तीन करोड ठगीको मुद्धा लागेका एनआईसी एसिया बैंकका ब्रान्च मेनेजर जेल चलान

काठमाडौँ/एनआईसी एसिया बैंकको राजविराज शाखाबाट पौने ३ करोड रुपैयाँ ठगी गरिएको प्रकरणमा तीन जनालाई थुनामा पठाइएको छ ।उक्त बैंकका तत्कालीन शाखा प्रबन्धक सन्तोषकुमार यादवसहित तीन जना सोमबार पुर्पक्षका लागि थुनामा गएका हुन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीको इजलाशले राजविराज नगरपालिका–७ का यादव तथा राजविराज नगरपालिका–९ का मो। सदाम, सप्तरी रुपनी गाउँपालिका–५ का दीपककुमार सुतिहारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

सरकारी लिखत किर्ते गरी संगठित रूपमा ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि प्रबन्धक यदव गत १० मंसिरमा अदालतमा उपस्थित भएका थिए ।

यादवसहितको मिलेमतोमा गत माघ २२ मा सरकारी कागजात किर्ते गरी बनाइएको फर्जी जग्गाधनीलाई दुई करोड ८० लाख रुपैयाँ ऋण प्रवाह गरिएको थियो । जसमध्ये दुई करोड ३० लाख रुपैयाँ ‘स्क्याम’ भएको थियो ।

प्रबन्धक यादवसहित बैंक कर्मचारी, जग्गा व्यवसायी, लेखापढी व्यवसायी र मालपोत कार्यालय राजविराजका कर्मचारीको मिलेमतोमा राजविराज–८ का रवीन्द्रकुमार यादवको नाममा रहेको १० कठ्ठा ५ धुर जग्गा राजविराज–९ की बसिरन खातुनको नाममा नक्कली धनी पूर्जा बनाइएको खुलासा भएको छ ।
एनआईसी एसिया बैंकले सोही धनी पूर्जाका नाममा ऋण स्वीकृत गरेको थियो ।