भरतपुर विमानस्थल बिस्तार हुँदै, नयाँ अत्याधुनिक टर्मिनल भवन शिलान्यास

चितवन/मुलुकको केन्द्रभागमा अवस्थित चितवनको भरतपुर विमानस्थल बिस्तार हुने भएको छ।

देशकै मध्यभाग एवं तेस्रो पर्यटकीय गन्तब्य, मेडिकल सिटी र आर्थिक तथा राजनीतिको पनि केन्द्र बन्दै गएको कारण भरतपुर विमानस्थल विस्तार र नयाँ टर्मिनल भवन बन्ने भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भवन बनाउने तयारी अगाडि बढाएको छ । आज विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलको नयाँ बन्ने भवनको शिलान्यास गरेका छन ।

अहिले भइरहेको भवन भन्दा २ सय मिटर पश्चिमतर्फ नयाँ टर्मिनल भवन बन्न लागेको हो। १ अर्ब ९२ करोड ७० लाख रुपैयाँ लागतमा बन्ने भवनको आज प्रधानमन्त्री पुस्प्कमल दाहाल प्रचण्डले सिल्यान्यास गरेका हुन्। उक्त भवन निर्माणको ठेक्का कोशी–क्षमादेवी–प्रतिष्ठा जेभीले पाएको छ । तीन बर्षभित्र बनिसक्ने भवनमा पिक आवरमा एक हजार यात्रुले सेवा लिन सक्छन् । १४ कठ्ठा क्षेत्रफल ओगट्ने भवन ८ हजार बर्गमिटर क्षेत्रमा २ तलाको हुनेछ । त्यसमा ८ तले कन्ट्रोल टावर, ३ वटा लिफ्ट, ३ स्केलेटन, एसी, आगलागीबारे पूर्व सूचना दिने संयन्त्र जडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनका साथै विमानस्थल विस्तारको काम पनि अगाडि बढ्ने सरकार र सम्वद्ध निकायले बताएका छन् ।

टर्मिलन भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्ड, पर्यटनमन्त्री सुदन किराती र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल विस्तारका लागि नेपाली सेनासँग जग्गा लिने सहमति र निर्णय भइसकेको दाबी गरे ।

भवन शिलान्यास गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासमा विमानस्थलको नयाँ भवनले ठूलो अर्थ राख्ने बताए । उनले विमानस्थलको विस्तार र टर्मिनल भवनका लागि आफूले निकै मेहनत गरेर सफलता हात पारेको बताए ।

प्रधानमन्त्री प्रचण्डले अहिले रहेको १२ सय मिटर लामो धावनमार्गलाई कम्तीमा १५ सय मिटरको बनाएर चौबिसै घण्टा विमान चल्न सक्ने बनाउने बताए । विमानस्थलको पश्चिमतर्फ रहेको नेपाली सेनाको कालीबहादुर गण र सेनाकै घोडा प्रजनन केन्द्रलाई अन्यत्रै स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्न दिन सेना तयार भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

‘भरतपुर विमानस्थलको विस्तारका लागि वर्षौंदेखि गरेको प्रयास अब निष्कर्षमा पुग्न लागेको छ, भरतपुरको भौगोलिक अवस्था र समग्र विकासलाई हेर्दा विमानस्थल धेरै पहिले विस्तार भइसक्नुपर्ने हो, सबै क्षेत्र विकास भइरहँदा विमानस्थल पछि पर्‍यो, अब यो काम अघि बढ्छ’ उनले भने ।

चितवनबासीको सपना पूरा गर्न सहजीकरण गरिदिएकामा प्रधानमन्त्रीले नेपाली सेनालाई धन्यवाद समेत दिए ।
नेपाली सेनाको कालीबहादुर गणलाई नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगलामा र घोडा प्रजनन केन्द्रलाई आँपटारीमा रहेको गणेशधाम नजिकै सार्ने सहमति भएको बिहीबार आयोजित कार्यक्रममा जानकारी गराइएको थियो ।

विमानस्थल विस्तार गर्दा चौबीस कोठीबाट पश्चिम चितवन जाने सडकलाई डाइभर्ट गर्नुपर्ने हुन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भवनको काम समयमा नै सक्न र गुणस्तरमा कुनै सम्झौता नगर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनले चितवनको गौरव र गरिमालाई अझै माथि पुर्‍याउने विश्वास ब्यक्त गरिन् । उनले नयाँ टर्मिनल भवनले चितवनको समग्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरिन् ।

पर्यटनमन्त्री सुदन किरातीले सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गर्ने नीतिगत निर्णय भइसकेको बताए ।

उनले भरतपुरमा ७२ सिटे जहाज एटीआर सञ्चालन गर्ने र रात्रीकालिन उडान पनि सुरु गर्ने बताए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल विस्तारका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्रको १९ विघा जमिन आवश्यक पर्ने बताए । उनले सेनाले जग्गा छाड्नेबित्तिकै प्राधिकरणकै खर्चमा विमानस्थल विस्तारको काम थालिने बताए ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले सेनाको कालीबहादुर गण र घोडा प्रजनन् केन्द्र रहेको ७६ विघा जमिनमध्ये आवश्यक जग्गा विमानस्थलले प्रयोग गर्ने र बाँकी भागमा खुला पार्क बनाउने लक्ष्य रहेको बताइन् ।