सुन तस्करी प्रकरणमा पुर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

काठमाडौं/पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले आज पक्राउ गरेको हो।

सहकारी ठगी र ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । यस अघि सीआईबीले उनलाई कागज गराएर छाडेको थियो ।

सरकारले सुन तस्करीको जाँचबुझ गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा ४ सदस्यीय उच्चस्तरीय आयोग गठन गरेको थियो । आयोगले बिहीबार सरकारलाई आफ्नो प्रतिवेदन पेश गरेको थियो । आयोगले सुन प्रकरणको अनुसन्धानमा सीआईबीले गम्भीर लापरबाही गरेको ठहर गरेको थियो ।

अवैधरुपमा नेपाल भित्रिएको सुनका बारे छानबिन गर्न गठित आयोगले अध्यागमन विभागका पूर्व महानिर्देशक सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।

६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ ।

त्यस्तै छानबिन आयोगले सीआईबीकी प्रमुख एआईजी किरण बज्रचार्यमाथि पनि कारबाही गर्न सिफारिस गरेको छ । उनले सीआईबीको नेतृत्वमा रहँदा सुन तस्करी प्रकरणमा संलग्नलाई उन्मुक्ति दिएको छानबिन समितिको ठहर रहेको छ ।

सुन तस्करीमा संलग्नमध्येका मुख्य अभियुक्त जीवन चलाउनेलाई भगाएको आरोपमा उनीहरूलाई विभागीय कारबाही सिफारिस भएको हो । ब्युरोमा उपस्थित गराएर छोडेका कारण उनीहरूमाथि यस्तो सिफारिस भएको हो ।

त्यस्तै छानबिन समितिले पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको छ । गत वर्षको पुसमा विद्युतिय चुरोट ९भेप० मार्फत ९ किलो भन्दा धेरै सुन तस्करी गरेर नेपाल भित्र्याएको प्रकरणमा महराको नाम मुछिएको थियो । महराका छोरा राहुल यस प्रकरणमा गत भदौदेखि थुनामा रहेका छन् ।

त्यस्तै छानबिन आयोगले पूर्व आईजीपी तथा नेकपा एमालेका नेता सर्बेन्द्र खनालका साथी तथा व्यापारीक साझेदार सुबु केसी, विद ल्याबका सञ्चालक भीमकान्त भण्डारी, नेपाल प्रहरीका एसपी संञ्जयसिंह थापा, डीएसपीद्धय दुर्गा दाहाल र रुगम कुँवरलाई पनि कारबाहीको सिफारिस भएको छ ।

छानबिन आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल र भन्सार अधिकृत मुक्ति श्रेष्ठलाई पनि कारबाहीको सिफारिस भएको छ ।