नेपालमै पहिलोपटक चितवनमा रक्तदान महोत्सव हुने
चितवन/ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा नेपालमै पहिलोपटक रक्तदान महोत्सव हुने भएको छ । अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर यही शनिबार जेठ ३१ गते भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा रक्तदान महोत्सव हुन लागेको हो ।
आयोजक ब्लड डोनर्स सोसाइटी चितवनले आज पत्रकार सम्मेलन गरी एकैदिन एक हजार ५ सय पिन रगत संकलन गर्ने गरी महोत्सवको तयारी गरिएको जनाएको छ । सोसाइटीका अध्यक्ष एकराज बुर्लाकोटीले नयाँ युवा रक्तदाताहरुलाई रक्तदान कार्यमा सरिक बनाई नियमित रक्तदाताका रुपमा उत्प्रेरित गर्ने गरी यो महोत्सव आयोजना गरिएको बताउनुभयो । नयाँ रक्तदातालाई आकर्षित गर्न विभिन्न उपहार योजना समेत ल्याईएको छ । महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, रक्त समूह परीक्षण, प्रभातफेरि कार्यक्रम राखिएको छ । यस्तै गत आर्थिक वर्षभित्रमा एक सय भन्दा बढी पिन रगत संकलन गर्ने संघसंस्था र व्यक्तिहरुलाई पनि विशेष सम्मान गर्ने कार्यक्रम राखिएको छ ।
ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले चितवनमा आवश्यक रगतको आधारमा यो महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले चितवनमा आवश्यकता भन्दा बढी रगत संकलन भएमा छिमेकी जिल्लाहरुमा पठाउने तयारी भइरहेको बताउनुभयो । चितवनमा हाल दैनिक डेढ सय पिन रगत आवश्यक हुने गरेको भन्दै महोत्सवमा संकलन हुने १५ सय पिन रगत यही खपत हुने प्रादेशिक रक्तसंचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिनुभयो ।
मानिसको शरिरबाट तीन तीन महिनामा खेर जाने रगतलाई दान गर्दा शरिरलाई फाइदा हुने फिजिसियन डाक्टर भोजराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार नियमित औषधि सेवन गर्ने र दिर्घरोगी बाहेक १८ बर्षदेखि ६५ वर्ष उमेर समुहका मानिसले रक्तदान गर्न मिल्ने छ । ब्लड डोनर्स सोसाइटी चितवनले सो दिन रक्तदान गर्ने रक्तदातालाई पुरस्कारको समेत व्यवस्था गरेको छ । सोसाईटीका अनुसार , रक्तदाताहरुका बीचमा चिठ्ठा प्रतियोगिता मार्फत सोफा सेट, मौलाकालिका केबुलकारका टिकट, मोबाइल, मदन पुरस्कार सहितका पुस्तकहरुको प्याकेज, होल बढी चेकअपका टिकट, कोट सेट मिक्चर लगायतका लगायतका आकर्षण पुरस्कार रहेका छन् ।