इरानसँगको युद्धले इजरायलमा रहेका नेपाली बेचैन

काठमाडौँ/दुई दशकदेखि इजरायलमा केयरगिभर रहेकी सुर्खेतकी कुमारी पौडेल तीन दिनयता हरपल त्रासमा छिन् । इजरायल र इरानबीच बिहीबार रातिदेखि सुरु युद्धले उनी निदाउनसमेत सकेकी छैनन् । तेहरानदेखि तेल अवीवसम्म मिसाइल प्रहार भइरहेका छन् ।

इजरायलले प्रहार गरेको मिसाइलबाट इरानमा के कति क्षति भयो, उनलाई जानकारी छैन तर इरानले प्रहार गरेको मिसाइलबाट इजरायलले भोग्नुपरेका डरलाग्दा क्षति उनकै आँखा अगाडि भइरहेका छन् ।

उनी बसेको अपार्टमेन्टबाट १५ मिनेट पैदल दूरीमा रहेको ८ वटा घर इरानको मिसाइलले क्षतिग्रस्त बनाइदियो । ‘मिसाइल झर्दा यति ठूलो कम्पन र आवाज आयो कि मेरो मुटु नै हल्लियो,’ उनले कान्तिपुरसँग भनिन्, ‘यस्तो जमिन नै हल्लाइदिने कम्पन कहिल्यै महसुस गरेकी थिइनँ ।’

उनी सन् २००६ मा इजरायल पुगेकी थिइन् । त्यस बेला इजरायलको लेबनानसँग युद्ध चर्किएको थियो । ‘मैले यो दुई दशकमा धेरै वटा युद्ध देखें, कहिले लेबनानसँग हुन्थ्यो, कहिले हमाससँग हुन्थ्यो, ती युद्धमा मन त्यति डराएको थिएन,’ उनले सुनाइन्, ‘बिहीबार सुरु इरानसँगको युद्धले भने एकदमै डराउनुपर्ने परिस्थिति छ ।’

उनको अनुभवमा प्रत्येक दिन युद्ध चर्किंदै गएको छ । ‘बिहीबार राति इरानबाट आएको मिसाइल विस्फोटमा त्यति डर लागेको थिएन तर शुक्रबार राति त म बसेको घरछेउमै आएर खस्यो, शनिबार राति भएका आक्रमणहरू झनै डरलाग्दा भए, ठूल्ठूला क्षति हुन थालेका छन्,’ उनले भनिन्, ‘आउँदा दिनमा के कस्तो भोग्नुपर्ने हो, असाध्यै चिन्ता लाग्न थालेको छ ।’

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार शनिबार राति र बिहान भएको इरानको आक्रमणबाट इजरायलमा मृत्यु हुने सर्वसाधारणको संख्या १३ पुगेको छ । दुई सय जनाभन्दा बढी घाइते भएका छन् । ६१ वटा भवनमा क्षति पुगिसकेको छ । शनिबार राति मात्र तेल अवीवको वात यामको आवासीय भवनमा मिसाइल खस्दा ७ जनाको मृत्यु भएको थियो ।

‘इजरायलको आइरन डोमले इरानका शतप्रतिशत मिसाइललाई आकाशमा नै निस्तेज पार्न नसकेपछि सबै जनालाई असुरक्षित महसुस हुन थालेको छ,’ जेरुसलेममा कार्यरत शिवराम खड्का भन्छन्, ‘हमास र हेजबुल्लाहका मिसाइललाई आइरन डोमले आकाशमै निस्तेज बनाइदिन्थे तर इरानबाट प्रहार गरिएका मिसाइलहरू जमिनमा खसेर क्षति पुर्‍याइरहेका छन्, सबै त्रसित छन्, पहिलाजसरी आइरन डोमले सुरक्षा प्रदान गर्छ भन्ने अवस्था अब रहेन ।’

सुरक्षाका लागि बंकर नै सबैभन्दा सुरक्षित स्थल रहेको उनले बताए । ‘यो युद्ध कसरी अगाडि बढ्छ, कति लामो जान्छ भन्नेमा अन्योल छ, डर र त्रासमा छौं,’ उनले भने, ‘हामी तुरुन्तै नेपाल जाऔं भन्न सकिरहेका पनि छैनौं, यहाँ भएका सबै नेपाली परिस्थति कसरी अगाडि बढ्छ भनेर हेरिरहेका छौं ।’

आइतबार बसेको इजरायलको मन्त्रिपरिषद् बैठकले २० जुनसम्म संकटकाल घोषणा गरेको छ । हवाई सेवा यसअघि नै बन्द गरिसकेको छ । यसले युद्ध थप लम्बिने संकेत गरेको छ । २००८ देखि तेल अवीवमा कार्यरत पोखराका गणेश गिरी भने इजरायली नागरिक सुरक्षित हुने समयसम्म विदेशी नागरिक पनि डराउनु नपर्ने ठान्छन् । ‘यहाँका स्थानीय नागरिकले पाउने सुरक्षाका सबै उपाय हामीले पनि पाउने हो,’ उनले भने, ‘नेपाल फर्कन पनि हवाई मार्ग बन्द छ ।’

इजरायलस्थित गैरआवासीय नेपाली संघले सात हजारभन्दा बढी नेपाली श्रमिक भएको दाबी गर्दै आएकामा परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत इजरायलमा करिब ५ हजार ५ सय नेपाली श्रमिक रहेको र उनीहरू सबै सुरक्षित रहेको जनाएको छ । त्यस्तै इजरायलसँग युद्धमा रहेको इरानमा रहेका १२ नेपाली पनि सुरक्षित रहेको परराष्ट्रले जानकारी दिएको छ । ‘इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको छ, त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यक उपयुक्त कदम चालिनेछ,’ पराराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न राजदूतलाई निर्देशन दिएकी छन् । देउवाले तेल अवीव र दोहास्थित नेपाली राजदूतलाई फोन गरी नागरिकको सुरक्षा र उनीहरूसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएकी हुन् ।

श्रम प्रवक्ता डन्डुराज घिमिरेले इजरायलमा रहेका नेपालीसँगको सूचना लिन परराष्ट्रसँग समन्वय भइरहेको बताए । ‘हामी इजरायलमा कार्यरत नेपालीका विषयमा संवेदनशील छौं, सरकारी संयन्त्रमार्फत इजरायल पुगेका नेपाली श्रमिकका विषयमा सूचना लिइरहेका छौं, अहिलेसम्म सुरक्षाको कारण देखाई नेपाल फर्काउन कसैबाट अनुरोध भएको छैन,’ उनले भने ।

प्रतिनिधिसभामा आइतबार इजरायल र इरानमा रहेका नेपालीको सुरक्षाका विषयमा सांसदहरूले सरकारको धारणा मागेका थिए । माओवादी सांसद देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि छिटो पहल गर्न सरकारसँग आग्रह गरेका छन् । ‘इजरायल र इरानबीच भीषण लडाइँ भइरहेको छ, ७ हजारभन्दा बढी नेपाली इजरायलमा छन्, केही संख्यामा इरानमा पनि छन् । उहाँहरूको सुरक्षाका निम्ति सरकारले के पहल गरिरहेको छ ? कान्तिपुर बाट