सिरोहियालाई नागरिकता दिने अधिकारीले प्रहरीमा दिए बयान, ‘हस्ताक्षर मेरै हो’

अजित तिवारी, मातृका दाहाल/जनकपुर/कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा नागरिकता जारी गर्ने अधिकारीले हस्ताक्षर आफ्नै भएको पुष्टि गरेका छन् । सम्बन्धित अधिकारीसँग जानकारी लिनुको सट्टा गृहमन्त्री रवि लामिछानेले सिरोहियाको नागरिकता किर्ते भन्दै हल्ला फैलाएर पक्राउ गराएका हुन् ।

सिरोहियालाई नागरिकता दिने अधिकारीले प्रहरीमा दिए बयान, ‘हस्ताक्षर मेरै हो’

तर, तत्कालीन प्रशासकीय अधिकृत काशीराज दाहालले उक्त हस्ताक्षर आफ्नै भएको बयान प्रहरीलाई दिएका छन् । गृह मन्त्रालयको सहसचिवबाट भर्खरै अवकाश पाएका दाहाललाई धनुषा प्रहरीले बोलाएको थियो ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले रास्वपा मधेश प्रदेश कार्यसमिति सदस्य इन्द्रजितप्रसाद महतोलाई उजुरी दिन लगाएका थिए । नागरिकताका विषयमा एक पटक पनि पत्राचार नगरी, सोधपुछ नगरी, बयानमा समेत नबोलाई सिधै कान्तिपुर मिडिया ग्रुपको कार्यकक्षबाटै सिरोहियालाई मंगलबार पक्राउ गरी धनुषा ल्याइएको हो ।

उजुरी परेपछि अनुसन्धान गर्नुको सट्टा प्रहरीले पहिले पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । २०५७ सालमा सिरोहियालाई नागरिकता प्रतिलिपि दिने तत्कालीन प्रशासकीय अधिकृत दाहालसँग धनुषा प्रहरीले शनिबार बयान गराएको थियो ।

विसं २०१९ मंसिर २९ मा जन्मिएका सिरोहियाले २०३६ भदौ २५ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नं। को नागरिकता प्राप्त गरेका थिए । सोही नागरिकताको विवरणका आधारमा जिल्ला प्रशासन कार्यालय धनुषाले २०५७ भदौ २९ मा प्रतिलिपि दिएको हो । प्रतिलिपि जारी हुँदा धनुषा प्रशासनमा दाहाल प्रशासकीय अधिकृत थिए ।

‘२०३६ सालमा जारी भएको नागरिकता प्रमाणपत्रअनुसार कैलाशप्रसाद सिरोहियाका नाममा २०५७ भदौ २९ मा जारी भएको प्रतिलिपिमा भएको हस्ताक्षर मेरै हो, त्यसमा भएको छोटो हस्ताक्षर पनि मेरै जस्तो लाग्छ,’ दाहालले प्रहरीलाई बयान दिएका छन् ।

२०३६ मा पहिलो पटक नागरिकता जारी हुादा तत्कालीन प्रचलनअनुसार उमेर १८ वर्ष मात्र लेखिएको थियो । २०५७ मा प्रतिलिपि जारी गर्दा भने फाँटवालाले पुरानै विवरण उतारेकामा दाहालले जन्म मिति २०१९।८।२९ लेखेर दुवैतर्फ छोटो हस्ताक्षरसमेत गरेका थिए ।

प्रहरीलाई बयान कागज गरिदिँदै दाहालले हस्ताक्षर पुष्टि गरिदिएको धनुषा प्रहरीका एक अधिकारीले बताए । गृहमन्त्रीले भने प्रहरीलाई थप षड्यन्त्र गर्न परिचालन गरेका छन् । ‘दाहालले एउटा मात्र नागरिकतामा हस्ताक्षर गर्नुभएको पक्कै होइन, तत्कालीन समयमा उहाँले हस्ताक्षर गरेका अरू दस्ताबेजसँग परीक्षण गरेको भए पनि उहाँको हस्ताक्षर हो कि होइन भन्ने प्रस्ट हुने थियो तर गृहमन्त्रीले जसरी पनि कान्तिपुर अध्यक्षलाई पक्राउ गर्न निर्देशन दिनुभयो,’ ती अधिकारीले भने, ‘उहाँले हस्ताक्षर मेरै हो भन्ने बयान दिएपछि फरेन्सिक परीक्षणका लागि पठाइएको छ । बर्दिवास ९महोत्तरी० मा यो सम्भव भए पनि काठमाडौं पठाइएको छ । तर, नतिजा ल्याउन जानाजान ढिलाइ गर्न भनिएको छ, हाम्रा हाकिम लाचार भएका छन् ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले तत्कालीन प्रशासकीय अधिकृत दाहालसँग कागज गराएको पुष्टि गरे । बयानमा उल्लेख भएका विषयमा भने बोल्न उनले अस्वीकार गरे । सिरोहियाको नागरिकता र शिवजी साहु तेलीका नाममा जारी भएको

नागरिकता नम्बर एउटै देखिन्छ । प्रशासनबाट यस्तो त्रुटि कसरी भयो भन्ने विषयमा पनि अनुसन्धान नगरी प्रहरी सिरोहियालाई पक्राउ गर्न खटिएको थियो । सिरोहियालाई पक्राउ गरेर दुई पटक म्याद थपेपछि मात्र तेलीसँग जानकारी लिइएको छ ।

सहकारी बचत अपचलनमा लामिछानेको संलग्नता खुल्ने शोधपूर्ण समाचारहरू आएपछि गृहमन्त्री लामिछाने प्रतिशोधमा उत्रिएका छन् । सहकारी बचत अपचलनमा लामिछानेको संलग्नता उजागर गर्दै गत ६ पुसदेखि समाचार आउन थालेका हुन् । तेलीको नागरिकताको प्रतिलिपि गत पुस २० मा जारी भएको छ ।

लामिछाने गृहमन्त्री भएपछि कान्तिपुर अध्यक्ष सिरोहियाविरुद्ध योजना बनाएको देखिन्छ । धनुषामा चक्रपाणि पाण्डे प्रजिअ रहेकामा लामिछाने गृहमन्त्री बनेको २ सातापछि चैत ८ मा धनुषाको प्रजिअमा राजुराज कडरियालाई पठाइन्छ । त्यसको ठीक १ महिना ८ दिनपछि २०८१ वैशाख १६ मा रास्वपा मधेश प्रदेश कार्यसमिति सदस्य इन्द्रजितप्रसाद महतोका नामबाट कान्तिपुर अध्यक्ष सिरोहियाविरुद्ध नागरिकता कसुरमा उजुरी दर्ता हुन्छ । उजुरी दर्ता हुनुअघि रास्वपा सहकोषाध्यक्ष रहेका गृहमन्त्रीका स्वकीय सचिव दीपक बोहराको काठमाडौं–जनकपुर ओहोरदोहोर देखिन्छ ।

‘मन्त्री आउँछन् जान्छन्, कर्मचारी स्थायी सरकार हो । तर, प्रजिअ कडरियाले लामिछाने नै सार्वभौम सत्ता हुन् भन्नेजस्तो गरी उनकै इसारामा कानुन र पद दुरुपयोग गरेका छन् । आफ्नो कार्यालयमा गत वर्षसम्म भएका अभिलेख अहिले नभएको भन्दै त्यसको जिम्मेवारी लिनुको सट्टा मिडिया हाउसका अध्यक्षलाई पक्राउ गराउने योजना बनाएका छन् । उनले थप योजना बनाउन प्रहरीलाई दबाब दिइरहेका छन्,’ जिल्ला प्रशासनका एक अधिकारीले भने, ‘अहिले धनुषा प्रशासन र प्रहरीको एक मात्र काम कान्तिपुरविरुद्ध केन्द्रित भएको छ । गृहमन्त्री कतिन्जेल रहने हो भन्ने ठेगान नभएकाले छिटो–छिटो योजना सफल पार्नुपर्छ भनेर काम भएको छ । शक्तिको यो दुरुपयोग देखेर हामी दुःखी छौं ।’ उनका अनुसार कडरियाले लामिछानेका स्वकीय सचिवको निर्देशनमा काम गरिरहेका छन् । आजको कान्तिपुर दैनिकबाट