सहुलियतपूर्ण कर्जामा २२ अर्ब ३९ करोड ब्याज अनुदान

काठमाडौं, ११ भदौ /गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले दुई खर्ब ५४ अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन् ।

यस्तो कर्जाका लागि राष्ट्र बैंकले कुल २२ अर्ब ३९ करोड आठ लाख १६ हजार ९० रुपैयाँ ब्याज अनुदान दिएकोे छ ।

राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५, ९तेस्रो संशोधनसहित’ अनुसार बैंक तथा वित्तीय संस्थाबाट ब्याज अनुदानमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

तथ्यांकअनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियत कर्जा घटेको छ । अघिल्लो आर्थिक वर्ष बैंकहरूले दुई खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँ सहुलियत कर्जा स्वीकृत गरेका थिए ।

राष्ट्र बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितहरूको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम र युवावर्ग स्वरोजगार कर्जामा ब्याज अनुदान दिँदै आएको छ ।

तथ्यांकअनुसार २०८० असार मसान्तसम्म नेपाल सरकारको ब्याज अनुदानमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा कुल एक लाख ४५ हजार सात सय ७८ ऋणीलाई प्रवाह भएको र एक खर्ब ९७ अर्ब छ करोड रुपैयाँबराबरको कर्जा बक्यौता छ ।

बैंक तथा वित्तीय संस्थाले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा भने एक अर्ब ५० करोड लगानीमा रहेको छ ।

राष्ट्र बैंकका अनुसार कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा एक खर्ब ६२ अर्ब रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको छ । जसमध्ये विनाधितो दुई अर्ब ९८ करोड र धितोसहित एक खर्ब ५९ अर्ब रुपैयाँ बढी स्वीकृत भएको छ ।

कुल ६० हजार तीन सय ५० ऋणीले सहुलियत ब्याजदरको कृषि तथा पशुपन्छी व्यवसाय कर्जा लगेका छन् । असार मसान्तसम्म बाँकी कर्जा कुल एक खर्ब ३५ अर्ब ७६ करोड छ ।

महिला उद्यमशील कर्जाअन्तर्गत ८२ हजार सात सय १८ महिला उद्यमीलाई ८७ अर्ब १८ करोड रुपैयाँ बढी कर्जा स्वीकृत भएको छ ।

यसमध्ये ५८ अर्ब ३८ करोड रुपैयाँ कर्जा बक्यौता छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार सात सय १० ऋणीको दुई अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ ।

अहिलेसम्म सबैभन्दा बढी वाणिज्य बैंकहरूले दुई खर्ब २२ अर्ब ९८ करोड ४५ लाख एक हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन् ।

वाणिज्य बैंकहरूले प्रवाह गरेको सहुलियतपूर्ण कर्जामध्ये अहिले पनि एक खर्ब ७४ अर्ब नौ करोड ७८ लाख ५६ हजार रुपैयाँ बक्यौता छ । वाणिज्य बैंकहरूले एक लाख २५ हजार ७१ जनालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएका छन् ।

यस्तै विकास बैंकहरूले १८ हजार छ सय ५६ ऋणीलाई २७ अर्ब ७६ करोड ९५ लाख ३५ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन् । यसमध्ये असार मसान्तसम्म २० अर्ब २६ करोड ६१ लाख ६४ हजार रुपैयाँ बाँकी कर्जा रहेको छ ।

फाइनान्स कम्पनीहरूले पनि गत आर्थिक वर्ष एक हजार नौ सय ५१ जनालाई तीन अर्ब ३० करोड १५ लाख ९९ हजार रुपैयाँ सहुलियत कर्जा स्वीकृत गरेका छन् । फाइनान्स कम्पनीहरूको बाँकी कर्जा दुई अर्ब ६३ करोड ६१ लाख ९३ हजार रुपैयाँ छ ।

निम्न वर्गका परिवारमा वित्तीय सेवा पु(याउँदै आएका लघुवित्त वित्तीय संस्थाले जम्मा एक सय परिवारलाई आठ करोड ९८ लाख २० हजार रुपैयाँ कर्जा स्वीकृत गरेका छन् । लघुवित्तको यस्तो कर्जाको बक्यौता असार मसान्तसम्म छ करोड १० लाख ४७ हजार रुपैयाँ छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा स्वीकृत सहुलियतपूर्ण कर्जामा कमी आए पनि ब्याजदर अनुदान रकम भने बढेको छ ।

गतवर्ष समग्र बैंकिङ क्षेत्रको ब्याजदर बढेका कारण स्वीकृत कर्जा घटे पनि ब्याज अनुदान रकम बढेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि १६ अर्ब ९६ करोड ८५ लाख आठ हजार रुपैयाँ ब्याज खर्च गरेको थियो ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु(याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०८० असार मसान्तमा ७० करोड ९४ लाख रुपैयाँ बक्यौता भएको राष्ट्र बैंकले जनाएको छ । (आर्थिक दैनिकबाट)