नारायणगढ बजारका हजार बढी सटर खाली:राज्य र घरबेटीको कारण आम ब्यबसायी सडकमा आउने अवस्थामा ।

चितवन/मुलुककै केन्द्रबिन्दु चितवनको घना एवं व्यस्त बजार नारायणगढमा ब्यबसाय गर्ने ब्यबसायीहरु दिनप्रतिदिन बिस्थापित हुँदै जान थालेका छन् । राज्य र घरबेटीको कारण यस बजार क्षेत्रमा रहेका पसलहरु बन्द हुँदैं जाने र सटरहरु धमाधम खाली हुँदै जान थालेका हुन् ।
ब्यबसायीहरुले लगानीको नाफा त् कता हो कता भाडा बुझाउने बराबरको समेत ब्यापार हुन छाडेपछी उनीहरु सटर खालि गराउँदै ब्यबसायबाटै पलायन हुन थालेका हुन् । नारायणगढ बजारका कयौं गल्लीहरुमा एक दुई होईन लाईनका लाईन सटर खाली भईरहेका छन् । नारायणगढ बजार क्षेत्रका मुख्य तथा भित्री सडक छेउका कयौं सटरहरु महिनौंदेखि भाडामा छ भनेर लेखेको देख्न सकिन्छ ।
नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म थालिएको ६ लेनको सडक विस्तार अझै सकिएको छैन । त्यही कारण यो सडक खण्ड छेउछाउका सटर भाडामा लिएर ब्यापार गर्नेहरुको व्यापार राम्रो छैन । नारायणगढ पुल्चोक नजिकै शुभकामना इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्ने सूर्यभक्त अधिकारी व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको गुनासो गरे । गतबर्षभन्दा अहिले ५० प्रतिशत पनि व्यापार नभएको उनले बताए । बैंकको ब्याजका कारण पनि व्यवसायी समस्यामा परेको उनको भनाई छ ।
गत बर्षको पुसमा बजार क्षेत्रमा सडक सीमा अतिक्रमण गरेर मिचिएका संरचना सडक डिभिजन कार्यालय भरतपुरले डोजर चलाएर भत्काएको थियो । त्यही बेलादेखि भरतपुरमा खस्किएको ब्यापार व्यवसाय माथि उठ्न नसकेको उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्त बताउँछन् ।
‘सडक विस्तारमा ढिलाइ भइरहे यो क्रम अझै बढ्ने उनको भनाइ छ । व्यापारमा मन्दी हुँदा पनि घरधनीले भाडा नघटाएको व्यवसायीहरुको गुनासो छ । धेरैजसो घर भाडामा लगाउनेहरु नै उद्योग वाणिज्य संघमा सदस्य रहेकाले आफूहरुको पक्षमा बोलिदिने खासै नभएको गुनासो एक व्यवसायीले गरे ।