स्वामी गुणचन्द्रको ठगीधन्धा !

काठमाडौँ /२०७८ साल साउन १४ गते बिहीबार नेपाली पोल्ट्री उद्योगका पिता भनेर चिनिने गुणचन्द्र विष्ट (स्वामि जी) र विकासचन्द्र भट्टराईबीच अभिनास फार्मस् प्रा.लि. खरिद÷विक्रि गर्ने बारेमा सम्झौता भयो । सम्झौताका साक्षी थिए गोकुल भण्डारी, उदय कुमार ढुंगेल र बलराम शर्मा । स्वामि जीले भदौ मसान्तभित्र कम्पनीको सम्पूर्ण शेयर स्वामित्व विकासचन्द्र भट्टराईको नाममा नामसारी गर्न पर्ने र भट्टराईले ६२ करोड २५ लाख रुपैयाँ स्वामिलाई बुझाउने सहमति भयो । सम्झौता अनुसार भट्टराईले ७ करोड रुपैयाँ नगद र विभिन्न बैंकका ३ करोडका चेक स्वामिलाई सुम्पिए । बाँकी पैसा बैंकबाट ऋण लिएर चुक्ता गर्ने आपसी समझदारी बन्यो ।
भट्टराई त्यही सम्झौता बोकेर साविकको मेगा बैंक नेपाल लिमिटेड (नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड) को कार्यालयमा ऋण लिन पुगे । कर्जा शाखाका कर्मचारीले यति ठूलो कम्पनी र कम्पनीले तयार पारेको परियोजना देखेपछि फुरुङ्ग भए । खुशी हुँदै कर्जा माग गरिएको पायल आफ्नो हाकिमलाई पास गरे । हाकिमले फायल हेरिसकेपछि धरौटी नपुग्ने भन्दै व्यवसायी भट्टराईलाई बोलाएर छलफल गरे । उनको साथमा थिए अर्का व्यवसायी अरुण कुमार ढुंगेल । बैंकले क्यानडीयन नागरिक (एनआरुएन) ढुंगेल र भट्टराईको संयुक्त कम्पनी भए ऋण दिन सकिने वचन दियो । बैंकले सगोलमा कम्पनी चलाउन दिएको सल्लाह पछि उनीहरुले अर्को एउटा फर्जी सम्झौता पत्र बनाए । जसमा ९२ करोडमा कम्पनी खरिद÷विक्रि गर्न लागेको उल्लेख थियो ।
फर्जी सम्झौता बनेपछि स्वामिले मुख खोले, ‘कम्पनीको नाममा ६२ करोड रुपैयाँ पुरानो ऋण छ ।’ उक्त कम्पनीको नाममा प्रभु बैंकबाट ५२ करोड र कुमारी बैंकबाट १० करोड रुपैयाँ ऋण लिएको भेटियो । उनीहरुबीच दुबै बैंकमा रहेको कर्जा एउटै बैंकमा सार्ने त्रिपक्षिय सम्झौता भयो । बैंकले पनि आधा भौतिक सम्पत्ती र आधा परियोजना धितो राखेर ७५ करोडको कर्जा स्वीकृत गर्यो । दुबै बैंकमा रहेको ६२ करोड भुत्तानी गरेर मेगा बैंकले पुरानो कर्जा सारेर आफ्नोमा ल्यायो ।
बैंकले कम्पनी किन्न लागेको सम्झौता हेरेर अभिनास फार्मस् प्रा.लि.को नाममा कर्जा दियो तर कर्जा सम्झौतामा कम्पनीका नयाँ मालिकलाई हस्ताक्षर गर्न लगायो । कम्पनी भने गुणचन्द्र विष्टको नाममै थियो । आफू माथि परिसकेपछि स्वामिले आफ्नो नामको कम्पनी भट्टराई र ढुंगेलको नाममा नामसारी गर्न आनाकानी गरे । त्यहीबाट उनीहरु बिच विवाद सुरु भयो । स्वामिले पछिल्लो सम्झौता (नक्कली सम्झौता–जो बैंकमा पेश गरिएको थियो) अनुसारको रकम मागेकाले विवाद उत्पन्न भएको स्रोतको दावि छ । कम्पनी ऋणीको नाममा नामसारी नहुँदा बैंकले स्वीकृत भएर भुत्तानी गर्न बाँकी कर्जा भुत्तानी गरेको छैन भने ऋणीले पनि कर्जाको किस्ता र व्याज तिरेका छैनन् । स्वामिलाई आजसम्म ऋण र नगद गरी ढुंगेल र भट्टराईले ७२ करोड रुपैयाँ चुक्ता गरिसकेका छन् ।
अहिले उक्त कम्पनीको नाम पनि परिवर्तन भइसकेको छ । बैंकले कर्जा प्रवाह गरेको अभिनास फार्मस् प्रा.लि. को नाम परिवर्तन भएर प्रसिद्ध फार्मस् बनेको छ । कम्पनीका संचालक गुणचन्द्र विष्टले कहिँ कतै पनि कर्जाको सम्झौतामा हस्ताक्षर नगर्दाको परिणाम कम्पनीको नाम परिवर्तन भएको हुनसक्ने बताइएको छ । बैंकको संचालक समितिले अनाबश्यक दवाव दिदा कम्पनीमा शेयर नै नभएका भट्टराई र ढुंगेलको नाममा कर्जा प्रवाह भएको जनाइएको छ । अहिले उक्त कर्जा खराव कर्जामा परिणत पनि भएको छैन र ऋणीले महिनौंदेखि किस्ता र व्याज पनि तिरेका छैनन् । कर्जा डुब्न लाग्दा पनि बैंकले कुनै पनि कानुनी प्रक्रिया अपनाएको छैन । कानुनी प्रक्रिया चलाउनको सट्टामा बैंकले कर्जा शाखामा बसेर कर्जा प्रवाह गरेका कर्मचारीलाई सरुवा गरेर कर्जा रिकभरी शाखामा पठाएको छ । उनले आफूले दिएको ऋण उठाउन दर्जनौं पटक ऋणहरुसँग छलफल गरिसकेका छन् । कुनै पनि परिणाम निस्किएको छैन । ऋणीहरु पनि कर्जा तिर्ने अवस्थामा छैनन् । कर्जा प्रवाह गर्न अघि बैंकका संचालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, कर्जा शाखाका कर्मचारी फिल्ड भिजिटमा गएका थिए । फिल्ड भिजिट गरेर कर्जा प्रवाह गर्न दवाव दिने उनीहरु अहिले कर्जा शाखाका कर्मचारीलाई कर्जा उठाउन पेलिरहेका छन् । अहिले आफू फसेको भनेर उजुर बाजुर गर्न सक्ने उनीहरुसँग तागत छैन । ऋणीहरुले नक्कली सम्झौता गरेर कर्जा लिएका छन् भने बैंकले गैरकानुनी रुपमा कर्जा दिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा राष्ट्र बैंकले विभिन्न समयमा जारी गरेका निर्देशन विपरित कर्जा प्रवाह भएकाले बैंकले कानुनी बाटो अपनाउन नसकेको हो । रोक्का राखिएको धितो लिलाम गर्दा पनि २० करोडभन्दा धेरै रकम असुल नहुने भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतसहित संचालक समितिका सदस्यहरु पनि तनावमा छन् ।
गैरकानुनी रुपमा कर्जा स्वीकृत गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस विषयमा केही बोल्न नमिल्ने जनाएको छ । व्यक्तिगत गोपनीयतालाई ख्याल गर्दै यो विषयमा केही बोल्न नमिल्ने बैंकका सूचना अधिकारी विजेन्द्र सुवालले बताए । ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०९ मा बैंकिङ्ग गोपनियता कायम राख्नु पर्ने शिर्षक अन्तर्गत बैंक वा वित्तीय संस्था र ग्राहकबीचको सम्बन्ध तथा बैंङ्क वा वित्तीय संस्थाको हिसाब, किताब, लेखा, खाता, बही, लेजर, श्रेस्ता र लेखाको विवरण सम्बन्धित व्यक्ति बाहेक अन्य कसैलाई जानकारी दिइने छैन भन्ने बाध्यात्मक व्यवस्था रहेकोले यसबारेमा तपाईँलाई केही पनि दिन मिल्दैन ।’, सुवालले भने ।

यता, नेपाल राष्ट्र बैंकले घटनाको बारेमा लिखित रुपमा जानकारी दिन भनेको छ । टेलिफोन मार्फत सम्पर्कमा आएका नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले घटनाको बारेमा लिखित रुपमा इमेलमार्फत जानकारी दिन सुझाव दिए ।

को हुन सम्झौता नमान्ने स्वामि ?

अभिनास ग्रुपका अध्यक्ष हुन् गुणचन्द्र विष्ट । उनलाई चितवनतीर नेपाली पोल्ट्री उद्योगका पिता भनेर चिनिन्छ । नेपालको ८० प्रतिशत पोल्ट्री व्यवसाय उनको कब्जामा छ । कुखुराको अण्डा, चल्ला र मासु देशभर उनले नै पुर्याउने गरेका छन् । उनले अभिनास ह्याचरी, अभिनास फार्मस्, अभिनास भेट फर्मा, चितवन गुँराश इन्भेष्टमेन्ट, स्काईलार्क एग्रो, नेपाल ग्यास उद्योग, नारायणी ग्यास उद्योग, समृद्धि ग्यास उद्योग, सत्यनारायण ग्यास उद्योग र गृहलक्ष्मी मेटल उद्योग संचालन गर्दै आएका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का विश्वास पात्र स्वामि एकलकाँटे स्वभावका व्यक्ति हुन् । अप्रत्यक्ष रुपमा उनको उद्योगमा प्रधानमन्त्री प्रचण्डको लगानी रहेको चितवनका व्यापारीहरुले बताउने गरेका छन् । धार्मिक रुपमा निकै कठ्टर स्वामिले केही करोडको लोभ गर्दा बैंकका दर्जनौं कर्मचारीको करिअर धरापमा परेको छ । भट्टराई र ढुंगेललाई खाँदै नखाएको बिस लागेको छ । उनको दैनिकी सामान्य नागरिक भन्दा धेरै फरक छ । उनलाई केही कुरा भन्नपरे सिधै चितवनस्थित उनको घरमा जानपर्छ । मोवाइल कहिल्यै नबोक्ने उनी आवश्यक परे टेलिफोनमार्फत कुरा गर्ने गरेका छन् । समाचारको विषयमा बुझ्न खोज्दा उनी हाम्रो सम्पर्क समेत आउन चाहेनन् ।

को हुन् भट्टराई र ढुंगेल ?
भट्टराई सामान्य नागरिक हुन् । नेपाली पोल्ट्री व्यवसायमा हात हाल्न लागेका उनी बैंकले पत्याउन लायकका पात्र होइनन् । तर उनीसँग जोडिन आईपुगे क्यानडीयन नागरिक (एनआएएनए) अरुण कुमार ढुंगेल । उनले क्यानडाबाट फर्केर व्यवसाय गर्नका लागि करोडौं लगानी गर्न लागेको विभिन्न मिडियामा समाचार पनि लेखाए । केही मिडियाले अभिनास फार्मस् किन्न लागेको भन्दै समाचार लेखे । त्यही समाचारलाई आधार बनाएर सयौँ सँग रकम उठाए । उनीसँग पैसा भएको तामझाम देखेपछि बैंकले भट्टराईको सट्टा ढुंगेललाई विश्वास गर्यो । ढुंगेलले अर्को तिरबाट कम्पनी किन्न लागेको समाचार देखाएर सयौं व्यवसायीहरुबाट २५ करोडसम्म जम्मा पारिसकेका थिए ।
राम्रो आम्दानी हुने लोभले थोरै–थोरै लगानी गरेका साना व्यवसायीहरु ठगिएका छन् । ढुंगेल विभिन्न बहाना बनाएर उठाएको पैसा फिर्ता गर्न आनाकानी गरिरहेका छन् । धेरैले आफूलाई ढुंगेलले ठगेको भन्दै विभिन्न निकाय धाइरहेका छन् । उनलाई ठगको संज्ञा दिदै भेट्ने वित्तिकै मुक्का प्रहार गर्ने बताउने गरेका छन् ।