भरतपुरका सबै विद्यालयलाई नारायणी माविको जस्तै आर्कषण बनाइन्छ : प्रमुख दाहाल

चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी माविको जस्तै आर्कषण बनाउनेतर्फ महानगरपालिकाको ध्यान रहेको बताउनुभएको छ । भरतपुर २५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय शोसीमा आयोजित विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै देशमै पहिलो र दोस्रो स्थानमा नारायणी मावि हुनु भरतपुरको लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो ।

भरतपुर महानगरपालिकाको एक वडा विद्यालय एक नमुना विद्यालय, एक कक्षा कोठा एक शिक्षक ,स्वेमसेवक शिक्षा, दरबन्दी मिलन जस्ता कार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बताउनुभयो । प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयमा भईरहेको विद्यार्थीको संख्या वृद्धि नै यसको मानक भएको उहाँको भनाई थियो ।
अहिले विद्यार्थीको संख्या वृद्धि भएकाले धेरै जसो विद्यालयमा भवनहरु थप निर्माण गर्नुपर्ने अवस्था रहेको पनि जानकारी दिनुभयो ।

भरतपुरका २ हजार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । भरतपुरका ६ वटा विद्यालयमा अध्ययन गर्ने ईसिडीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख दाहालले वितरण गर्नुभयो । भरतपुर वडा नम्बर २५ मा रहेको शोसी माध्यमिक विद्यालयका विद्यार्थीलाई सो सामाग्री दिएर कार्यक्रमको शुभारम्भ गरिएको हो ।

साझापुर माविमा ३५५ जना, शोसी माविमा ४३६ जना, हिमालय दण्डपाणी माविमा २७८ जना, मोहन माविमा ४१४, सिद्धि जनकल्याण आद्यारभूत विद्यालयमा १४५ जना र ईन्द्रपुरी माविमा १०० जनाले सो सामाग्री पाएका छन् ।