‘मनको दृष्टि’ ले पढाएर विद्यार्थीका प्रिय बनेका रन्जित सर
रौतहट/कालो पाइन्ट, जुवारीकोट र कालो चस्मामा सजिएर विद्यार्थी पढाइरहेका ३० वर्षीय रन्जित महतो झट्ट देख्दा दृष्टिविहीन लाग्दैनन् । माधवनारायण नगरपालिका–७ लौका घर भएका उनी चन्द्रपुर–८ सन्तपुरस्थित सुबलाल माविका शिक्षक हुन् । महतो मंगलबार ब्रेललिपिको मद्दतले कक्षा १० का विद्यार्थीलाई नेपाली विषय पढाइरहेका थिए ।
उनी सुबलाल माविकै विद्यार्थीसमेत हुन् । सुबलालमा कक्षा १ मा भर्ना भएर १२ सम्म पढे । त्यसपछि चन्द्रपुरस्थित जनज्योति बहुमुखी क्याम्पसबाट २०७८ मा स्नातक गरे । फागुन २०८० मा शिक्षक सेवा आयोगको परीक्षा दिए । दृष्टिविहीन भएकाले परीक्षा दिन कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई सहयोगीका रूपमा राख्न पाइन्छ, उनले त्यसै गरे । सहयोगीले प्रश्न पढ्थे, उनले उत्तर दिन्थे, सहयोगीले लेख्थे । त्यसैगरी आयोगको परीक्षा पास गरे । ३० चैत २०८० मा सुबलाल माविमा स्थायी शिक्षकका रूपमा हाजिर भए ।
सुरुमा विद्यार्थीहरू दृष्टिविहीन शिक्षकले कसरी पढाउलान् भनेर छक्क पर्थे । पहिलो दिन पहिलो पिरियड उनले कक्षा ६ मा लिए । ब्रेललिपि पल्टाए । हातैले छामेर सामाजिक विषय पढाए । विद्यार्थी मख्ख परे, उनले राम्रो पढाउँदा रहेछन् । त्यसपछि उनले कक्षा १० सम्मका विद्यार्थीलाई नेपाली र सामाजिक विषय पढाउन थाले ।
कक्षा १० की छात्रा मीना घिमिरे ‘महतो सरले पढाएको प्रस्ट बुझिने’ बताउँछिन् । ‘ब्रेललिपिको मद्दतले एक/एक शब्द बुझाएर पढाउनुहुन्छ,’ उनी भन्छिन्, ‘दृष्टिविहीन भएर पनि उहाँको पढाउने शैली देखेर हामी दंग छौं ।’ महतोलाई एउटा कक्षाबाट अर्को कक्षामा आउजाउ गर्न कसैको सहारा चाहिँदैन । एक वर्षको अनुभवले कुन बाटो कता छ, हेक्का भइसकेको छ ।
ब्रेललिपिको ठूला किताब बोक्छन् र कक्षाकोठातर्फ लाग्छन् । विद्यालयको पढाइ सकिएपछि नजिकै रहेको होस्टल पुग्छन्, जहाँ उनको बासस्थान छ । बेलुका र बिहान विद्यालयको क्यान्टिनमा खाना खान्छन् । त्यसबापत महिनामा ४ हजार तिर्छन् । रन्जितको गएको १७ फागुनमा बाराको गन्जभवानीपुरका प्रमिला कुमारीसँग विवाह भयो । विवाहको कुरा चलिरहँदा केटी पक्षका गाउँलेले सुरुमा नानाभाँतीको कुरा सुनाएर भड्काउने प्रयास गरेको उनी बताउँछन् । ‘आँखै नभएकालाई किन छोरी दिन लागेकोसम्म भनेर अपमान गर्न खोजे,’ उनी भन्छन्, ‘आँखाको दृष्टि नभए पनि मनको दृष्टिले सबैलाई जितेको छु ।’
उनका दुई भाइ छन् । माइलो सञ्जय र कान्छो राजु दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । आमा लक्ष्मनिया देवी छोराले सरकारी जागिर पाएकाले मख्ख छिन् । रन्जित प्रत्येक शुक्रबार घर जान्छन् । दुई दिन बसेर आइतबार विद्यालयमा हाजिर हुन आइपुग्छन् । उनी मोबाइलमा कसको फोन आयो भन्ने सहजै पत्ता लगाउँछन् । फेसबुक, ह्वाट्सएप, म्यासेन्जर मज्जाले चलाउँछन् । विद्यालयमा अन्य शिक्षक र विद्यार्थीबाट ठूलो साथ सहयोग पाएको उनले सुनाए ।
दुई वर्षको छँदा उनको आँखामा फुलो परेको थियो । त्यसपछि बुबा रामीजोतले झाँक्रीलाई देखाए । एक महिनासम्म झाँक्रीलाई नै देखाइरहे । तर घाउ ठीक हुनुको सट्टा झन् ठूलो हुँदै गयो । अन्तिममा चिकित्सककहाँ पुगे, त्यो बेलासम्म आँखा उपचार गर्न नसकिने भइसकेको थियो । ‘म सानै थिएँ, कुनै कुरा याद छैन, तर अहिले बुबाले त्यस बेला झाँक्रीको भरपर्दा आँखा गुमेको घटना सुनाउनुहुन्छ,’ उनले भने, ‘समयमै उपचार गराउन पाएको भए सायद मेरो आँखाको ज्योति गुम्दैन थियो होला ।’
उनी अरूका लागि प्रेरणाको स्रोत बनेका छन् । एक सफल शिक्षकका रूपमा रन्जितले विद्यालयमा पढाउन थालेपछि सबैले उनको प्रशंसा गर्ने गरेको प्रधानाध्यापक देवानन्द चौधरीले बताए । ‘दुवै आँखा गुमे पनि केही गर्छु भन्ने उनमा हुटहुटी छ,’ उनले भने, ‘एउटा दृष्टिविहीनले यसरी आयोगको परीक्षा पास गरेर स्थायी शिक्षक भएर पढाउनु ठूलो आँट र मिहिनेतको कुरा हो ।’कान्तिपुर बाट