बेंगलुरुले जित्यो आईपीएल उपाधि
अहमदावाद/रोयल च्यालेन्जर्स बेंगलुरुले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि जितेको छ । उसले नरेन्द्र मोदी रंगशालामा भएको फाइनलमा पन्जाव किंग्सलाई ६ रनले पराजित गरेको हो ।
जितका लागि १ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जावले २० ओभरमा सात विकेट गुमाएर १ सय ८४ रन मात्र बनाउन सक्यो । बेंगलुरुले आईपीएलको उपाधि जितेको यो पहिलो पटक हो ।
यससँगै बेंगलुरुका विराट कोहलीको आईपीएल उपाधि जित्ने सपना पनि पूरा भएको छ । पन्जावका लागि शशांक सिंहले ३० बलमा ६१ रन बनाएर नटआउट रहे पनि त्यो जितका लागि पर्याप्त रहेन ।
त्यसअगाडि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले नौ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । त्यसमा ओपनर विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए । उनले ३५ बलमा तीन चौका प्रहार गरे । अर्का ओपनर फिल साल्टले नौ बलमा १६ रन जोडे ।
त्यसपछि मध्यक्रमका सबै ब्याटरले रन जोडे पनि त्यसलाई ठूलो स्कोर बनाउन सकेनन् । त्यसमध्ये मयन्क अग्रवालले १८ बलमा २४, कप्तान रजत पाटिदरले १६ बलमा २६, लियान लिभिङस्टोनले १५ बला २५ र जितेन शर्माले १० बलमा २४ रन बनाए ।
यस्तै रोमारिओ सेपार्डले ९ बलमा १७ रन बनाए । पन्जावका बलरमध्ये केली जेमिसन र अर्सदीप सिंह सर्वाधिक सफल रहे । जेमिसनले ४ ओभरमा ४८ रन खर्चेर तीन विकेट हात पारे । यस्तै सिंहले पनि ४ ओभरमा ४० रन दिएर तीनै विकेट हात पारे र यी तीनै विकेट अन्तिम एकै ओभरमा प्राप्त भएको थियो ।