राष्ट्रिय सभा अध्यक्ष पदमा दाहाल निर्वाचित

काठमाडौँ/राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र सहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित भएकामा दाहालको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत खस्यो ।

नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरता पूर्वक लिएर अघि बढ्ने बताएका छन् ।

मंगलबार राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले कानून निर्माण लगायतका विषयमा राष्ट्रियसभालाई ओझपूर्ण र गरिमामय बनाउन प्रयत्न गर्ने समेत बताए ।

उनले चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्ने धारणा राखे । राष्ट्रियसभाले गर्ने सबै भूमिकालाई प्रभावकारी बनाउन सबै दलहरूलाई एकतावद्ध भएर लैजाने उनले बताए ।

उनले आफूलाई निर्वाचित गर्ने सबै सदस्यहरुप्रतिआभार व्यक्त गरे ।