यस्तो छ तीन चलचित्रको व्यापार
काठमाडौँ/दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गर्नुभएको छ ।
साथै अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले रु तीन करोड ९० लाख व्यापार गरेको छ । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ले रु दुई करोड ८५ लाख व्यापार गरेको छ । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गर्नुभएको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गर्नुभएको छ । रासस