भदौमा ब्याजदर परिवर्तन गर्न बैंक खुला

नेपाल बैंकर्स संघले भदौका लागि बैंक ब्याजदरमा हस्तक्षेप नगर्ने नीति लिएसँगै केही वाणिज्य बैंकहरुले भदौमा निक्षेपको ब्याजदर बढाउन सक्ने देखिएको छ । साउनमा केही बैंकले ब्याजदर बढाएर निक्षेप थपेपछि भदौमा निक्षेप कम भएका बैंकले ब्याजदर बढाएर तान्न सक्ने देखिएको हो ।

कुनकुन बैंकले ब्याज बढाएर निक्षेप तान्दैछन् भन्ने खुलेको भने छैन । गत असार अन्तिममा बैंकर्स संघले ब्याजदरमा लागु हुँदै आएको भद्र सहमति तोडेको थियो । त्यसपछि केही बैंकहरूले आ–आफ्नै तरिकाले ब्याजदर निर्धारण गर्दै आइरहेका छन् । भदौमा पनि यही प्रवृत्ति कायम रहने देखिएको हो । साउनमा ब्याजदर नबढ्ने गरी भद्र सहमति तोडिए पनि केही बैंकहरूले आफू अनुकूल ब्याजदर बढाएका थिए । त्यसैको निरन्तरतास्वरुप केही बैंकहरूले भदौका लागि ब्याजदर बढाउन सकिने देखिएको छ । बैंकहरूले महिनाको मसान्तमै ब्याजदर प्रकाशन गर्नुपर्ने हुन्छ ।

सोहीअनुसार बिहीबार बैंकहरूले नयाँ ब्याजदर प्रकाशन गर्नुपर्नेछ । पछिल्लो समय अर्थतन्त्रमा सुस्तता आएका कारण समग्र बजार तथा सरकारको समेत चाहना ब्याजदर घटाउने रहेको छ । तर, केही बैंकले ब्याजदर बढाए नबढाउने बैंकको निक्षेप गुम्न सक्ने डर रहन्छ । केहीले ब्याजदर बढाउँदै गर्दा केहीले गत साउनमा ब्याजदर बढाएनन् । ब्याजदर नबढाउने सहमति गराएर ब्याजदर बढाएपछि केही बैंकरले असन्तुष्टि जनाउँदै आएका छन् । ‘ब्याज नबढाउने भनेर सहमति गरियो । पछि आफैं मनलाग्दी ब्याज बढाइयो,’ एक वाणिज्य बैंकका सीईओले कारोबारसँग भने, ‘भद्र सहमति तोड्नु गलत भयो ।’

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भदौका लागि पनि बैंकको ब्याजदरमा कुनै हस्तक्षप नगर्ने बताए । केसीले भने, ‘एकै महिनामा नीति परिवर्तन गर्ने भन्ने हुँदैन, भदौका लागि पनि हामी बैंक ब्याजदरको खुला नीतिमा जान्छौं ।’ उनले केही बैंकहरूले सामान्य रुपमा ब्याजदर बढाए पनि त्यसले समग्र बैंकिङ प्रणालीमा धेरै असर नगर्ने बताए । ‘बैंकहरूले अहिले ब्याजदर धेरै बढाउने ठाउँ छैन,’ उनले कारोबारसँग भने, ‘जति बढ्छ १० प्रतिशतभित्रै रहन्छ । त्यो पनि केही बैंकको मात्रै हो ।’

अहिले समय र परिस्थितिले ब्याजदर बढाउनु अनुकूल नहुने समेत उनको भनाइ छ । पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताको मुख्य कारणका रूपमा निजी क्षेत्रले चर्को ब्याजदरलाई देखाउँदै आइरहेको छ । व्यवसायीहरूले ब्याजदर घटाउन दबाब दिँदै आइरहेका छन् भने सरकारले पनि ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउनेतर्फ जोड दिँदै आएको छ । तर, बैंकहरुले बजारको माग र आवश्यकतालाई नहेरी ब्याज बढाउने तरखर गरेको अर्को एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले गुनासो गरे ।

गत असार २८ मा वाणिज्य बैंकहरूको छाता संगठन बैंकर्स संघले साउन १ देखि लागु हुने गरी ब्याजदर खुला छाड्ने निर्णय गरेको थियो । जसअनुसार साउनमै ४ वाणिज्य बैंकले ब्याजदर बढाएका थिए । अहिले निक्षेपको सबैभन्दा बढी ब्याजदर एनएमबि बैंकको छ । यो बैंकको मुद्दती निक्षेपको ब्याजदर १०।९८ प्रतिशत छ । साउनमा ब्याजदर बढाएकामध्ये प्राइम कमर्सियल बैंकको १०।९३ प्रतिशत, नबिलको १०।४९ प्रतिशत र कुमारी बैंकको १०।१ प्रतिशत छ । एभरेष्ट बैंकले पनि मुद्दतीमा १० प्रतिशत ब्याजदर दिइरहेको छ ।

यी मुद्दति निक्षेपमा ब्याजदर बढेसँगै बैंकको आधार दरसमेत बढ्ने हुँदा कर्जाको ब्याजदर पनि भदौमा बढ्न सक्छ । हिमालयन, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेण्ट मेगा, सिटिजन्स र लक्ष्मी सनराइज बैंकको ब्याजदर ९।९९ प्रतिशत छ । यसैगरी माछापुच्छ्रे, नेपाल एसबिआई, सानिमा, प्रभु र कृषि विकास बैंकको मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत हाराहारीमा छ । सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्डको ८।९५ प्रतिशत छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले अहिले बैंकहरूले ब्याजदर बढाउने समय अनुकूल नरहेको बताए ।

उनले भने, ‘अहिलेको सन्दर्भमा ब्याजदर बढाउने समय अनुकूल हो जस्तो लाग्दैन ।’ उनले ब्याजदर नबढाउनका लागि बैंकर्स संघले पहल गर्नुपर्नेमा जोड दिए । ‘देशकाल, परिस्थिति, मुलुकको आर्थिक स्थिति र व्यवसायको अवस्थालाई हेरेर अगाडि बढ्नुपर्नेमा त्यस्तो देखिएन । ब्याजदर घटाउनमा बैंकर्स संघले सहजीकरण गर्नुपर्छ ।’ असार मसान्तसम्म वाणिज्य बैंकहरूले स्थानीय तहको करिब १ खर्ब रुपैयाँ बिनाब्याजमा निक्षेप राखेका थिए ।

बजारमा लगानीयोग्य पुँजी पर्याप्त हुँदा रिभर्स रिपो जारी गर्दै वाणिज्य बैंकहरूलाई ब्याज तिर्नुपर्ने अवस्था आएको भन्दै अर्थ मन्त्रालयले साउनदेखि स्थानीय तहको निक्षेप गणना गर्न दिएको छैन । बैंकहरूले स्थानीय तहको १०० प्रतिशत निक्षेप गणना गर्न पाउनुपर्ने माग गर्दैै अर्थ मन्त्रालयमा निवेदनसमेत दिएका थिए । तर, मन्त्रालयले यसबारे कुनै निर्णय गरिसकेको छैन ।
यो समचार आजको कारेबार दैनिकबाट लिईएको हो ।