यातायात कार्यालय भरतपुरमा अनियमिता भएको गुनासो बढ्यो

चितवन/चितवनको भरतपुरमा रहेको यातायात कार्यालयमा अव्यवस्थित र अनियमिता भएको गुनासो बढेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० को सुझाव पेटीकामा यातायात कार्यालयमा अव्यवस्थित पार्किङ, लाइसेन्स फर्म र मेडिकल जाँचमा चर्को शुल्क लिने गरेको सम्मका गुनासा आएका छन् ।

त्यसलाई सुधार गर्दै चुस्त दुरुस्त र व्यवस्थित बनाउन भरतपुर महानगरपालिका वडा नम्बर १०ले यातायात कार्यालयलाई निर्देशन समेत दिएको छ । वडाध्यक्ष परमेश्वर खनालले कार्यालयलाई पत्र नै काटेर व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । सेवाग्राहीहरुले मेडिकल जाँच गरेको शुल्क ३ सय ५० रुपैयाँ लिएको गुनासो आएकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको खनालले बताए । यातायात कार्यालय वरपर दैनिक जसो हुने सवारी साधनहरुका कारण अव्यवस्थित भएकाले उचित पार्किङ व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

कार्यालयमा आउने सेवाग्राहीहरुको लागि साहयता कक्ष स्थापना गरी सेवालाई छिटो छरितो बनाउन अध्यक्ष खनालले लेखेको पत्रमा उल्लेख छ । विल बुक, लाइसेन्स नविकरण तथा लाइसेन्सका अनर्ला फर्ममा चर्को शुल्क लिएको गुनासो भएकोले राज्यले तोकेको शुल्कभन्दा बढी शुल्क नलिन अनुरोध गरिएको छ । कार्यालयमा आउने सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यवस्थित शौचालयको व्यवस्था गर्न यातायात कार्यालयलाई भनिएको छ ।