ववियुको पनि निर्वाचन भएको छ ।
यसैगरी विभिन्न जिल्लाहरुमा समेत ओलीइतरको समूह गठन गरी जिल्लाको निर्वाचनमा ओलीविरोधीहरु सल्बलाएका छन् । ओलीको चाहना विपरित मोरङको सबै खालको नेतृत्वमा ओलीविरोधीहरु नेतृत्वमा आई ओलीलाई चुनौति दिएका छन् । न्युज अभियान बाट