Breaking News

नेपाल भूराजनीतिको भूमरीमा: विश्वशक्तिको छायाँमा परिसक्यो नेपाल

काठमाडौं/अमेरिका र चीन बीचको द्वन्द्व तथा भारत र चीनबीचको तनावपूर्ण सम्बन्ध युद्ध उन्मुख हुने खतरा बढिरहेको समयमा भारत र अमेरिकाबीच भूराजनीतिक सामरिक गठबन्धनले रणनीतिक मैदान बनिसकेको नेपालका लागि सवल कूटनीति र स्थिर राजनीतिक अवस्थाको माग गरेको छ तर हाम्रा राजनीतिक पार्टीहरू एकदोस्रालाई खुइल्याउन लागि पर्नुले राष्ट्रका सामु संकट थप्दै गएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको अमेरिका भ्रमण भारतका लागि ऐतिहासिक हो । २०१६ पछि २०२३ मा दोस्रोपल्ट नरेन्द्र मोदीले अमेरिकी कांग्रेसमा संबोधन गरेका छन् । यो संबोधनले अमेरिकालाई मन्त्रमुग्ध पारिदिएको देखियो ।

अर्थात स्वतन्त्र भारतको ७६ वर्षको इतिहासमा ७० को दशकमा रूससँग भन्दा कसिलो दोस्ती अमेरिकासँग भएको अनुभूति गरियो ।

भारतको इतिहासमा १६ वर्ष शासन गर्ने नेहरू र १५ वर्ष ३५० दिन शासन गर्ने इन्दिरा गान्धीलाई भन्दा पनि बढी महत्व पाएको छ भारतले ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाबाट पाएको यो आश्चर्यपूर्ण सम्मान भारत र अमेरिका दुवै रणनीतिक रूपमा महत्वको रहेको छ । यो सम्बन्धले ठूलो झस्का चीनलाई परेको छ भने नेपाल अछुतो छैन ।

अर्थात चीन केन्द्रित अमेरिकी नीतिमा आउँदा दिनमा भारतको भूमिका अहम देखिने पक्का छ । इतिहास साक्षी छ, अमेरिकाले एसियामा दुई पल्ट राजकीय भ्रमणको सम्मान नेपालका राजा महेन्द्रले पाएका थिए, त्यसपछि मोदीले पहिलो पटक यस्तो सम्मान पाएका छन् ।

स्मरणीय छ राजा वीरेन्द्रले पनि यस्तो सम्मान पाएका थिए । भारत रूससँग गाँसिएको थियो, बिस्तारै अमेरिकासँग निकट भएको छ ।

अर्थात अन्तर्राष्ट्रिय कूटनीति स्वार्थका कारण दूरीलाई निकटतामा रूपान्तरण गर्र्नेगर्छ । मोदीलाई अमेरिकाले जुन प्रकारले महत्व दिएको छ, यसबाट आउने दिन कठोर सामरिक कूटनीतिमा प्रवेश गर्ने संकेत पनि हो ।

यो आहटलाई नेपालले बुझ्नु पर्छ । गलवानमा चीनद्वारा पिटिएको भारतले अमेरिकाबाट उच्च स्तरको प्रविधि प्राप्त गर्दै जाने हुँदा भारत शक्तिशाली बन्नेछ भने चीन भारत द्वन्द्व बढ्दा नेपालले बचेर अघि बढ्न कम्तिमा वर्तमान कूटनीतिक असक्षमताबाट सम्भव हुने देखिदैन ।

पाँच महिना देखिको परिपक्व कूटनीतिक पूर्व तयारीका कारण मोदीको अमेरिकी भ्रमणमा मोदी जो वाइडेनबीच तीन पटक लामो भटेवार्ता भएको थियो । जसले ठोस परिणाम निकाल्न सफल भयो ।

हाम्रा प्रधानमन्त्रीले मागी मागी जेठ १७–२० मा गरेको भ्रमणमा पूर्व तयारी नै थिएन, त्यसैले नेपालले पाउने केही पनि देखिएन । अमेरिका चीन द्वन्द्वमा भारत छाती थापेर उभिन तैयार भएको छ ।

यसका लागि अमेरिकाले भारतलाई चाहिने धेरै सामरिक सर्जाम, प्रविधि हस्तान्तरण गरेको छ । अमेरिकाबाट अत्याधुनिक प्रविधि भारत आउन थालेका छन् ।

भारतको चीन केन्द्रित रक्षा योजनाअन्तर्गतको ‘सुरक्षा औद्योगिक सहयोग तथा साझा निर्माण योजना’ ले प्राथमिकता पाउन थालेको छ ।

यो मित्रताले भारतलाई चीनको हाराहारीको सुरक्षाशक्ति बन्ने सपना साकार हुने बताइन्छ । मोदीको भ्रमणपछि ‘अमेरिका–भारत २१औं शताब्दीका लागि अत्यन्त महत्वपूर्ण’ मानिएको छ ।

यसका परिणामले भारत र चीनबीच रहेको नेपालको भूराजनीतिक जोखिम बढ्नेछ । किनकि भारतको नेपालप्रतिको व्यवहार दुष्टपूर्ण छ । चीनले भनिसक्यो– ‘चीन विरूद्धको घेरावन्दीले अमेरिका र चीन द्वन्द्व र भिडन्ततिर उन्मखु रहेको देखिन्छ ।’

अर्थात चीनमाथि भारत र अमेरिकाको सामरिक र कूटनीतिक चुनौती पत्रकारलाई भिसा समस्याबाट बढ्न थालिसकेको देखिन्छ । चुनौती अनेक छन् नेपालका लागि, भारत– अमेरिका र चीनवीचको भिडन्तको चुनौती नेपाली हितमा उपयोग गर्ने ल्याकत देखिदैन । गोरखा एक्सप्रेसबाट ।