स्थानीय आवश्यकता र मागका आधारमा बजेट विनियोजन गरिनुपर्छः प्रकाशशरण महत

डुम्रे,(तनहुँ)/पाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बेथितिको अन्त्यका लागि अनावश्यक बजेट बाड्ने पद्धती हटाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँद्वारा आज वीपी स्मृति भवन दमौलीमा आयोजित समसामयिक विषयमा अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले गर्न सकिएमा बेथिति अन्त्य गर्न सकिन्छ भन्नुभयो ।

प्रवक्ता डा महतले भन्नुभयो, “अब हरेक तहका नेतृत्वले जिम्मेवारी पुरा गर्नुपर्छ । सुधारिनुपर्छ भनेर आत्मसात गरी कर्तव्यबोध हुनुपर्छ । माथिल्लो तहदेखि तल्लो तहसम्मका नेतृत्व सुधारिन आवश्यक रहेको छ । ”

केन्द्र सरकारले रु तीन करोडभन्दा कम बजेटको योजना स्वीकृत नगर्ने र प्रदेश सरकारले रु एक करोडभन्दा कम योजनाको काम नगर्ने प्रावधान बनाउन सकेमा मात्रै सुधारिन सहज हुने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “नेतृत्वप्रतिको अविश्वास र आक्रोस न्यूनीकरण गर्नुपर्छ र नेतृत्व पनि कर्तव्यबोध हुनसक्नुपर्छ । ”

लोकप्रियताका लागि सामाजिक सञ्जाल हरेक पटक भ्रामक सूचना प्रवाहले छाएको निरासालाई हटाउन तीनै तहका नेतृत्व लाग्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “सबै पार्टीका नेतृत्व लोकप्रियताको पछि लाग्नु हुँदैन । भविष्यलाई मजबुत बनाउने गरी नेतृत्वले कर्तव्यबोध भएर काम गर्न सचेत हुनुपर्छ ।” रासस